दमौली, २ जेठ । नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमण वृद्धिभएपछि जिल्लामा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी छ । पहिलो चरणको निषेधाज्ञा वैशाख ३१ गतेसम्म गरिएको थियो । थप १५ दिन अर्थात् यह िजेठ १५ गतेसम्म निषेधाज्ञा लम्बिसकेको छ ।
निषेधाज्ञाका कारण सार्वजनिक यातायात सञ्चालन नहुँदा मिर्गाैला पीडित भने समस्यामा परेका छन् । यातायात नचल्दा मिर्गौला पीडितले सवारीसाधन रिजर्भ गरेर डायलसिस गराउनुपर्ने बाध्यता छ । दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा दैनिक ६३ जनाले डायलायसिस गराइरहेका छन् । निषेधाज्ञाका कारण टाढाका मिर्गौला पीडितलाई आउन समस्या भएको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिनुभयो । “आफ्नै सवारीसाधन हुने त सहजै आइरहनुभएको छ, साधन नहुनेहरू गाडी खोजेरै भएपनि आउनुभएको छ,” उहाँले भन्नुभयो, “गाडी रिजर्भ गरेर आउनुपर्दा उहाँहरूलाई समस्या भएको छ ।”
केन्द्रमा जिल्लाका अतिरिक्त लमजुङका मिर्गौला पीडितले भने डायलासिस गराइरहेका छन् । लमजुङका १०÷१२ जनाले यहाँ डायलासिस गराउँछन् । त्यसमध्ये केही मिर्गौला पीडितले भने दमौलीमै डेरा गरेर डायलासिस गराएका छन् । विसं २०७२ साल मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म करीब २५ हजार भन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा ९ वटा डायलासिस गराउने उपकरण रहेको छ ।
म्याग्दे गाउँपालिकाका एक मिर्गौला पीडितले सार्वजनिक सवारी नचल्दा गाडी खोजेर आउनुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । तनहुँको शुक्लागण्डकी नगरपालिकाले भने नगरवासीलाई मिर्गाैला डायलासिस गराउन लैजाने व्यवस्था मिलाएको छ । मिर्गौला रोगीका समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले आफ्ना दुई वटा गाडी निशुल्क उपलब्ध गराएको छ । उपप्रमुख सविता रसाईलीले चढ्दै आएको ग १ झ ८४९७ नम्बरको गाडी र नगरपालिकाको पुरानो हाल योजना अनुगमनका लागि प्रयोग गरिने ग १ झ २६७ नम्बरको सरकारी गाडीले डायलासिस गराउनलाई अस्पताल लैजान र ल्याउन मिर्गौलाका बिरामीलाई बोकेको छ ।
यी दुई सवारीले महामारीको अवधिभर दमौली र पोखरामा डायलासिस गराउन जाने बिरामीलाई बोक्ने उपप्रमुख रसाइलीले जानकारी दिनुभयो । सहज स्थिति नभईन्जेल मिर्गाैलाका बिरामीको डायलासिस गराउन अस्पताल पु¥याउने काममा नगरपालिकाकै गाडी प्रयोग हुने उहाँको भनाई छ । “यो महामारीको बेला मिर्गौलाका बिरामी डायलासिस गराउनबाट बञ्चित हुनुपर्दैन,” उहाँले भन्नुभयो, “बरु हामी हिँडेरै भएपनि जनताको सेवा गर्छौँ ।”
गत वर्ष पहिलो चरणको कोरोना फैलिएको बेला पनि शुक्लागण्डकी नगरपालिकाले मिर्गौलाका डायलासिस गराउने बिरामीलाई एक पटकको एक हजारका दरले दरले यातायात खर्च उपलब्ध गराएको थियो । गत वर्ष मिर्गौलाका बिरामीलाई डायलासिस गराउनलाई रु दुई लाख १८ हजार यातायात खर्च वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले बताउनुभयो । यस वर्ष कोरोनाकै कारण आर्थिक स्रोतको अभाव भएपछि नगरपालिकाका दुई वटा सरकारी गाडी मिर्गौला पीडितको डायलासिस गराउन लैजाने र ल्याउने प्रायोजनमा प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले यहाँका १२ वटै वडामा मिर्गौलाका बिरामीको तथ्याङ्क सङ्कलन गरेको छ । वडा कार्यालयमार्फत सङ्कलित तथ्याङ्क अनुसार बुधबारसम्म २१ मिर्गौलाका बिरामी सम्पर्कमा आएका छन् ।
गोरखा वेलफेयरद्वारा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
गोरखा वेलफेयर ट्रष्ट नेपाल÷ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमको तर्फबाट व्यास नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नगरपालिकाले कृषि विकास बैङ्कको भवनमा सञ्चालन गरेको आइसोलेशनका लागि उक्त संस्थाले विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो । उक्त सामग्री वेलफेयर ट्रष्ट नेपाल पोखराका निर्देशक दिपक श्रेष्ठले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गर्नुभएको छ ।
उक्त सामग्री रु एक लाख ३८ हजार मूल्य बराबरको रहेको नगरपालिकाले जनाएको छ । उक्त संस्थाले ३० थान पिपिई, एक सय ५० थान एन९५ मास्क, दुई हजार थान सर्जिकल मास्क, एक हजार थान पञ्जा, ६० थान फेसशिल्ड, पाँच सय मिलिलिटर क्षमताको २० वटा स्यानीटाइजर, पाँच लिटरको चार वटा स्यानीटाइजर, मेडिकल गाउन ५० थान, थर्मल गन दुई थान, गमबुट आठ थान, हाइजिन किट ६० थान, सेफ्टी ज्याकेट ८ थान लगायतका सामग्री सहयोग गरेको नगरपालिकाले जनाएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संस्थाले गरेको सहयोग अतुलनीय रहेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । कृषि विकास बैङ्कको भवनमा नगरपालिकाले ५० शय्याको आइसोलेशन तयारी गरेको छ । आइसोलेशनमा अक्सिजनको व्यवस्थापन भइसकेको छ ।
आइसोलेशन व्यवस्थापनका लागि नगरपालिकाको स्वास्थ्य शाखाको टिम दिनरात नभनी लागिरहेको छ । आइसोलेशनमा स्वास्थ्य सामग्रीदेखि अक्सिजन सिलिन्डरसम्मको व्यवस्थापनका लागि स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती आफै खटिनुभएको छ । नगरवासीको जीवन रक्षा गर्नु दायित्व भएकाले जोखिमको समयमा दिनरात नभनी काम गरिरहेको सोतीले बताउनुभयो । “जोखिम न्यूनीकरणका लागि नगरपालिकाको सिङ्गो टिम एकढिक्का भएर लागिपरेको छ,” उहाँले भन्नुभयो ।
आइसोलेशनमा २५ थान अक्सिजन सिलिन्डर पनि ल्याइसकिएको छ । “अक्सिजन सिलिन्डरमा रेगुलेटर फिट गर्ने र स्वास्थ्यका सामग्री आइसोलेशन कक्ष ल्याउन बाँकी छ,” उहाँले भन्नुभयो । नगरपालिकाले आइसोलेशनका लागि एक जना डाक्टर र दुई जना स्वास्थ्यकर्मी नियुक्त गरिसकेको छ । आइसोलेशन कक्षमा डाक्टर र स्वास्थ्यकर्मीका लागि छुट्टै भवनको व्यवस्था गरिएको छ ।
पत्रकार महासङ्घले कल्याणकारी कोष बनाउने
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले कल्याणकारी कोष स्थापना गर्ने भएको छ । शाखाको शनिबार भर्चुअच माध्यमबाट सम्पन्न बैठकले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो । कल्याणकारी कोष स्थापनाका लागि पत्रकार, शुभेच्छुक र सहयोगी संस्थालाई सहयोग गर्न आग्रह गरिएको सङ्घका अध्यक्ष उज्वल पौडेलले बताउनुभयो ।
बैठकले क्रियाशील पत्रकारहरूको दुर्घटना बीमाका लागि आर्थिक सहयोग गर्ने व्यास नगरपालिकालाई धन्यवाद ज्ञापन गरेको छ । कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण दिनप्रतिदिन बढिरहेकाले स्वास्थ्य सावधानी अपनाई पेशागत कर्तव्य निर्वाह गर्न महासङ्घले सञ्चारकर्मीलाई आग्रह गरेको छ ।
उद्योग वाणिज्य सङ्घद्वारा सहयोग
तनहुँ उद्योग वाणिज्य सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान कोषमा रु पाँच लाख भन्दा बढी सङ्कलन भएको छ । महामारीम खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, निजामति कर्मचारी, स्वयंसेवी लगायत सबैको उत्साह, आत्मबल र सेवाको भावना अभिवृद्धि गर्न, सामूहिक आइसोलेशन कक्ष निर्माणमा सङ्घ जुटेको छ । यसैगरी स्वास्थ्य सामग्री व्यवस्थापनका लागि खडा गरिएको कोषमा छोटो समयमै रु पाँच लाख १२ हजार ४१६ सहयोग जुटेको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया