पत्रकार कार्कीको निधनमा चौतारी स्तब्ध

पत्रकार कार्कीको निधनमा चौतारी स्तब्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । प्रेस चौतारी नेपालले केन्द्रीय कमिटी सदस्य तथा नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण ३५ वर्षको अल्पायुमै असामयिक निधन भएकामा सङ्गठन स्तब्ध भएको जनाएको छ ।

कोरोना संक्रमणपछि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचाररत कार्कीको शनिबार साँझ ८ः०० बजे निधन भएको हो । झापाको साविक डोरामारी गाविस, हाल गौरादह नगरपालिका–४ डोरामारी निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो ।

पेशाप्रति अत्यन्तै लगनशील कार्कीले च्यानल नेपाल टेलिभिजनको समाचार प्रमुखको रुपमा समेत जिम्मेवारी सम्हालिसक्नुभएको थियो । हाल अनलाइन पत्रिका जनताटाइम्स डटकमको सम्पादक र सौर्य दैनिकका सहसम्पादक कार्कीलाई गत वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । चौतारीका अध्यक्ष गणेश बस्नेतले आज विज्ञप्ति जारी गरी अल्पायुमै भएको उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको उल्लेख गर्नुभएको छ ।

कोरोना संक्रमणको कारण अहिलेसम्म मुलुकभर गरी १४ जना पत्रकारले जीवन गुमाउनु परेको छ । अध्यक्ष बस्नेतले जीवन गुमाउने सबै पत्रकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित सवै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै उहाँले महामारीको चपेटमा परेको यस अवस्थामा नागरिकलाई सूसुचित गराउने दायित्व निर्वाहमा लागिरहँदा स्वास्थ्य मापदण्डको पूर्णपालना गरी संक्रमणबाट बच्न पनि आग्रह गर्नुभएको छ । रासस