मकवानपुरगढीका महिला सामूहिक खेतीमा

मकवानपुरगढीका महिला सामूहिक खेतीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुरको मकवानपुरगढी गाउँपालिका­४ की सरिता नेगी गत वर्ष कृषिमा स्थानीय सरकारले दिने अनुदानबारे बुझ्न गाउँपालिकाको कृषि शाखामा पुग्नुभयो । सामूहिक खेती गर्नेलाई प्रोत्साहन गर्ने गाउँपालिकाको नीति रहेको र सामूहिक खेती गरे गाउँपालिकाले बीउ अनुदान दिने कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताएपछि सरिताको मन पनि सामूहिक खेतीतर्फ तानियो । त्यसअघि सरितासहित गाउँका २६ जना महिलाले बन्दडाँडा कृषक समूह गठन गरिसकेका थिए ।

कृषक समूहअन्तर्गत १० महिला मिलेर सामूहिक रुपमा बेसार खेती गर्ने तयारी गरे । गाउँपालिकाको कृषि शाखाले महिला कृषक समूहलाई दाङ जिल्लाबाट झिकाइएको छ क्वीन्टल ‘हाइब्रिड’ बेसारको बीउ उपलब्ध गरायो ।

गाउँपालिकाले बीउ उपलब्ध गराएपछि महिलाहरुले समूहकी सदस्य मिना ठकुरीको करीब १० कट्ठा जग्गामा सामूहिक खेती शुरु गरे । जमीनमुनि बेसार हुर्कँदै गर्दा मकै बाली लिन सकिने भएकाले बेसार खेतीका लागि मिनाले समूहलाई निःशुल्क रुपमा जग्गा उपलब्ध गराउनुभएको थियो । हावापानीका दृष्टिले मकवानपुरगढी बेसार खेतीका लागि निकै उपयुक्त मानिन्छ ।

बीउ पनि निःशुल्क र जग्गा पनि निःशुल्क भएपछि झनै उत्साहित भएका महिलाले बेसार खेतीका लागि जम्माजम्मी नगद रु. २०० का दरले लगानी गरे । समूहको सचिवसमेत रहनुभएकी सरिता भन्नुहुन्छ, ‘‘ट्याक्टर जोतेको ज्याला दिन सबैले रु दुई सयको दरले उठायौँ, प्रत्येक सदस्यले दुई बोराको दरले गोठे मल जम्मा ग¥यौँ र अरु काम सबैले मिलेर ग¥यौँ ।’’

रोपेको एक वर्षपछि बेसारबाट नगद आम्दानी लिन पाउँदा अहिले समूहका महिला निकै दङ्ग छन् । समूहकी अध्यक्ष जानुकीमाया हमाल सामूहिकरुपमा यस वर्ष रु. ३३ हजारको बेसार बेचेको बताउनुहुन्छ । उनीहरुले गाउँपालिकाकै वडा नम्बर ५ सिमलटारका महिलालाई सामूहिक खेतीको लागि बीउको रुपमा बेसार बेचेका हुन् । गाउँपालिकाले तोकिदिएको प्रतिकिलो रु. ५५ का दरले बेसारको बीउ विक्री गरेको हमालले बताउनुभयो । अर्को समूहलाई विक्री गरेर बाँकी रहेको चार क्वीन्टल यस वर्ष पनि सामूहिक रुपमा खेती गर्ने उनीहरुको तयारी छ । त्यसको लागि यस वर्ष अध्यक्ष हमालले आफ्नै जग्गा निःशुल्क रुपमा उपलब्ध गराउनु भएको छ ।

समूहमा खेती गर्दा सामूहिक भावनाको विकास हुनुको साथै गाउँमा आपसी सद्भाव र सहकार्यको पनि विकास भएको महिलाहरु बताउँछन् । समूहमा काम गर्दा मिलेर काम गर्ने बानीको बिकास हुने, जाँगर बढ्ने र कम लगानीबाट धेरै लाभ लिन सकिने उनीहरुको अनुभव छ । समूहकी सचिव नेगी रु. २०० नगद लगानी गरेर रु तीन हजार ३०० को दरले आम्दानी गरेको बताउनुहुन्छ । त्यसमा उनीहरुले अर्को वर्षको लागि बीउको जोहो पनि गरेका छन् ।

त्यति मात्र होइन, महिलाहरुले अघिल्लो वर्ष रापेको बेसारको बीउ(माउ) खनेर झण्डै डेढ क्वीन्टलका दरले दामासाहीमा भाग लगाएका छन् । यसरी भागमा परेको बेसार धुलो बनाएर घरमै तरकारीमा हाल्न प्रयोग गर्ने र बढी भएको विक्री गर्ने उनीहरुको योजना छ । अहिले बजारमा बेसारको भाउ प्रतिकिलो रु. ४०० रहेको छ । बन्द डाँडा कृषक समूहमा आवद्ध महिलाले यस वर्ष सामूहिकरुमा तरकारी र फलफूलको नर्सरी पनि स्थापना गरेका छन् । रासस