हुम्लाको दक्षिण क्षेत्रमा कोरोना नियन्त्रणमा जनप्रतिनिधिको सक्रियता

हुम्लाको दक्षिण क्षेत्रमा कोरोना नियन्त्रणमा जनप्रतिनिधिको सक्रियता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट, १० जेठ । कोरोना सङ्क्रमणको बढी बिरामी रहेका हुम्लाको दक्षिण क्षेत्रमा रहेको चारवटा गाउँपालिकामा चिकित्सकको टोली खटाइएको छ । सङ्क्रमणको नियन्त्रण तथा अनुगमनका लागी जिल्ला अस्पताल हुम्लाबाट डा कैलाश लामाको नेतृत्वमा चार स्वास्थ्यकर्मीको टोली आइतबार त्यसतर्फ लागेको जिल्ला अस्पताले जनाएको छ ।

गाउँ प्रस्थान गरेको स्वास्थ्यकर्मीको टोलीले कोरोना सङ्क्रमितको उपचार, क्वोरन्टाइन र आइसोलेशनको अवस्था अनुगमन र स्वास्थ्यकर्मीलाई कोरोना उपचार तथा ल्याबका कर्मचारीलाई कोरोना परीक्षणसम्बन्धी तालीम दिने जिल्ला अस्पतालका डा टसी आन्जुक लामाले बताउनुभयो । उहाँका अनुसार दक्षिण भेगबाट कोरोना नियन्त्रणका लागि स्थानीयवासीले चिकित्सकको टोली पठाउन माग गरेका कारण पठाइएको हो ।

टोलीले दक्षिणी क्षेत्रका सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा पुगेर कोरोना सङ्क्रमितका साथै गाउँघरका अन्य बिरामीको समेत उपचार गर्ने छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएपछिको पहिलोपटक गाउँगाउँमा चिकित्सकको टोली खटाइएको हो । यसअघि गाउँपालिकाका स्वास्थ्यकर्मीबाट कोरोना जाँच र सङ्क्रमितको उपचार हुँदै आएको थियो । दक्षिण भेगमा रहेका चारवटा गाउँपलकिामा मात्रै ७८ जना कोरोना सङ्क्रमित रहेका ताँजाकोट गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले बताउनुभयो ।

६ गाउँपालिकामा सङ्क्रमण फैलियो
सातवटा गाउँपालिका रहेको हुम्लाको छ वटा पालिकामा कोरोनाको सङ्क्रमण फैलिएको छ । शुरुमा आठ जनामा कोरोनाको सङ्क्रमण देखिएको भएपनि त्यसपछिका दिनहरुमा परीक्षणको दायरालाई बढाउँदा जिल्लाका छ वटा पालिकामा सङ्क्रमण फैलिएको छ ।

पैदल मार्गबाट मानिसको आवतजावत नरोकिएका कारण पनि यी गाउँपालिकामा कोरोना फैलिएको हो । कोरोना सङ्क्रमित देखिएकामध्ये धेरै जिल्ला बाहिरबाट आएका मानिसका घरका व्यक्तिमा देखिएको छ । जिल्लामा हालसम्म १११ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

परीक्षणको दायरा बढाउँदा सङ्क्रमितको सङ्ख्यामा बृद्धि

जिल्लाका स्थानीय निकायले आफ्ना माताहतमा रहेका वडाका विभिन्न गाउँबस्तीमा परीक्षणको दायरालाई बढाएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । हालसम्म अदानचुली गाउँपालिकामा नौ जना र ताँजाकोटमा ३० जना सङ्क्रमितमध्ये ११ जना घर गएसँगै १९ जना सक्रिय सङ्क्रमित रहेका छन् । चङ्खेली गाउँपालिकामा २५, सर्केगाड गाउँपालिकामा १६ र खार्पुनाथ गाउँपालिकामा पाँच जना सक्रिय सङ्क्रमित रहेको जनाइएको छ । यस्तै जिल्ला अस्पताल हुम्लामा २३ जना र सिमकोट गाउँपालिकामा एक जना सङ्क्रमित रहेका छन् ।

२९ जनाले कोरोना जिते

सङ्क्रमणको दर तीब्र रुपमा फैलिएको हुम्लामा कोरोना जितेर घर फर्किनेको सङ्ख्या २९ पुगेको छ । विभिन्न स्थानमा भएका संस्थागत आइसोलेसन र होम आइसोलेशनमा रहको २९ जना सङ्क्रमितले कोरोना जितेर घर फर्केको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी फडेराले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना जित्नेको सङ्ख्या पनि उल्लेखनीय रहेको भने १८ जना सङ्क्रमितले सिमकोटको रानीविन आइसोलेशन सेन्टरबाट कोरोना जितेका छन् । त्यस्तै ताँजकोटका विभिन्न स्थानमा भएको आइसोलेसनबाट ११ जनाले कोरोना जितेपछि कूल कोरोना जित्नेको सङ्ख्या २९ जना पुगेका छ । सङ्क्रमितमध्ये एकजना पुरुषको अक्सिजनको मात्रा कम भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ भने जिल्लामा संक्रिय सङ्क्रमितको सङ्ख्या ८२ जना रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

नाम्खामा देखिएन सङ्क्रमण
जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा हालसम्म कोरोना सङ्क्रमित नदेखिएको बताइएको छ । गाउँपालिकाले खरिद गरेका किटबाट परीक्षण गरिएपनि आजसम्म सङ्क्रमित नभेटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानले जानकारी दिनुभयो ।

गत वर्ष जिल्लाको सबैभन्दा बढी सङ्क्रमित देखिएर अवस्था भयावह बनेको नाम्खाले यसपटक समयमै गाउँपालिका प्रवेशका सबै नाका बन्द गरिएपछि सङ्क्रमित नदेखिएको अधिकृत न्यौपानले बताउनुभयो । यस्तै गाउँपालिकाले करारमा एकजना डाक्टरसमेत नियुक्त गरेर परीक्षणका लागि गाउँगाउँमा पठाइएको र आजसम्म सबैको रिर्पोट नेगेटिभ आएको उहाँको भनाइ छ । जिल्लाका अन्य छ गाउँपालिकामा भने कोरोना सङ्क्रमित भेटिएका छन् । रासस