क्षणभरमै हेर्दा हेर्दै घर जलेर ध्वस्त भयो, बन्हु चौधरीले घर जलेको टुलुटुलु हेर्न बाहेक केहि गर्न सकेनन

क्षणभरमै हेर्दा हेर्दै घर जलेर ध्वस्त भयो, बन्हु चौधरीले घर जलेको टुलुटुलु हेर्न बाहेक केहि गर्न सकेनन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मध्याह्नको समय कोही खाना खाएर आराम गरिरहेका थिए त कोही घरमा खाना खाइरहेका थिए । डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुर टोलमा आइतबार अचानक आगोलागी भयो ।

स्थानीयबासी भरत चौधरीको परालको टालबाट सल्केको आगोले गाउँको पाँचवटा घर जल्यो । क्षणभरमै भरतसहित बन्हु चौधरी, शोभाकान्त चौधरी, उमाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीका घर ध्वस्त भयो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० स्थित रञ्जितपुर टोलमा आगलागी हुँदै गरेका घर । नानीमैंया कटवाल÷ रासस

गाउँलेहरूले न आराम गर्न पाए, नत आगो निभाउन सके । डाक्नेश्वरी नगरपालिकामा बारुणयन्त्र नहुँदा घरहरु खरानी भएको टुलुटुलु हेर्नुपरेको उमाकान्तले बताउनुभयो । नजिकै रहेको शम्भुनाथ र राजविराज नगरपालिकाको बारुणयन्त्र समेत बिग्रिएर मर्मतमा पठाइएकोले ३० किलोमिटर दूरीमा रहेको हनुमाननगर कंकालिनी नगरपालिकाबाट बारुणयन्त्र आउँदा ढिलो भएको उमेश साहले बताउनुभयो ।
दुई घण्टामा बारुणयन्त्र आई पुग्दा आगलागीबाट घरसहित घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन, नगद, जस्तापाता, काठ र फर्निचर जलेर खरानी भइसकेको थियो ।

परालको टालबाट नजिकै राखिएको दाउरा र गुइठामा सल्किएर ह्वारह्वारी बलेको आगो नियन्त्रण गर्न नसकिएको गाउँलेहरुको भनाइ छ । स्थानीयबासी रामु चौधरीका अनुसार नजिकै पानीको स्रोत पनि थिएन् । नजिकै रहेका पाँच घर आगोले डढेर खरानी भयो । छाक टार्न घरमा राखिएको अनाज र लुगाफाटासँगै नगद रुपैयाँ पनि जलेर खरानी भए ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० स्थित रञ्जितपुर टोलमा भएको आगलागीमा पुरै जल्नबाट जोगिएका केही नगद । नानीमैंया कटवाल÷ रासस

आगलागीमा परेर बन्हु चौधरीको घर मात्र सल्केन नयाँ घर बनाउने योजना पनि सल्केर खरानी भयो । जस्तापाताको साटो नयाँ पक्की घर निर्माणका लागि उनले बैंकबाट ऋण लिएर घरमा करिब ६ लाख रुपैयाँ जोहो गरेर राखेका थिए । बन्दाबन्दीका बेला अरु काम गर्न निषेध गरिए पनि घर निर्माणको काममा रोकावट नभएकाले उनले यो बेला घर निर्माणको योजना बुनेका थिए ।

बन्हु भन्छन्–‘‘बस्दै आएको पुरानो घर सल्क्यो, जम्मा गरी राखेको नगद छ लाखमध्ये साढे पाँच लाख रकम समेत सल्किएर नयाँ घर बनाउने योजना पनि खरानी भयो ।’’ आगोसँगै घर बनाउने उनको सपना पनि त्यही धुवाँसँगै उडेर गयो । ‘‘अब के गर्ने होला ? कहाँ बस्ने होला ?’’ बन्हुले चिन्ता प्रकट गर्नुभयो । जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बन्हु परिवारको नगदसहित १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
शोभाकान्त चौधरीले मोटरसाइकल समेत निकाल्न पाउनुभएन । मोटरसाइकलसहित आफ्नो घरको सम्पूर्ण सामाग्री जलेर खरानी भएको शोभाकान्तले जनाउनुभयो । उमाकान्तले घरभित्र रहेको करिब तीन लाख रुपैयाँको सुनचाँदी जलेर नोक्सान भएको दुखेसो सुनाउनुभयो ।

आगोले बन्हुको र उहाँका छोराहरुको समेत घर जलेकाले कहाँ ओत लाग्ने चिन्ता थपिएको छ । अहिले चौधरी परिवार विचल्लीमा परेका छन् । हनुमाननगरबाट आएको बारुणयन्त्रले आगोको राखलाई पूर्णरुपमा नियन्त्रणमा लियो तर बारुणयन्त्र आउनु अघि सबै सामान क्षणभरमा नै ध्वस्त भयो, केही बाँकी रहेन । रासस