पिसिआर प्रयोगशालालाई प्रदेश सरकारबाट रु ५० लाख

पिसिआर प्रयोगशालालाई प्रदेश सरकारबाट रु ५० लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, १२ जेठ । तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्थापना गर्न लागेको पिसिआर प्रयोगशालाका लागि गण्डकी प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको छ । पिसिआर रिपोर्ट आउन ढिलाई भएपछि नगरपालिकाले व्यास–१० दुम्सीमा स्थापना गर्न लागेको प्रयोगशालाका लागि प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले प्रदेश सरकारबाट नगरपालिकाको अभियानमा सहयोग भएको जानकारी दिनुभयो । यसअघि सङ्घीय सरकारको तर्फबाट पनि पिसिआर प्रयोगशालाका लागि रु २५ लाख बजेट विनियोजन भइसकेको छ । प्रयोगशालाका लागि नगरपालिकाका जनप्रतिनिधिले पनि एक महिना बापतको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिसकेका छन् ।

आन्तरिक मूल्याङ्कनबाट नतिजा

कोरोना कहरका कारण यस वर्षको परीक्षा सञ्चालन हुन नसकेपछि नगरपालिकाले आन्तरिक मूल्याङ्कनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्ने भएको छ । शैक्षिक शत्र २०७७ को वार्षिक परीक्षा सञ्चालन हुन नसकेपछि नगरपालिकाले मूल्याङ्कनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्न लागेको हो ।

विद्यालयमा उपस्थित भई परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले अघिल्ला चरणहरुमा सञ्चालन गरिएका प्रथम र द्वितीय त्रैमासिक मूल्याङ्कनबाट क्रमशः २० र ६० प्रतिशत अङ्कलाई आधार मानी बाँकी २० प्रतिशतको अङ्कका लागि प्रत्यक्ष भौतिक उपस्थिति बाहेकका वैकल्पिक परीक्षाका माध्यमबाट १० प्रतिशत र विद्यार्थीका निरन्तर मूल्याङ्कनका विविध अभिलेखहरुबाट १० प्रतिशत गरी कूल एक सय प्रतिशत अङ्कका आधारमा वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिने शिक्षा अधिकारी उपसचिव नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वार्षिक परीक्षा र नतिजा प्रकाशन गर्दा जेठ १४ गतेसम्म विद्यालयले भौतिक उपस्थिति बाहेकको वैकल्पिक मूल्याङ्कनको आन्तरिक तयारी गरी विद्यार्थीलाई जानकारी गराउने र जेठ १५ गतेदेखि २५ गतेसम्मका परीक्षाका विधिहरु अवलम्बन गर्ने निर्णय गरिएको छ ।

विद्यार्थीहरुको मूल्याङ्कन अभिलेखको आधारमा जेठ २८ गते सबै विद्यालयले कक्षा ८ बाहेक बालविकासदेखि ९ सम्मको नतिजा विद्यालय प्रशासनबाट प्रमाणित गरी सार्वजनिकीकरण गर्ने र विद्यार्थी तथा अभिभावकलाई सामाजिक सञ्जाल तथा टेलिफोन मार्फत् नतिजा जानकारी गराउनेछन् ।

नगरपालिकाले शैक्षिक शत्र २०७८ को लागि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान कार्यक्रम असार १ गतेदेखि शिक्षक, विद्यार्थी र अभिभावकको प्रत्यक्ष भौतिक उपस्थिति बिना विविध वैकल्पिक माध्यमको प्रयोग गरी सञ्चालन गर्ने रेग्मीले जानकारी दिनुभयो । रासस