विपदमा मन फुकाउँदै मनकारी : आपद्का बेला मन फुकाएर सहयोग गर्ने थपिदै गए पछि सर्वसाधारण लाइ राहत

विपदमा मन फुकाउँदै मनकारी : आपद्का बेला मन फुकाएर सहयोग गर्ने थपिदै गए पछि सर्वसाधारण लाइ राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, १८ जेठ । कोभिड–१९ महाव्याधि र त्यसलाई छल्न जिल्लामा जारी निषेधाज्ञाबीच महोत्तरीको बर्दिवास क्षेत्रमा महाव्याधि प्रतिकार्यमा बढेको सहयोगले राहत दिएको छ । आपद्का बेला मन फुकाएर सहयोग गर्ने थपिदै गएपछि महाव्याधीसँगैको निषेधाज्ञामा सर्वसाधारणले राहत पाएका छन् ।

बर्दिवास अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षाका लागि बिभिन्न संस्था र व्यक्तिले स्वास्थ्य सामग्री प्रदान गर्नसँगै बिरामीको सघन उपचारका लागि लगातार अक्सिजनको सहयोग हुँदै आएको छ । “हामीलाई सामान्यतया सर्जिकल मास्क, पञ्जा, सेनिटाइजर र फेससिलसहितका सुरक्षा सामग्रीको अभाव खट्केको छैन”, अस्पतालका जनस्वास्थ्य निरीक्षक तथा बर्दिवास नगरपालिकाको स्वास्थ्य शाखाका कोभिड–१९ व्यवस्थापन केन्द्रका स्रोत व्यक्तिसमेत रहनु भएका रामबाबु यादवले भन्नुभयो, “लाग्दो जेठदेखि हामीले सञ्चालनमा ल्याएको आइसोलेशनमा यहाँका मनकारी व्यक्ति र संस्थाले अक्सिजनको अभाव पनि हुन दिनु भएको छैन ।”

जताततै अक्सिजनको अभावले उपचार प्रभावित भएको खबर प्रवाहित भइरहेका बेला बर्दिवास–१ का ब्यापारी उमेश साहले ५० सिलिण्डर अक्सिजन उपलब्ध गराउनु भएपछि अस्पतालले कोभिड–१९ सङ्क्रमितका लागि सघन उपचार सेवा शुरु गरेको थियो । “हामीले सेवा शुरु गरेपछि अक्सिजनको अभाव खेप्नु परेन” जनस्वास्थ्य निरीक्षक यादव भन्नुहुन्छ, “एकपछि अर्को सेवा पाइरहेका छौँ ।” हिजो सोमबार मात्र श्रेष्ठ इलेक्ट्रिक बर्दिवासका सञ्चालक सन्तोस श्रेष्ठबाट ४२ सिलिण्डर अक्सिजन प्राप्त भएको अस्पतालले जनाएको छ ।

यसअघि रेडक्रस बर्दिवास उपशाखाले ४० सिलिण्डर अक्सिजन उपलब्ध गराएको थियो । “जसले आफ्नो आर्थिक सामथ्र्यले जति सकेका छन्, मन फुकाएर सहयोग गरेका छन्” अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिलकुमार दाहाल भन्नुहुन्छ, “स्वास्थ्य सामग्री वा अक्सिजनको अभाव भए हामीलाई भन्नोस् है भन्नेको लामो पङ्ति छ ।” अस्पतालले सम्झनासाथ त्यस्ता सामग्री आउने गरेको डा. दाहाल बताउनुहुन्छ ।

केही दिनअघि मात्र हेल्प फाउण्डेशन बर्दिवासमा आवद्ध बर्दिवासका उत्साही युवाले महाव्याधिका बेला अग्रपङ्तिमा रही काम गर्ने जिल्लाका पत्रकारलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नेपाल पत्रकार महासङ्घ, महोत्तरी शाखाको विपद् व्यवस्थापन कोषमा रु ५० हजार दिएका छन् । यो कोषमा बर्दिवास–१४ स्थित होटल गौतमका कामदारले आफ्नो तलबबाट रु ५१ हजार ७३५ थपे । त्यसैगरी बर्दिवास–१ स्थित होटल विनायकका सञ्चालक विष्णु खड्काले ३१ हजार रकम कोषमा दिनु भएको महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले बताउनुभयो । यसबाहेक बर्दिवासमा नागरिकस्तरबाट गठित कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र होटल विनायकका सञ्चालक खड्काबाट पर्याप्त स्वास्थ्य सामग्री पनि प्राप्त भएको मण्डलको भनाइ छ ।

यसैगरी होटल विनायकका सञ्चालक खड्काले सीमा सुरक्षामा खट्ने सशस्त्र प्रहरीलाई कोभिड–१९ महाव्याधीबाट बच्न पूर्वसुरक्षा र सतर्कताका लागि आफैंले सशस्त्र प्रहरी बल, प्रदेश–२ कार्यालयमा स्वास्थ्य सामग्री पु¥याउनुभयो । खड्काले प्रदान गर्नु भएको सामग्रीमा सात हजार सर्जिकल मास्क, दुई हजार गोदरेज साबुुन, ५०० थान ह्याण्डग्लोथ, ४० लिटर सेनिटाइजर, १०० थान फेससिल, २० थान पकेट सेनिटाइजर र एक थान अटोमेटिक सेन्सर सेनिटाइजर मेसिन रहेको सशस्त्र प्रहरी बल, प्रदेश–२ कार्यालय छिन्नमस्ता वाहिनी बर्दिवास–४ महोत्तरीले जनाएको छ ।

यस्तै गत वर्ष (२०७७) मा बर्दिवास नगरपालिकाले सञ्चालन गरेको कोभिड–१९ विरुद्धको अभियानमा क्वारेन्टिनमा दैनिक ४५ जना सरदर बसेकाहरुलाई स्वास्थ्य सामग्रीसँगै एक महिनासम्म दैनिक चार पटक खाना÷खाजा खुवाउनु भएको बर्दिवासबासी सम्झन्छन् । “जताततै क्वारेन्टिनमा खानपान र बसोबासको राम्रो प्रवन्ध भएन भन्ने गुनासो चुलिएका बेला खड्काले उत्कृष्ट सेवा दिनु भएको थियो”, त्यतिखेर क्वारेन्टिनमा रहनु भएका बर्दिवास–१३ बिजलपुरा भेडियारीटोलका प्रमोद राउतले भन्नुभयो, “म त क्वारेन्टिनबाट निस्कदा त्यहाँको खानपानले तगडा भएको थिएँ ।”

विसं २०७८ दोहोरिएर कोभिड–१९ सङ्क्रमण बढेसँगै बर्दिवासमा नागरिकस्तरमै कोभिड–१९ सङ्कट व्यवस्थापन समिति गठन गरेर सहयोग जुटाउने र आपद्कालीन सामग्री उपलव्ध गराउने काम हुँदै आएको छ । समितिले कोभिड–१९ प्रभावित बस्तीमा स्वास्थ्यकर्मीको टोली पु¥याउने, स्वास्थ्य सचेतताका सामग्री उपलब्ध गराउने, अक्सिजन सिलिण्डरको व्यवस्था गर्नेदेखि खाद्य बैङ्क नै सञ्चालनमा ल्याएर भोकाहरुलाई खाजा र खाना दिदै आएको छ ।

जेठको शुरुमै सञ्चालनमा आएको बैङ्कले हालसम्म तीन हजारलाई खाना÷खाजा खुवाइसकेको खाद्य बैङ्क व्यवस्थापन समितिका संयोजक रेवन्त कार्की बताउनुहुन्छ । महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाको अध्यक्षतामा गठित नागरिक स्तरको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिमा बर्दिवास क्षेत्रका एक दर्जनभन्दा बढी सामाजिक सङ्घसंस्था आवद्ध छन् । खाद्य बैङ्कको व्यवस्थापनमा सुरक्षा गस्तीमा निस्केका प्रहरी, कोभिड–१९ सङ्क्रमित बिरामी, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, लामो बाटो तय गरिरहेका यात्री, भोका बटुवा र गरीबहरुले भोजन पाइराखेका छन् ।

समितिलाई बर्दिवास उद्योग वाणिज्य सङ्घ, बर्दिवास रोटरी क्लव, नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ, बर्दिवास हेल्प फाउण्डेशन र विभिन्न व्यक्तिले आवश्यक सामग्रीको प्रवन्धमा सहयोग गर्दै आएका अध्यक्ष थापाको भनाइ छ । बर्दिवास अस्पताललाई हालै हेल्भाटस नामक संस्थाले रु १२ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

विपद्का बेला बर्दिवास क्षेत्रमा देखिएको आपसी सहयोग भाव अत्यन्त अनुकरणीय रहेको आम प्रतिक्रिया बढेको छ । बर्दिवासमा देखिएको यो उदात्त सामाजिक सेवाको भाव जिल्लाका अन्य भेगमा अनुकरण हुनसके कोभिड–१९ नियन्त्रण र निषेधाज्ञाबीच भोकाहरुको व्यवस्थापनमा ठूलो सहयोग पुग्ने जिल्लाका वरिष्ठ पत्रकार बिन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ । रासस