तनहुँमा सुरक्षा मापदण्ड अपनाउँदै विकास योजना सञ्चालन

तनहुँमा सुरक्षा मापदण्ड अपनाउँदै विकास योजना सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, १८ जेठ । कोरोना कहरका कारण तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका क्रममा निजी क्षेत्रका निर्माणका काम रोकिएपनि सरकारीतर्फका आयोजना भने नियमित सञ्चालन भइरहेको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्वास्थ्य मापदण्ड अपनाएर विकास योजना सञ्चालन गर्न अनुमति दिएको छ ।

निषेधाज्ञामा स्वास्थ्य मापदण्ड अपनाएर विकास निर्माणका काम धमाधम सञ्चालन भइरहेको छ । तनहुँ निर्वाचन क्षेत्र नं २ (२) मा गण्डकी प्रदेश सरकारको सहयोगमा विभिन्न आयोजना सञ्चालनमा छन् । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङको निर्वाचन क्षेत्रमा विभिन्न ठूला आयोजनाहरु सञ्चालन भइरहेका छन् ।

यस क्षेत्रमा सञ्चालन भइरहेका योजनाहरुको अनुगमन गरिएको मन्त्री गुरुङका स्वकीय सचिव रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चालन भइरहेका निर्माण कार्य सन्तोषजक रुपमा अगाडी बढिरहेको छ ।

यस क्षेत्रमा भिमाद ऋषिङ सडक, शालिग्राम करिडोर, मानपुर डेढगाउँ सडक, बरनछाङ्गा–धावादी÷बरनछाङ्गा–बराहापानी, भागर भिमाद सडक, किहुँ बडरभञ्ज्याङ बजार क्षेत्र सडक, लुम्बास–ढाकर्दी सडक, भिमकाली सडक, भिम गोफा सडक, कटहरे– डुम्रीवेशी सडक, कामधेनु मावि छात्रावास भवन, फेदीखोला सडक पुल, लोकतान्त्रिक साँघुकोमुख पुल र काठेकोट अत्रौली सडक योजना सञ्चालनमा छ ।

तनहुँको भीमाद नगरपालिका–५ ऋषिङपाटन र ऋषिङ गाउँपालिका–८ पल्ट्याङ जोड्ने फेदीखोलामा रु तीन करोड ५८ लाख ३१ हजार नौ सय ८० को लागतमा पुल निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । पुल निर्माणका लागि विसं २०७७ असार २६ गते चितवनस्थित केबिसी बिल्डर्स कम्पनी प्रालिसँग सम्झौता भएको थियो । २५ मिटर लामो पुलको चौडाई ८.४ मिटर रहनेछ । ६ मिटरमा गाडी गुड्ने र दायाँबायाँ १.४÷१.४ को पेटी निर्माण हुनेछ । उक्त पुल विसं २०७८ पुस २५ गतेसम्म सम्पन्न गर्ने म्याद छ ।

गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा सूचीकृत गरेको मानपुर–डेढगाउँ–बुलिङटार सडकमा पनि काम भइरहेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा उक्त मार्ग कालोपत्रे हुनेछ ।

तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट शुरु भएर डेढगाउँको सीमानासम्मको एघार किलोमिटर खण्डमा सडक कालोपत्रे हुनेछ । विसं २०७८ फागुन ७ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको सडकखण्डमा आधुनिक प्रविधिको अल्फास्ट कालोपत्रे गरिनेछ । उक्त सडकको चौडाई सात मिटर रहनेछ भने साढे पाँच मिटरको कालोपत्रे र सडकमा एक मिटरको नाला निर्माण हुनेछ ।

निषेधाज्ञाकै अवधिमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत शुक्लागण्डकी–१ काठेपिपलमा सामुदायिक भवन निर्माण सम्पन्न भएको छ । प्रदेशसभा सदस्य आशा कोइरालाको पूर्वाधार विकास कार्यक्रमको रु पाँच लाख बजेट परेको उक्त भवनमा उल्लेख्य जनश्रमदानका कारण लक्ष्य भन्दा बढी काम भएको पाइएको छ । शुक्लागण्डकी–२ स्थित भुलभुले बाराही मोटर मार्गमा रु ६ लाखको लागतमा एक सय ९७ मिटर पक्की नाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

शुक्लागण्डकी–६ स्थित जनसेवा मोटरमार्ग, शुक्लागण्डकी–७ स्थित शहीद गीता मार्गको पक्की नाला निर्माण, शुक्लागण्डकी–८ स्थित डहरे सामुदायिक भवन, शुक्लागण्डकी–१२ स्थित जामुनेफेदी सामुदायिक भवनको लक्षित काम सम्पन्न भएका छन् । शुक्लागण्डकी– ८ लालिम स्थित खेलमैदान र शुक्लागण्डकी–२ स्थित शहीद स्मृति पार्कमा प्रतिमा निर्माणको काम प्रारम्भिक चरणमा छ ।

यसैगरी शुक्लागण्डकी–११ स्थित राजपुर माध्यमिक विद्यालयको कम्पाउण्ड निर्माण र शुक्लागण्डकी–१० स्थित देउराली सामुदायिक भवन निर्माणको काम द्रुतगतिमा अघि बढेको छ । उधारो तथा सापटी रकममा योजना सम्पन्न गरिसकेका उपभोक्ताहरूलाई भुक्तानीमा समस्या नहोस् भनेर निषेधाज्ञाको समयमा पनि सुरक्षा मापदण्ड पालना गरेर कामलाई निरन्तरता दिइएको प्रदेशसभा सदस्य कोइरालाले बताउनुभयो । रासस