भक्तपरुरका १३४ सम्पदा पुनःनिर्माण

भक्तपरुरका १३४ सम्पदा पुनःनिर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भादगाउँ, १८ जेठ । गोरखा भूकम्पको छ वर्षको अवधिमा भक्तपुरमा भूकम्पले क्षति गरेका पुरातात्विक महत्वका सम्पदामध्ये १३४ वटा साना ठूला सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भक्तपुरमा २१३ वटा सम्पदामा क्षति पुगेको थियो । तीमध्ये १३४ वटाको पुनःनिर्माण सम्पन्न भएको स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डा भक्तपुरले जनाएको छ ।

भूकम्पले क्षतिग्रस्त १२ वटा सम्पदाको पुनःनिर्माण कार्य भइरहेको र २० वटा सम्पदा पुनःनिर्माणको चरणमा रहेको स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डा भक्तपुरका ई मोहनसिं लामाले जानकारी दिनुभयो ।

भूकम्पले भक्तपुरका चार स्थानीय तहमध्ये भक्तपुर नगरपालिकामा सबैभन्दा धेरै सम्पदा क्षति गरेको थियो । सम्पदाको धनी भक्तपुर नगरका १४५ वटा सम्पदामा क्षति भएको थियो । त्यसैगरी मध्यपुर थिमि नगरपालिकामा २३, सूर्यविनायक नगरपालिकामा २९ र चाँगुनारायण नगरपालिकामा १६ सम्पदामा क्षति पुगेको ई लामाले बताउनुभयो ।

भक्तपुर नगरपालिकाको क्षतिग्रस्त १४५ सम्पदामध्ये १०८ वटा सम्पदाको पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न भएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो । उहाँका अनुसार भक्तपुर नगरमा हालसम्म २३ मन्दिर, ४० पाटी, ६ द्योछें, ३ प्रवेशद्वार, ८ पोखरी, ७ इनार, ८ सत्तल, ७ ढुङ्गेधारा र अन्य ६ वटा सम्पदा पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न भएका छन् भने अन्य डेढ दर्जनभन्दा बढी सम्पदा जीर्णोद्धारको क्रममा रहेको छ ।

चालु आर्थिक वर्ष भक्तपुर नगरभित्र विश्वप्रसिद्ध ङातापोल्हँ मन्दिर (पाँचतल्ले मन्दिर) जीर्णोद्धार, दरबार क्षेत्रस्थित वत्सला मन्दिर पुनः निर्माण, भक्तपुर नगरपालिका–४ स्थित चपाल भैरव द्यो छेँ पुनःनिर्माण, भक्तपुर–५ ल्योसिंख्योस्थित च्यासिंदेगः पुनःनिर्माण, भनपा–६ स्थित भोलाछेँ पुखु जीर्णोद्धार, भनपा–७ स्थित गय् भिंद्यो पुललगायतका कार्य सम्पन्न भएको उहाँले बताउनुभयो ।

मध्यपुर थिमिमा ७ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । त्यस्तै २ वटाको पुनःनिर्माण भइरहेको र ४ वटाको शुरु हुने चरणमा रहेको छ । चाँगुनारायण नगरपालिकामा १० वटा सम्पदाको पुनःनिर्माण सकिएको छ । यहाँ ४ वटाको पुनःनिर्माण भइरहेको छ भने ४ वटाको शुरु गर्ने तयारी भइरहेको छ ।

सूर्यविनायक नगरपालिकामा क्षतिग्रस्त २९ सम्पदा मध्ये हालसम्म जम्मा ९ वटाको मात्र पुनःनिर्माण भएको छ । यहाँ २ वटाको पुनःनिर्माण भइरहेको र ६ वटा पुनःनिर्माणको चरणमा रहेको ईं लामाले बताउनुभयो ।

चालु अर्थिक वर्ष २०७७÷०७८ मा राष्ट्रिय कला सङ्ग्रहालयको जिम्मेवारीमा २८ र स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डाको जिम्मेवारीमा १२ वटा सम्पदा पुनःनिर्माणको जिम्मेवारी तोकिएको थियो । तर ती दुई वटै निकायले तोकिएको जिम्मेवारी पूरा गर्न भने नसक्ने भएको छ ।

कला सङ्ग्रहालयको जिम्मेवारी तोकिएका २८ मध्ये १५ वटाको मात्र लागत अनुमान पेश गरिएको छ । त्यसमा ५ वटाको पुनःनिर्माण सकिएको र १० वटाको कार्य भइरहेको छ । त्यस्तै १३ वटा सम्पदाको लागत अनुमानसमेत तयार हुन नसकेको ई लामाले बताउनुभयो ।

त्यस्तैगरी स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डाको जिम्मेवारीमा परेका १२ मध्ये २ वटाको मात्र कार्य सम्पन्न भएको छ भने ९ वटाको कार्य भइरहेको छ । एउटा सम्पदाको कुनै कार्य हुन नसकेको ई लामाले बताउनुभयो ।

भक्तपुर खौमा र अरनिको सभाभवनका गरी दुई वटा जगन्नाथ मन्दिरको पूर्वसंरचनाको सम्बन्धमा एकिन गर्न नसकिएको, निजी स्वामित्वको सम्पदा भएकाले भक्तपुर कै टेराकोटा द्यो छें र विश्वकर्मा द्यो छेंको पुनःनिर्माण रोकिएको छ ।

भक्तपुर नगरको यक्षेश्वर महादेव संरक्षण गर्ने कार्य गत आर्थिक वर्षको अन्तिमतिर टेण्डर प्रक्रिया भई समय अभावका कारण र चालु वर्ष बजेट नभएकाले कार्य गर्न नसकिएको लामाले बताउनुभयो ।

भक्तपुरकै बालाखु गणेश द्यो छें संरक्षण गर्ने कार्य ठेक्का सम्झौता भएको तर कार्य नगरेको कारण कार्य हुन नसकेको, स्थानीयको विरोधका कारण चाँगुनारायणको बलम्बू पाटी संरक्षण गर्ने कार्य हुन नसकेको उहाँले बताउनुभयो ।

पुनःनिर्माण सकिएका सम्पदामा सूर्यविनायक नगरपालिका–४, तर्खगालको राधाकृष्ण मन्दिर पुनःनिर्माण र माकले पाटी संरक्षण, मध्यपुर थिमि–४ को वप्पा विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण र वडा नं. ७ नगदेशको गणेश मन्दिर तथा सत्तल पुनःनिर्माण, सूर्यविनायक–७ को रातो पाटी संरक्षण गर्ने कार्य रहेका छन् ।

सम्पदा पुनःनिर्माण र संरक्षणमा देखापरेका विभिन्न खाले समस्या र चुनौतिले गर्दा पनि समयमा कार्य सम्पन्न गर्न नसकिएको ई. लामाले बताउनुभयो । उहाँका अनुसार खुल्ला प्रतिस्पर्धा भइ न्यूनतम कवोल गर्ने निर्माण व्यावसायीको बोलपत्र स्वीकृत गर्नुपर्ने बाध्यात्मक परिस्थितिको कारण गुणस्तरको र तोकिएका समयमा कार्य गराउन नसक्ने समस्या देखिएको छ ।

सम्पदा संरक्षणको लागि कार्यालयबाट नै गर्ने गरी बजेट व्यवस्था हुनुपर्नेमा केन्द्रिकृत हुने परम्परा रहनु, सम्पदा संरक्षणमा चासो कम राख्ने प्रवृत्ति रहनु, क्षतिग्रस्त सम्पदाहरुको संख्या र संरक्षण एवं पुनःनिर्माणको लागि आवश्यक स्रोतको सुनिश्चितता नहुनुले पनि सम्पदा पुनःनिर्माणमा समस्या देखिएको उहाँले बताउनुभयो ।

त्यस्तैगरी दक्ष जनशक्ति र कालिगढको अभाव, परम्परागत निर्माण सामग्री आवश्यकता अनुसारको नापसाईज र परिमाण सहजरुपमा उपलव्ध हुन नसक्नु, विस्तृत संरचना प्रतिवेदन तयार गरी सोहीअनुसार प्रक्रिया गर्ने परम्परा पालन हुन नसक्नु, संरक्षण÷पुनःनिर्माण कार्यमा संलग्न जिम्मेवार निकाय (गुठी, स्थानीय निकाय र दाता)बीच सक्रिय, संवेदनशिल र समन्वय नहुनुले पनि सम्पदा पुनःनिर्माणमा ढिलाइ हुने गरेको छ ।

बढदो शहरीकरण, व्यापारीकरण र भूमिको उच्च मूल्यवृद्धिका कारण प्राचीन स्मारकलाई निजी स्वामित्व र निजी प्रयोगमा लगाई अतिक्रमण गर्ने प्रवृत्ति बढ्नु, संरक्षित स्मारक क्षेत्र÷स्थलको प्रामाणिकता, ऐतिहासिकता, संवेदनशिलताका साथै विश्वव्यापी महत्वमा असर परी सम्पदा एवं स्थलको महत्व दिन प्रतिदिन खस्कदै जानुले पनि सम्पदा संरक्षणमा चुनौति थपिएको लामाले बताउनुभयो ।

केही सम्पदाको विस्तृत अभिलेखीकरण नभएको कारण पुनःनिर्माण वा संरक्षण कार्यमा केही परिवर्तन वा थप कार्य गर्नुपर्ने बाध्यता रहनु र सम्पदाको पुनःनिर्माण÷संरक्षणको क्रममा आकस्मिक रुपमा आइपर्ने विविध कठिनाइ र चुनौतिले गर्दा पनि सम्पदाको पुनःनिर्माणमा ढिलाइ भइरहेको छ । रासस