गलेश्वर, २० जेठ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीले ‘आपत्कालीन कोष’ स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनीस्थित महासङ्घको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारलाई सघाउने उद्देश्यले कोष स्थापना गरेको हो ।
स्थापना भएकै दिन बैठकमा सहभागी शाखाका पदाधिकारी, सदस्य र सल्लाहकारहरुबाट कोषमा रु एक लाखभन्दा बढी सहयोग प्राप्त भएको कोषाध्यक्ष अमित विश्वकर्माले जानकारी दिनुभयो । “पत्रकारका लागि पत्रकारकै सहभागितामा कोष स्थापना गरिएको हो”, शाखा अध्यक्ष पौडेलले भन्नुभयो, “कोषको रकम बढाउँदै लैजाने र ब्याजबाट आवश्यकताका आधारमा कार्यविधिअनुसार पत्रकारहरुलाई सहयोग गर्छौँ ।”
कोष परिचालन र सञ्चालनसम्बन्धी कार्यविधि तयार पार्न शाखाका सचिव सन्तोष गौतम, सहसचिव प्रमोद शर्मा र सदस्य सुदर्शनकुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । आगामी बैठकमा कार्यविधिको मस्यौदा पेश गरिने सचिव गौतमले बताउनुभयो ।
विपद्, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित हुने पत्रकारलाई आकस्मिकरूपमा विशेषगरी स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । म्याग्दीमा महासङ्घका ६२ सदस्य छन् ।
शाखाका उपाध्यक्ष हरिकृष्ण गौतमले नयाँ कार्यसमितिको अल्पकालीन र दीर्घकालीन कार्ययोजनाअनुसार पहिलो चरणमा आपत्कालीन कोष स्थापना भएको बताउनुभयो । बेनीमा मिडिया सेन्टर सञ्चालनको तयारी गरेको महासङ्घले बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको चार आना जग्गामा भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन प्रक्रिया अघि बढाएको छ । पत्रकारहरुको पेशागत सुरक्षा, क्षमता र सीप विकासका लागि तालिम सञ्चालन गर्ने, हितकोष स्थापना र पत्रकारिता पुरस्कारको अक्षयकोष बनाउने योजना बनाइएको छ । रासस
प्रतिक्रिया