मान्म, २० जेठ । कालिकोटको तिलागुफा नगरपालिकाले १० शय्याको नगर अस्पताल निर्माण गरेको छ । वडा नं. ४ राँचुलीमा कोरोना(कोभिड–१९) को महामारीलाई लक्षित गरेर सो अस्पताल निर्माण गरिएको हो ।
नेपाल सरकारले एक स्थानी तहमा १५ शय्याको अस्पताल अनिवार्य स्थापना गर्ने नीति अनुसार सो नगर अस्पताल बनाइएको वडा नम्बर ४ का वडाध्यक्ष खड्कराज शाहीले जानकारी दिनुभयो । कोरोना महामारीका बेला त्यसको उपचारका लागि अस्पताल स्थापना गरिएको नगर प्रमुख रतनबहादुर शाहीले बताउनुभयो । “गुणस्तरीय सेवा दिन स्वास्थ्य दक्ष जनशक्तीलगायतका थप व्यवस्था गरिनेछ”, उहाँले भन्नुभयो,“नागरिकको रक्षा हाम्रा लागि पहिलो प्राथमिकता हो ।”
सो अस्पतालमा अक्सिजनसहितको आइसोलेसनको सुविधा रहेको नगरपालिकाका सूचना अधिकारी चक्र अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो,“कोरोना महामारीका बिरामी बढ्दै गएका कारणले सबै सुविधासहितको सेवा दिने तयारी छ ।”
संविधान र स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ले दिएको अधिकारबमोजिम नगरपालिकाले दिगो रुपमा समेत सञ्चालन गर्ने गरी आफ्नै अस्पताल सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । महामारीमा अस्पतालको आवश्यकता महसुश गर्दै नगरपालिकाले आफ्नै अस्पतालबाट सेवा नै थालेपछि नगरवासीलाई सहज भएको स्थानीय राजबहादुर शाहीले बताउनुभयो । अस्पताल पुगेर त्यहाँको जनशक्ती, व्यवस्थापन र बिरामीको अवस्थाबारे जानकारी लिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटक महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“अहिले स्वास्थ्य चौकीकै अवस्थाबाट सेवा प्रवाह भइरहेको र थप अस्पताल सञ्चालन गर्न डाक्टरसहितको व्यवस्थापन गर्न आवश्यक रहेको छ ।” रासस



प्रतिक्रिया