दृष्टिविहीन विद्यार्थीलाई खानेपानीको व्यवस्था

दृष्टिविहीन विद्यार्थीलाई खानेपानीको व्यवस्था

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, २३ जेठ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ बालोद्वार माध्यमिक विद्यालयस्थित दृष्टिविहीन समुदाय र विद्यार्थीको परोपकारी संस्था ‘रियल नेपाल’ मा आश्रित दृष्टिविहीन विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि खानेपानीको व्यवस्था गरिएको छ । काभ्रे सेवा समाजको संयोजनमा अमेरिकाको क्यालिफोर्नियास्थित सन्नी सगरमाथा समाजसँग मिलेर दृष्टिविहीनका लागि खानेपानीको व्यवस्था गरिएको हो ।

काम शुरु गरेको १५ दिनमा खानेपानीका सबै काम पूरा गरी विद्यार्थी रहेकै स्थान एपाटारस्थित विद्यालयको नयाँ भवनबाट करिब १२५ मिटरको दूरीमा रहेको पुरानो विद्यालयसम्म पाइपलाइनमार्फत इनारबाट खानेपानी पु¥याइएको छ । रियल नेपालको सहयोगमा विद्यालयसम्म खानेपानी पु¥याएपछि विद्यालयले खानेपानी उपभोग गर्ने थप व्यवस्था मिलाइएको हो । खानेपानीको समस्या रहेको सो समुदायका लागि विद्यालयले इनारका लागि जग्गा उपलब्ध गराएपछि सन्नी सगरमाथाका संस्थापक अध्यक्ष ईश्वर सापकोटाले गृहथलो पनौती आउनुभएको बेला दृष्टिविहीन विद्यार्थीको कष्टका बारेमा जानकारी पाएपछि समाजका तर्फबाट आर्थिक सहयोग उपलब्ध गराएपछि प्रक्रिया अगाडि बढेको हो ।

नपुग रकम उहाँले थपेर खानेपानीको प्रबन्ध मिलाएको काभ्रे सेवा समाजका अध्यक्ष नारायण महत क्षेत्रीले बताउनुभयो । कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै जिल्लाबाट निषेधाज्ञा र नगरपालिकाबाट नगरक्षेत्र सिल भएपछि दृष्टिविहीन विद्यार्थी खानेपानी लिन र नुहाइधुवाइका लागि बाहिर निस्कन नपाएपछि समाजबाट तत्काल खाद्यान्न राहत लिएर रियल नेपाल पुग्दा सो तथ्य जानकारीमा आएलगत्तै खानेपानीको व्यवस्था मिलाएको सापकोटाले बताउनुभयो ।

पनौती नगरप्रमुख भीम न्यौपानले नगरपालिकाले समावेशी र सहभागितामूलक योजना तर्जुमाका क्रममा रियल नेपालजस्तो फरक शारीरिक क्षमता भएका व्यक्तिहरुको पनि सहभागिता हुनुपर्छ भनेर वडा नं ४ र बालोद्वार विद्यालयसँग समन्वय गरी संस्थालाई रहने व्यवस्था मिलाएको बताउनुभयो । अब चाँडै नै जग्गा व्यवस्थापनसहित कम्तीमा छ कोठाको भवन बनाएर दृष्टिविहीन विद्यार्थीलाई बस्न र पढ्नका लागि अझ सुविधा उपलब्ध गराउने योजनामा नगरपालिका रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा सन्नी सगरमाथा समाजका संस्थापक अध्यक्ष सापकोटाले कोभिड–१९ को दोस्रो लहर फैलिइरहेका बखत जन्मभूमि आएका बेला दृष्टिविहीन विद्यार्थीले खानेपानीजस्तो आधारभूत आवश्यकताबाट वञ्चित भएको सुनेर तत्काल खानेपानीका लागि समाजको तर्फबाट सहयोग गरेको बताउनुभयो । “विसं २०७२ को विनाशकारी भूकम्पमा पनि गृहजिल्ला आएर तत्काल राहतलगायतका सहयोग गरेका थियौँ”, उहाँले भन्नुभयो, “यसपटक कोभिड–१९ को बेलामा पनि सहयोग गरिरहेका छौँ ।”

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वासुदेव बन्जाराले एशियाली विकास बैंकले नयाँ भवन र शौचालय बनाइदिएको भए पनि पानीको व्यवस्था नहुँदा सञ्चालनमा समस्या देखिएकाले दाताहरुले पानीको प्रबन्ध गरिदिएपछि रियल नेपालका दृष्टिविहीन र विद्यालयका शिक्षक विद्यार्थी सबैलाई राहत पुगेको बताउनुभयो । काभ्रे सेवा समाजका आजीवन सदस्य एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य शुरकृष्ण वैद्यले रियल नेपालमा आश्रित दृष्टिविहीन विद्यार्थीका लागि स्नानकक्ष बनाइदिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले पनौती र जिल्लामा नै गरी करिब २०० को हाराहारीमा दृष्टिविहीन नागरिक रहेका जानकारी पाएको बताउँदै उनीहरुको आवश्यकताका बारेमा जानकारी आएमा निजी क्षेत्रले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न सकिने बताउनुभयो ।

सो क्रममा काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र पसछेंँले दृष्टिविहीन विद्यार्थी तथा शिक्षकका लागि आफूले तीन महिनाको निम्ति खाद्यान्नको व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजका आजीवन सदस्य एवं पनौती उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोला थापाले पनि दृष्टिविहीनलाई समाजले खानेपानीको व्यवस्था गरिदिएको र अन्य आवश्यकता परेका बखत सक्दो सहयोग गर्न आफू पनि तत्पर रहेको बताउनुभयो । रियल नेपालका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद धितालले आफू र पत्नी पनि दृष्टिविहीन भएकाले रियल नेपालमा आश्रित विद्यार्थीको समस्यालाई आफ्नै मानेर काम गरिरहेको बताउनुभयो । धेरै ठाउँमा कार्यालय र विद्यार्थीलाई सार्दै कठिनतापूर्वक बस्न, खान र ब्रेल लिपिबाट पठनपाठन गराइरहेकामा पनौती नगरपालिका र वडा नं ४ का वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र समुदायको सहयोगमा विद्यालयमा आश्रय लिन पाएकामा खुशी व्यक्त गर्नुभयो । रासस