एक गाग्री पानी जोहो गर्दै बित्छ दिन :बिहान उज्यालो हुनासाथ गाग्री बोकेर घरबाट ननिस्केको कुनै दिन छैन

एक गाग्री पानी जोहो गर्दै बित्छ दिन :बिहान उज्यालो हुनासाथ गाग्री बोकेर घरबाट ननिस्केको कुनै दिन छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुल्लु, २४ जेठ । दुल्लु नगरपालिका–१० राजाकांध गाउँकी ३० वर्षीया तीर्था नेपालीलाई एक गाग्री पानीको जाहो गर्न प्रत्येक दिन घण्टौँ समय बित्ने गर्दछ । बिहान उज्यालो हुनासाथ गाग्री बोकेर घरबाट ननिस्केको कुनै दिन छैन ।

गाउँ नजिकका सबै कुवा सुके । गाउँभरिकै पानीको मुख्य स्रोत भएको थामिधारा मात्र छ । त्यही धारामा नहिंडी परिवारको पानी पिउने र प्यास मेटाउने सपना अधुरै रहन्छ । यो समस्या गाउँका करीब ३० घरपरिवारका लागि उस्तै छ ।

“गाउँमा चार वटा कुवा थिए, ती सबै जेठ नलाग्दै सुके । अहिले त्यहीँ एउटा थामिधारा छ एक गाग्री पानी भर्नमै हाम्रो तँछाडमजाड हुन्छ”, स्थानीयवासी गणेश थापाले गुनासो गर्नुभयो ।
निर्वाचनमा सबैले यो गाउँमा खानेपानी योजना ल्याउने भनेर भोट मागे तर कसैले पनि आफूहरुको यो समस्या कसैले नसुनेको गाउँलेको भनाइ छ । खानेपानीको चरम समस्या झेल्दै आएका यस गाउँका मानिसहरू अहिले त्यो एउटा धाराको भरमा रहेको स्थानीय बिनोद योगीले बताउनुभयो ।

पानीको समस्याले शौचालय सफा गर्न र शारीरिक सरसफाइ गर्न नपाउँदा झाडापखाला फैलिने चिन्ता उत्तिकै भएको उहाँको आशङ्का छ । सरसफाइ कमीका कारण कोरोना महामारी फैलिने सम्भावना बढी भएपनि यहाँका वासिन्दालाई खानेपानीकै जोहोले सताएको छ ।
दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले यस गाउँमा छिटै खानेपानीको व्यवस्थापन गरिने बताउनुभयो । एक वर्षभित्र लिप्टिङ योजनाबाट खानेपानीको समस्या समाधान हुने उहाँको भनाइ छ । रासस