विपद्का सारथीले गरे सङ्क्रमितको उपचार

विपद्का सारथीले गरे सङ्क्रमितको उपचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही,२५ जेठ । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीको सर्लाही जीवन अस्पताल सञ्चालन गर्दै आइरहेका एक जोडी आफू कोरोना सङ्क्रमित भएर पनि अन्य सङ्क्रमितको उपचारमा दिनरात लागिरहेका छन् । गतवर्ष कोरोना भाइरसको पहिलो लहर फैलिँदै गर्दा सरकारले बन्दाबन्दी गरेपछि अलपत्र परेका पैदल यात्रीलाई निःशुल्क खाना खुवाउन खटिएका यो दम्पती यस पटकको सङ्कटमा भने सङ्क्रमितको उपचारमा जुटेका छन् । उनीहरु आफैँ सङ्क्रमित हुँदा समेत बिमारीको हेरचाहमा अहोरात्र खटिएका छन्।

सर्लाही जीवन अस्पताल सञ्चालक अमृता उप्रेती र अर्जुन मैनाली अहिले आफूहरु नै कोरोना सङ्क्रमित छन् । बिरामीको उपचारमा खटिँदाखटिँदै आफूहरू समेत कोरोना सङ्क्रमित भएको अमृताले बताउनुभयो । अमृताका अनुसार उहाँहरूकै कारण छोरा, छोरी, दाजु, बुबासहित पूरै परिवार सङ्क्रमित भएको छ्।

उप्रेती परिवारले निर्माणाधीन अस्पताल भवन आइसोलेसनका रूपमा प्रयोग गर्न हरिवन नगरपालिकालाई दिएको छ । नगरपालिकाले भवनमा ६० शय्याको अक्सिजनसहितको आइसोलेसन तयार गरेको जनाएको छ आइसोलेसन स्थापना गरेको सुनेपछि गत वैशाख २४ देखि नगरका सङ्क्रमितहरु उपचारका लागि आउन शुरु गरेका अमृताका श्रीमान अर्जुनले बताउनुभयो । नगरपालिकाले बिरामीको उपचारमा भने कुनै ध्यान नदिएको उहाँहरुको भनाइ छ ।

बिरामीको उपचारमा नगरपालिकाले बेवास्ता गरेपछि उहाँहरू आफैँ उपचारमा खटिनुभएको छ । ‘‘नगरपालिका जिम्मेवारीबाट पन्छिरहेको छ, बिरामी शय्यामा लम्पसार परेपछि हामीले कसरी फर्काउनु , बिरामी मरेको हेरेर बस्न सकिएन र उपचारमा खटिएका छौँ’’, अर्जुनले भन्नुभयो । दुवैजना स्वास्थ्यकर्मीले सञ्चालन गरेको निजी अस्पतालले कोरोना सङ्क्रमितको उपचार निःस्वार्थ भावले गरिरहँदा नगरपालिका भने मौन बसेको देख्दा आफूहरुलाई आश्चर्य लागेको अमृताले बताउनुभयो ।

अहिले उनीहरूको निगरानीमा हरिवन, बागमती, लालबन्दीलगायत स्थानबाट आएका १९ जना सङ्क्रमित भर्ना भएका छन् । गम्भीर समस्या भएका आठजना उपचारपश्चात् घर फर्किसकेको अस्पतालले जनाएको छ। सामान्य स्वास्थ्य सुरक्षाको सामग्री समेत नहुँदा असुरक्षित ढङ्गले बिरामीको उपचार गरिरहनु परेको अमृताले दुःखेसो गर्नुभयो । उपचारत बिरामीका लागि बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले अक्सिजन सहयोग गर्नु भएको थियो । अहिले त्यही अक्सिजन प्रयोग भइरहेको छ ।

निकै अनुरोधपछि हरिवन नगरले पनि चारवटा खाली सिलिन्डर दिएको छ। आफैँ सङ्क्रमित भएका कारण बिरामीको हेरचाह गर्न निकै समस्या हुने गरेको स्वास्थ्यकर्मी यस दम्पतीको भनाइ छ। आफूहरुले सोचेजति सेवा दिन नसके पनि बिरामीहरू अन्यत्र जान नमानेको अमृताले बताउनुभयो । “थप भर्ना नलिने भनेर फर्काउँदा समेत बिरामीहरू अस्पतालको द्वारमा आएर बस्ने गरेको छन्”, उहाँले भन्नुभयो ।बिरामीका लागि अहिले उहाँहरु सारथी जस्तै बन्नुभएको छ ।

अस्पतालमा बिरामीको सङ्ख्या बढेपछि चिकित्सक र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईलाई निकै अनुरोध गर्दा पनि कुनै चासो नदेखाएको उहाँको भनाइ छ । नगरपालिकाले भने अस्पतालमा राख्नुपर्ने बिरामीलाई आफ्नै स्वास्थ्य कार्यालयस्थित आइसोलेसनमा राखेको जनाएको छ। अस्पताल सञ्चालक अमृता सिएमए हुनुहुन्छ भने उहाँका श्रीमान् अर्जुन ल्याब टेक्निसिएनसँगै जुनिएर इन्ट्रन हुनुहुन्छ। रासस