काठमाडौँ, २९ जेठ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञा र वर्षासँगै वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । सफाइ महाअभियानको ४२२ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलको नेतृत्वमा काठमाडौँ महानगरपालिका वडा नं. ९ का सदस्य टेकराज अधिकारी, सफाइ अभियानकर्मीद्वय चक्रबहादुर चन्द र दुर्गा रावलले पशुपति क्षेत्रमा सफाइ गर्नुभएको छ ।
सफाइको क्रममा पशुपति क्षेत्रको वाग्मती किनारमा धेरै फौहर भेटिएको उहाँले सुनाउनुभयो । कोरोनाबाट र सामान्य अवस्थामा निधन भएका गरी दैनिक सयौँको सङ्ख्यामा शवदाह गर्न पशुपति क्षेत्रमा ल्याउन थालेपछि नदीक्षेत्र प्रदुषित बनेको हो । शवदाहमा प्रयोग भएका सामग्री नदी किनारमा सफाइ नगरी फालिएको अवस्थामा भेटिने गरेको अभियानकर्मीको गुनासो छ ।यसैगरी शङ्खमूल क्षेत्रमा पनि सफाइ गरिएको छ । यस क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ भएको हो । निषेधाज्ञाकाबीच अभियानकर्मीले घरनजिकको नदी किनारमा सफाइ अभियानलाई निरन्तरता दिनुभएको छ । नदी किनारभन्दा टाढा निवास भएका अभियानकमर्मीले टोल सफाइ एवं जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । बिहान वर्षा भएपछि अभियानकर्मी छाता ओढेर भएपनि सफाइ महाअभियानलाई निरन्तरता दिन जुटेका थिए ।
विसं २०७० जेठ ५ गते शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा देशका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ जारी छ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीलाई स्वच्छ एवं स्नानयोग्य बनाउन उद्देश्यकासाथ शुरु भएको अभियान वर्षा, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारी, चाडपर्वका दिनसमेत निरन्तर हुँदै आएको छ ।
काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदीसहित २० स्थानमा सफाइ हुन थालेको छ । वाग्मतीका विभिन्न भागका साथै रुद्रमती, विष्णुमतीका विभिन्न भाग, मनोहरा, हनुमन्ते, गोदावरीखोला, चक्रपथका विभिन्न भाग, सांस्कृतिक सम्पदा क्षेत्रमा सफाइ भइरहेको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी एवं सम्पदास्थलमा पनि सफाइ अभियान जारी छ । काठमाडौँ उपत्यका र बाहिर गरी हाल १०७ भन्दा बढी स्थानमा सफाइ अभियान चलिरहेको छ । कोरोनाबाट बच्न जारी निषेधाज्ञाकाबीच भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सफाइ अभियानलाई निरन्तरता दिइएको हो । आठ वर्षदेखि स्वयंसेवी अभियानका रुपमा सफाइ जारी रहेपनि स्थानीय सरकारले भने सहयोग नगरेको अभियानकर्मीको गुनासो छ । रासस
प्रतिक्रिया