मनसुनजन्य विपद्को रोकथामको पूर्व तयारी

मनसुनजन्य विपद्को रोकथामको पूर्व तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनसुनबाट उत्पन्न हुनसक्ने विपद्को पूर्व तयारी र प्रतिकार्यका थालिने भएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समिति पाँचथरको बैठकले सम्बद्ध सबै निकायबीचको सहकार्यमा पूर्व तयारी र प्रतिकार्य अगाडि बढाउने निर्णय गरेको हो । बैठकले जोखिममा रहेका वस्तीहरुको पहिचान गरी मनसुनमा हुनसक्ने समस्यालाई दृष्टिगत गरी ती वस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ । यस्तै वर्षाका कारण सडक अवरुद्ध हुनसक्ने भएकाले स्थानीय तहबाट वर्षायामका लागि ग्रामीण क्षेत्रमा अत्यावाश्यक सामग्रीको भण्डारणको व्यवस्था मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।

यस्तै नदीको सतह बढ्ने अवस्थामा तटीय क्षेत्रका सर्वसाधारणलाई पूर्व सूचना दिने प्रबन्ध मिलाउने, नदीको आसपासका क्षेत्रमा सुरक्षा सावधानी अपनाउन सचेतना फैलाउने, उद्धार कार्यका लागि तयार अवस्थामा रहने निर्णय समेत बैठकले गरेको उहाँले जानकारी दिनुभयो । यसका लागि सबै स्थानीय विपद् व्यवस्थापन तथा प्रतिकार्य समितिले वडास्तरमा हुनसक्ने मनसुनजन्य घटनाको आँकलन गरी विवरण तयार पार्ने भएका छन् ।

यस्तै वर्षाका कारण राजमार्गहरुमा क्षति भई सञ्चालनमा आउन नसक्ने अवस्था आउनसक्ने भएकाले अवरोध हटाउने तथा शीघ्र पुनर्निमाण गर्ने कार्यका लागि उपकरण तथा जनशक्ति तयार अवस्थामा राखिने भएको छ । यस कार्यमा सडक डिभिजन कार्यालय इलाम, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना कार्यालय फिदिम, यान्त्रिक कार्यालय फिदिम, पूर्वाधार विकास कार्यालय फिदिम तथा सबै स्थानीय तहहरुले यन्त्र, उपकरण र जनशक्ति तयार राख्ने निर्णय पनि बैठकले गरेको छ ।
पाँचथरमा पहिरोको अत्यधिक जोखिम जिल्ला मानिन्छ । जिल्लाको याङवरक, फालेलुङ र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिकाका विभिन्न वडाहरु पहिरोमा छन् । यस्तै फिदिम नगरपालिका सहित हिलिहाङ, कुम्मायक र तुम्बेवा गाउँपालिकामा बाढीको जोखिम भएका क्षेत्रहरु हुन् । जिल्लामा विशेषतः पहिरोले बढी मानवीय र भौतिक क्षति गर्ने गरेको छ । रासस