साल्मे–सिस्नेरी पहिरो व्यवस्थापनको काम शुरु

साल्मे–सिस्नेरी पहिरो व्यवस्थापनको काम शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिद्धिचरण राजमार्गअन्तर्गत पर्ने साल्मे–सिस्नेरी पहिराको दिगो व्यवस्थापन गरिने भएको छ । जिल्ला सदरमुकाम सल्लेरीलाई जोड्ने एक मात्र सडक खण्डमा पर्ने साल्मे–सिस्नेरीमा पहिरो खस्दा बारम्बार सडक अवरुद्ध हुने गरेको छ ।

जिल्लाको सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लामा पर्ने पहलमान भिर र सिस्नेरी पहिराका कारण हिउँद बर्खा जहिल्यै पनि सडक अवरद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । सडक निर्माण गरेको करीब १० वर्ष पूरा भएको छ । शुरुआतीदेखि नै यस क्षेत्रमा पहिरो खस्ने गरेको भएपनि दिगो व्यवस्थापनमा ध्यान नपुगेको स्थानीयवासीले गुनासो गर्दै आएका छन् ।

माथिबाट ठूलो पहिरो खस्दा सोही ठाउँमा पटकपटक सवारी दुर्घटनामा पर्नुका साथै यात्रु समेत घाइते भएका छन् । सदरमुकाम जोड्ने यस सडकको अवस्थामा सुधार नआउँदा यहाँका नागरिकले आक्रोश समेत व्यक्त गर्दै आएका छन् । विभिन्न सञ्चार माध्यमले जिल्लाका जनप्रतिनिधिदेखि सम्बन्धित निकायले समेत ध्यान दिनुपर्ने विषयमा केन्द्रित सामग्री प्रकाशन, प्रशारण गर्दै आएका थिए ।

सोही प्रभावस्वरुप यस वर्ष भने ‘जिओ टेक्निकल विधि’बाट चिरालो स्तरीकरण गरिने भएको छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाका प्रमुख अरुणकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार पहिराको दिगो व्यवस्थापनका लागि प्रक्रिया अघि बढिसकेको छ । केही महिनाअघि दुई प्राविधिकसहितको टोली स्थलगत निरीक्षणमा समेत आएर फर्किएको उहाँको भनाइ छ ।

विगत वर्षहरुमा बर्खा लागेसँगै जिल्लामा सञ्चालित जलविद्युत् आयोजना र सोलु दूधकुण्ड नगरपालिकाको स्काभेटर तयारी अवस्थामा राखेर सडक नियमित सञ्चालन गर्ने गरेको ट्राफिक प्रहरी प्रमुख कृष्ण कटवालको भनाइ छ । यसवर्ष पनि सोलु हाइड्रो पावर र नगरपालिकाको स्काभेटर तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।
यात्राको क्रममा नागरिकको ज्यान जोखिममा रहने भएकाले पहिराको दिगो व्यवस्थापनका लागि पहल गरेको सोलुखुम्बुका निवर्तमान सङ्घीय सांसद हेमकुमार राई (शुरवीर)ले बताउनुभयो । कोरोनाका कारण वैशाख पहिलो साताबाट काम शुरु हुनु पर्ने भएपनि केही समयपछि धकेलिएको उहाँको भनाइ छ ।
अहिले डिपिआर निर्माणको प्रक्रिया अगाडि बढेकाले पहिरोको व्यवस्थापन हुनेमा ढुक्क रहन उहाँले आग्रह गर्नुभयो । अर्को वर्षसम्म पहिराको दिगो व्यवस्थापनको काम सकिने भन्दै अब नागरिकको जोखिमपूर्ण यात्राको बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो । रासस