विगत छ वर्षदेखि बोनम्यारो क्यान्सरपीडित २६ वर्षीय दीपक थापाको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । घरको अर्थावस्था कमजोर भएका थापाले हालसम्म कुनै सहयोग नपाई जेनतेन उपचार गर्दै आउनुभएकामा पछिल्लो समय विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सहयोग जुट्न थालेको हो । व्यास नगरपालिका–१ ठूलोगाउँ टोल निवासी उदय सुनारले बोनम्यारो क्यान्सरपीडित मगरलाई रु २५ हजार आर्थिक सहयोग गर्नुभएको छ ।
हाल अष्टे«लियामा रहनुभएका सुनारले पठाउनुभएको उक्त रकम निजका हजुरबुवा डम्बरबहादुर सुनारमार्फत मगरको कोठामा पुगेर हस्तान्तरण गर्नुभएको हो । जिल्लाको देवघाट गाउँपालिका–२ बैदी खानी भित्ता घर भई हाल व्यास नगरपालिका–१ चारकुनेमा भाडामा बस्दै आउनुभएको छ । घरको अर्थावस्था अत्यन्तै नाजुक रहेका मगरको डायलायसिस गर्नसमेत धौधौ हुन थालेपछि जीवन बचाइदिन सबै पक्षसँग आग्रह गर्नुभएको हो ।
विसं २०७२ मा हिँड्न नसक्ने, टाउको दुख्ने, वाकवाकी हुने, पिसाबबाट रगत बग्नेलगायत समस्या देखापरेपछि उपचारका लागि विभिन्न अस्पताल धाए पनि रोग पत्ता नलागेको उहाँले बताउनुभयो । राम्रो उपचारको खोजी गर्दै जाँदा काठमाडौँको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराएपछि मात्रै आफूलाई बोनम्यारो क्यान्सर भएको थाहा पाएको उहाँले बताउनुभयो ।
सिभिल अस्पतालका डा विशेष पौडेलले शल्यक्रियाका लागि करिब रु १० लाख लाग्ने बताए पनि त्यति ठूलो रकम कहाँबाट जुटाऊ, रकम जुटाउन सके नयाँ जीवन पाउने थिएँ । उहाँले भन्नुभयो, “महिनामा एकपटक डायलायसिस गर्न त धौधौ भएको छ ।” भर्खरै मात्रै एक छोरा जन्मिएका छन् । गाउँमा खेती गरेर खाने जग्गा जमिन नहुँदा साउदीमा रहनुभएका बुवाको कमाइले छ जना परिवारको प्राण धानिदै आएको श्रीमती सजिनाले बताउनुभयो ।
यसैबीच केही दिनअघि मात्रै व्यास नगरपालिका कार्यालयले मगरको उपचारका लागि रु १५ हजार सहयोग गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले उक्त रकम बराबरको चेक बोनम्यारोपीडित थापालाई हस्तान्तरण गर्नुभएको थियो । व्यास–१ चारकुनेस्थित चारकुने टोल विकास संस्थाले संस्थामा आवद्ध प्रत्येक सदस्यसँग स्वेच्छिक रकम सङ्कलन गरी रु १० हजार प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठ र स्थानीय समाजसेवी गिरिधरी सिग्देलले उक्त रकम निजकी श्रीमती सजिनालाई हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरी व्यासनगरपालिका–२ निवारी गोविन्द पन्थका दम्पतीले रु पाँच हजार आर्थिक सहयोग गर्नुभएको थियो । रासस
प्रतिक्रिया