बिजुलीको मारमा लमजुङबासी

बिजुलीको मारमा लमजुङबासी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यहाँ उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् । जिल्लामा आधा दर्जनभन्दा बढी आयोजनाबाट बिजुली उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जोडी सके पनि यहाँका बासिन्दा भने पटकपटक बिजुली आउने र जाने समस्याले मारमा परेका हुन् ।

यतिबेला दैनिक ५०÷६० पटक बिजुली आउने जाने गर्नाले जिल्लामा दैनिक कामकाज प्रभावित हुँदा उपभोक्ता मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरणको मातहतमा रहेको लमजुङ विद्युत् उपभोक्ता संस्थाले लमजुङ र तनहुँमा गरी करीब ३१ हजार घरधुरीमा विद्युत् सेवा दिँदै आएको छ । संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेका अनुसार जिल्लामा प्रत्येक महिना १२ देखि १३ लाख युनिट विद्युत् खपत हुँदै आएको छ ।

लमजुङ पानी उद्योगका सञ्चालक राजेश थापाले बिजुलीको अनियमित आपूर्तिले गर्दा व्यवसायीलाई ठूलो नोक्सान भइरहेको बताउनुभयो । बेँसीशहर नगरपालिका—३ बाहुनबेँसीका विश्वविनोद घिमिरेले बत्ती आउने जाने समस्याले बालबालिकालाई अनलाइन माध्यमबाट पढाउन समेत समस्या भएको गुनासोे सुनाउनुभयो ।
संस्थाका अध्यक्ष घिमिरेले शुरुमा चार हजार ५०० जनाको लागि बनाएको संरचनाले हालसम्म पनि त्यसमै भर पर्नुपर्दा, बिजुलीका पोलहरु काठका भएको र फेर्नुपर्ने, २० एमबीको ट्रान्सफर्मरर नभएको र यसबारेमा प्राधिकरणले चासो नदिँदा बत्ती जाने आउने समस्या भएको बताउनुभयो । यता प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङले विद्युत् उपभोक्ता संस्थाले विभिन्न पुराना संरचनाहरु मर्मत नगर्दा नै समस्या रहेको हो भन्नुभयो । रासस