पशुपति क्षेत्रका खुल्ला स्थानमा गुर्जो रोपण

पशुपति क्षेत्रका खुल्ला स्थानमा गुर्जो रोपण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असार ।पशुपति क्षेत्रको खाली स्थानमा गुर्जोका बिरुवा रोप्ने अभियान शुरुआत भएको छ । अभियानको पहिलो पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ५०० बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराउनुभएको ५०० बिरुवा कोषको कार्यालय परिसरमा रोपिएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायतले गुर्जो बहु उपयोगी वनस्पति भएकाले कोरोना महामारीका बेला रोग प्रतिरोधी क्षमता विकास गर्न उपयोगी हुनेमा जोड दिनुभयो ।

गुर्जो रोपण कार्यक्रमको समन्वय वाग्मती सफाइ अभियानकर्मी डा.माला खरेल र पूर्व सहसचिव तथा योग गुरु किशोर जोशीले गर्नु भएको थियो । आइतबार पनि पशुपति क्षेत्रको वनकालीमा गुर्जो रोप्ने कार्यक्रम रहेको जनाइएको छ । पशुपति क्षेत्रका खाली स्थानमा क्रमश ः गुर्जो रोपण गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ । पशुपति क्षेत्रमा गुर्जो रोपणसँगै गुर्जोबाट बनेको चिया, धुलो औषधी पनि निःशुल्क वितरण गरिएको थियो । अभियानकर्मी राजलवट विसं २०७६ चैतमा कोरोना महामारी फैलिएसँगै गुर्जो रोपण एवं यसबाट बनेका परिकारलाई निःशुल्क वितरण गर्ने अभियानलाई तीव्रता दिँदै आउनुभएको छ । गुर्जोबाट बनेका परिकारको माग तीव्र भइरहेकाले एक घर एक गुर्जो रोपण अभियान चलाइएको अभियानकर्मी राजलवट बताउनुहुन्छ ।

‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् मानिसलाई त्यही स्थानको जडिबुटीले औषधिको काम गर्छ भन्ने आयुर्वेदशास्त्रको वचन अनुसार बहुगुणी वनस्पति गुर्जो रोपण अभियानलाई तीव्रता दिइएको अभियानकर्मी राजलवटले सुनाउनुभयो । उहाँले गत वर्ष पनि एक लाख ६० हजार गुर्जोका बिरुवा रोप्नका लागि निःशुल्क वितरण गर्नुभएको थियो ।
आन्तरिक राजश्व कार्यालय लाहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास क्षेत्रमा बिरुवा उत्पादन गरी उहाँले देशव्यापी रुपमा निःशुल्क वितरण अभियान चलाउनुभएको थियो । हाल आन्तरिक राजश्व कार्यालय धुलिखेलको प्रमुख भई आउनुभएका राजलवटले यो अभियानलाई निरन्तरता दिनुभएको छ । गुर्जोलगायत वनस्पतिबाट बनेका चिया, धुलोको माग कोरोना बढेका बेला अत्यधिक हुने गरेको छ । शरीरमा रोग प्रतिरोधी क्षमता विकास गरी कोरोना हटाउन यसले मद्दत गरेको अधिकांशत सेवनकर्ताको अनुभव छ । रासस