सैनामैनामा स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकता

सैनामैनामा स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ५ जेठ । रुपन्देहीको सैनामैना नगरपालिकाले स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकता दिँदै आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले कोरोनाले महामारी लामो समयसम्म रहिरहे नगरपालिका भित्रै सञ्चालनमा रहेको कोभिड–१९ अस्थायी अस्पतालमा आइसोलेशन कक्ष, दक्ष जनशक्ति, सुविधा र उपकरण थप गरी क्षमता विस्तार गरिने र कोरोना भाइरस विरुद्धको खोप सबै नगरवासीलाई उपलब्ध गराइने जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्यसँगै शिक्षामा समेत ध्यान दिएकाले शिक्षाको गुणस्तर बृद्धि गर्न शिक्षक क्षमता र साधनस्रोत चाहिने भएको शिक्षकलाई ल्यापटप प्रदान गर्ने निति रहेको बताउनुभयो । सालझन्डी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गर्ने, गर्भवती तथा सुत्केरी पोषण कोशेली कार्यक्रम, जेष्ठ नागरिकको घरमै स्वास्थ्य सेवा कार्यक्रम, हेलो आमा कार्यक्रममार्फत जेष्ठ नागरिक, गर्भवती, सुत्केरी आमालाई सुरक्षित स्वास्थ्य तथा परामर्श सेवा प्रदान गरिने कार्यक्रम नगर प्रमुख कार्कीले सुनाउनुभयो ।

नियमित पाठेघर परीक्षण, स्तन क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न स्तन क्यान्सर शिविर सञ्चालन, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र ८४ वर्ष उमेर काटेका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, हाल सञ्चालनमा रहेका शहरी स्वास्थ्य केन्द्रलाई व्यवस्थित गर्दै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ । महिला स्वास्थ्य स्वयंसेवीको योगदानको उच्च मूल्याङ्कन गर्दै महिला स्वास्थ्य स्वयंसेवीका अक्षय कोषमा रकम थपिने, एन्टीरेविज भ्याक्सिन र ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटीएको छ ।

यस्तै सामाजिक सुरक्षा भत्ता घर घरमै पुगेर दिने, व्यक्तिगत घटना प्रणालीलाई घरघबाट सञ्चालन गरिने, ‘सफा घर, टोल र शहर ः सैनामैनावासीको एउटै रहर’ भन्ने नारालाई सार्थक बनाउन अन्तरस्थानीय तह संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने नीतिमा उल्लेख छ ।

कक्षा कोठामा गरिने शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी वनाउन लागत साझेदारीमा ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम सञ्चालन, शिक्षकलाई सूचना प्रविधिमैत्री बनाउन दक्ष शिक्षकबाट तालिम, उत्कृष्ट शिक्षकलाई पुरस्कार, विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय तथा सूचना प्रविधिको पूर्वाधार विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रविधियुक्त कृषि र कृषिमा रोजगारी सिर्जनाका लागि भूमि बैंकको स्थापना गरी सामुहिक खेती, करार खेती र व्यावसायिक खेती गर्न प्रोत्साहन, शहरीकरणलाई निरुत्साहित गरी व्यावसायिक कृषिमार्फत उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गर्ने, शून्य उपयोग बिहीन भूमिको नीति अवलम्बन गर्दै सडक छेउ, नदी, खोला किनारको जग्गा र उपयोग बिहिन सार्वजनिक जमिनमा फलफूललगायत नगदे बालीको विरुवा रोप्ने र त्यसरी रोपिएका विरुवाको उत्पादनको हकभोग लिने गरी टोल विकास संस्था, व्यावसायिक कृषक र उद्योगलाई परिचालन गर्ने नीति लिइएको छ ।

कार्यक्रममा पशुपक्षी व्यावसायीलाई आत्मनिर्भर बनाउन नश्ल सुधार कार्यक्रम, बाझोपन निवारण घुम्ती शिविर, पशुधन सुरक्षण कार्यक्रम, निःशुल्क खोप, पशुपालक किसानलाई अनुदान स्वरूप घाँसको बिउ र काउ म्याट वितरण गर्नेसमेत उल्लेख छ । कोरोनाका वैदेशिक रोजगारबाट घर फर्किएका बेरोजगार युवालाई कृषि तथा पशुपक्षी व्यवसायमा आवद्ध गर्ने तथा युएनडीपी नेपाल र सैनामैना नगरपालिकाको साझेदारीमा कोरोना महामारीको कारणले स्वदेशी तथा वैदेशिक रोजगारी गुमाएका युवालाई उद्यमशील बनाउन कोभिड–१९ पुनःउत्थान सामाजिक तथा आर्थिक प्रतिकार्य परियोजनालाई निरन्तरता दिइने कार्यक्रममा उल्लेख छ । रासस