व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध

व्यासको तिङ्कर, छाङ्ग्रुमा सात महिनादेखि स्काई टावर अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

“म कहाँ आएर फसेँ, बेहाल भइसक्यो, एकाबिहानै फेसबुकको म्यासेन्जरमा आएको भिडियोकलमा सुनिएको आवाज हो यो ।” त्यो आवाज अरु कोही नभएर जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत लेखापाल भरतनाथ योगीको थियो । पाँच दिनअघि व्यासको छाङग्रुमा निर्माण हुने नेपाल प्रहरीको भवन तथा तिङ्कर प्रहरी चौकीलगायतको निरीक्षण अवलोकन गर्न उहाँ छाङ्ग्रु पुग्नुभएको थियो । उहाँको छाङ्ग्रु पुगेदेखि कोहीसँग फोन सम्पर्क हुन सकेन । छाङ्ग्रुमा सशस्त्र प्रहरीसँग मात्रै ल्याण्डलाइन फोन सेवा छ । छाङ्ग्रुमा रहेको स्काई फोन सेवा गत मङ्सिरदेखि अवरुद्ध छ ।

हिमपातले व्यासको स्काई फोन टावरको अधिकांश सामग्रीमा क्षति पु¥याएको छ । फोन बिग्रिएको सात महिनाभन्दा बढी भयो । नमस्ते टावर आधा बनेको छ । छाङ्ग्रुमा रहेका स्थानीयवासी र सशस्त्र प्रहरीको समय बिताउने कहिलेकाहीँ भायनेटले काम गर्छ । त्यो पनि दुई दिनसम्म बिग्रिएपछि समस्या भएको हो ।

योगीले भन्नुभयो, “न फोन छ, न इन्टरनेट चल्यो, कुन ठाउँ पुगेजस्तो भयो । बस्ने गाह्रो भयो, निरन्तर वर्षा भइरहेको छ । यो बेला बेकारमा छाङ्ग्रु पुगेजस्तो भयो ।” उहाँ मात्र होइन, तिङ्करका नागरिकले गत वैशाखमा कुञ्चा सरेयता फोन सम्पर्क गर्न पाएका छैनन् । छाङ्ग्रुमा कहिलेकाहीँ भायनेटले काम गरे पनि तिङ्कर पूरै सञ्चारविच्छेद छ । तिङ्कर र छाङ्ग्रुमा स्काई टावर बने पनि फोन लाग्दैन । नेपाल, भारत र चीनको सीमा क्षेत्रमा पर्ने व्यास गाउँपालिकाको वडा नं १ छाङ्ग्रु र तिङ्करमा फोन प्रभावकारी नहुँदा स्थानीयवासीले मात्र नभई सुरक्षाकर्मीले समेत सास्ती खेप्नुपरेको छ ।

निरन्तर भइरहेको वर्षाका कारण सशस्त्र प्रहरीसँग रहेको दुईवटा ल्याण्डलाइनमा समेत समस्या आउने गरेको छ । “घाम नलागे फोनले काम गर्दैन”, एक सशस्त्र प्रहरीले भन्नुभयो, “चार्ज गर्न विद्युत् छैन । घाम नलागेका कारण सोलार सिस्टमले काम गरेको छैन । भायनेट दुई दिनसम्म नचलेर निकै सकस भयो ।” यस ठाउँमा अझै फोन सेवा सञ्चालन अनिश्चित छ । “नेपाल टेलिकमको स्काई टावर सञ्चालन गर्नका लागि प्राविधिकहरुको टोली तयारी अवस्थामा छन् तर जानलाई बाटोघाटो छैन”, टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले भन्नुभयो ।

नेपाल–भारत दुवै ठाउँपट्टि बाटो अवरुद्ध छ । भारतीय बाटो भएर जानलाई पाससमेत बनाइएको छ । त्यहाँ पनि गर्वाधार क्षेत्रमा गत मङ्गलबार गएको पहिराका कारण सडक अवरुद्ध छ । नेपालतिर जान सम्भव छैन । कल्जुभन्दा माथिल्लो क्षेत्र पूरै अवरुद्ध छ । चार दिनभन्दा बढी पैदल हिँडेर बर्खाको समयमा जान सकिने अवस्था नरहेको उहाँको भनाइ छ ।

टेलिकमको टावरमा उपकरण राखेको भवन पूरै क्षतिग्रस्त छ । के–के उपकरण क्षति भयो यकिन छैन । हिमपातले टेलिकमको भवनको छत उडाएपछि भवनभित्र रहेको टेलिकमको बिटिएस, रेडियो सिस्टमलगायतमा क्षति भएको अनुमान गरिएको छ । “इन्टरनेटको पहुँच भएकाहरुलाई बाहिर सम्पर्क गर्न मिलेको छ”, व्यासका स्थानीयवासी योगेश बोहराले भन्नुभयो, “सामाजिक सञ्जाल प्रयोग गर्न नजानेकाहरु गाउँ आएदेखि सम्पर्कविहीन छन् ।” तिङ्करमा छाङ्ग्रुको स्काई फोनले समेत काम गर्दैन । यहाँ गएका स्थानीयवासीलाई कुनै समस्या भइहाले पनि आफन्तसँग सम्पर्क गराउन हम्मेहम्मे हुने गरेको छ ।

छाङ्ग्रुमै नमस्ते फोनको टावर जडान गरिएको छ तर नमस्ते फोन सेवा सञ्चालनका लागि सुन्सेराको कैचुलामा रिपिटर टावर राख्नुपर्ने हुन्छ । कैचुलामा रिपिटर टावरका लागि भवन निर्माण गरिएको छ । यो क्षेत्रमा टावरको बाँकी काम जडान हुन नसकेको टेलिकम दार्चुलाले जनाएको छ । छाङ्ग्रुमा बन्न लागेको नमस्ते फोनको टावरमा फोरजी सेवासहित सञ्चालन हुनेछ ।