कोरोना महामारीले योगको महत्व झन् बढ्यो : प्रदेश प्रमुख कलौनी

कोरोना महामारीले योगको महत्व झन् बढ्यो : प्रदेश प्रमुख कलौनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली, ७ असार । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोना भाइरसको महामारीको वर्तमान अवस्थामा योगको महत्व झन् बढेको बताउनुभएको छ । सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले योगाभ्यासलाई दैनिकीका रूपमा अघि बढाउन सके स्वस्थ जीवनयापनमा सहयोगी हुने बताउनुभएको हो ।

“योगको नियमित अभ्यासबाट सुस्वास्थ्य, कार्य क्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा वृद्धि, सकारात्मक सोचको विकासलगायत सकारात्मक गुणको विकास हुने कुरा हाम्रा पूर्वजहरूका खोज अनुसन्धान र व्यवहारबाट प्रमाणित भइसकेको छ”, प्रदेश प्रमुखद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “योगलाई आधुनिक चिकित्सा पद्धतिले पनि स्वीकार गरिसकेको छ, यस प्रकारका अन्तर्राष्ट्रिय र राष्ट्रिय योग दिवसहरुले हरेक नागरिकमा योगाभ्यास गर्ने बानीको विकास भएमा मात्र हामीले दिवस मनाएको सार्थकता हुन्छ ।”

साथै उहाँले नेपाल योग र ध्यानका लागि एक पवित्र तपोभूमि भएको र यही भूमिमा ऋषिमुनि तथा वैद्यहरूले जप, तप र ध्यानको माध्यमबाट नयाँ ज्ञान प्राप्त गरेको ऐतिहासिक प्रसङ्गसमेत शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएको छ । नेपालमा प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस पनि मनाउने गरिएको छ । रासस