काठमाडौं, असार ९ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज बुधबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सुरु हुँदैछ । गत जेठ २६ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले आजबाट निरन्तर सुनुवाइका मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत गरि १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि सुरु हुन लागेको हो । रिट निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् । आदेशअनुसार विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले यस अघि नै लिखित जवाफ पेस गरिसकेका छन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
सभापति देउवासहित १४६ सांसदका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले १५ घण्टा समय पाउने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सरकारी वकिललाई १५ घण्टा समय पाउने छन । त्यस्तै एमिकस क्युरीका लागी दुई घण्टा समय छुट्याइएको छ ।
सुनुवाई शुरु भएपछि निरन्तर कुल ३२ घण्टामा बहस सिध्याउन यसअघि नै संवैधानिक इजलासले आदेश गरेको थियो ।
प्रतिक्रिया