जातीय विभेद अन्त्यका लागि छुवाछूतमुक्त अभियान शुरु

जातीय विभेद अन्त्यका लागि छुवाछूतमुक्त अभियान शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर महानगरपालिकाले जातीय विभेद अन्त्यका लागि छुवाछूत मुक्त अभियान शुरु गरेको छ । महानगरले नीतिगत कार्यक्रम नै बनाएर सामाजिक अन्तरघुलनका निम्ति छुवाछूतमुक्त अभियान शुरु गरेको हो ।

महानगरप्रमुख रेनु दाहालले समाजमा अझै पनि विभेद रहेको बताउँदै भन्नुभयो, “अब नीतिगत रुपमा शुरु भएको छुवाछूतमुक्त अभियानले जातीय छुवाछूत र विभेद अन्त्य गर्न विशेष योगदान गर्ने छ ।” महानगरले अन्तरजातीय विवाह गर्ने दुई दम्पतीलाई रु एक÷एक लाख नगदसहित सम्मानपत्रले सम्मानित गर्दै अभियानको शुरुआत गरेको हो ।

भरतपुर–२७ का उदय सुनार, प्रतिमा गुरुङ सुनार र भरतपुर–६ का दीपक बुढाथोकी र निशा परियार बुढाथोकीलाई सो रकम प्रदान गरिएको हो । छुवाछूतमुक्त अभियानअन्तर्गत अन्तरजातीय विवाह गर्ने दम्पतीलाई प्रोत्साहनस्वरुप सो रकम सहयोग गरिनेछ ।

महानगर उपप्रमुख पार्वती शाहले जातीय विभेद र छुवाछूतरहित समाज निर्माणमा महानगरको यो अभियानले मुलुकमा नै नयाँ तरङ्ग ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

जगतपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक उदय सुनार र गुञ्जनगर स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रतिमा गुरुङ सुनारले छ वर्ष प्रेम सम्बन्धपछि विवाह गर्नुभएको थियो । प्रतिमाले छरछिमेकका कारण आफ्नो परिवारले पूर्ण रुपमा स्वीकार गर्न नसकेको अवस्थामा महानगरको यो सम्मानले समाज परिर्वतनमा ध्यान पुग्ने बताउनुभयो । उहाँले बोलेरभन्दा पनि महानगर कामै गरेर अभियान थालेकामा यसलाई निरन्तरता दिन माग गर्नुभयो । तनहुँ व्यास नगरपालिका–१ की प्रतिमाले २०७७ सालमा भरतपुर २७ का उदयसँग अन्तरजातिय विवाह गर्नुभएको थियो ।

यस्तै अर्का दम्पती दीपक र निशाले चार वर्षको प्रेम सम्बन्धपछि विवाह गर्नुभएको हो । स्थानीय सरकारले नै यसरी सम्मान गरेपछि यो अभियानले सार्थकता पाउने उहाँहरुले बताउनुभयो । कक्षा ५ सम्म अध्ययन गरेका दीपक सवारी चालक हुनुहुन्छ भने उहाँकी श्रीमती निशा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । रासस