चिराकीलाई साइकल र हातेमाइक वितरण

चिराकीलाई साइकल र हातेमाइक वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टीकापुर, १२ असार । कैलालीको जानकी गाउँपालिका वडा नं. १ ले चिराकीलाई साइकल र हातेमाइक वितरण गरेको छ । लामो समयदेखि गाउँमा चिराकीको काम गर्दै आएका उनीहरुलाई सूचना सम्प्रषेणमा सहयोग होस् भनी साइकल र माइक वितरण गरिएको हो । चिराकीले समुुदायका सबैजसो सूचना पुरयाउने, गाउँमा केही शुभ÷अशुभ घटना भएमा सूचना दिने कार्य गर्दछन् ।

‘‘चिराकीले गाउँको विकास निर्माणमा होस् या सामाजिक कामकाज, हरेक गतिविधिबारे गाउँमा सूचना सम्प्रेषण गर्दै आइरहेका छन्’’, वडाध्यक्ष धनीराम चौधरीले भन्नुभयो, ‘‘समाजमा दिनुपर्ने सूचना प्रवाह सहज होस् भनेर सामग्री वितरण गरेका हौँ ।’’

वडाका ६ चिराकीले सामान पाएपछि माइकको सहायताले सूचना दिन सहज हुने बताउँछन् । समुदायमा सामाजिक काम गर्दै आएका चिराकीले खासै तलब पाउँदैनन् । कतिपय ठाउँमा निःशुल्क काम गर्छन् भने कतिपय गाउँमा बडघरको नेतृत्वमा चिराकीको तलब तोकिएको हुन्छ । समाजसेवी लालवीर चौधरीकाअनुसार लामो समयदेखि थारु समुदायमा प्रचलनका रुपमा रहेका चिराकी बडघरका सहयोगीकारुपमा काम गर्छन् । ‘‘चिराकीले बडघरले खटाएको काम गर्छन्, उनीहरु रातदिन नभनी समुदायको हीतमा खटेका हुन्छन्’’,

समाजसेवी लालविर भन्नुहुन्छ, ‘‘तलब तोकेका गाउँमा पनि चिराकीको तलब कम हुन्छ । गाउँकै मानिसले उठाएको अन्न वा रकम उनीहरुलाई तलब दिने हो । बडघर र चिराकीलाई तलब दिने अन्य स्रोत समुदायसँग केही हुँदैन । सामाजिक योगदान दिने मानिसलाई स्थानीय सरकारले प्रोत्साहन गर्नु राम्रो हो ।’’

पछिल्लो समय बडघर तथा चिराकीले स्थानीय सरकारलाई पनि सघाउँदै आएका छन् । उनीहरुले बडघर तथा चिराकीलाई कानूनी मान्यता दिने खालको नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्ने माग गर्दै आएका छन् । ‘‘लामो समयदेखि समुदायमा नेतृत्वदायी भूमिकामा निस्वार्थ सेवा गरिररहेका बडघरलाई कानूनी मान्यता दिन आवश्यक छ । उनीहरुले न्याय सम्पादनमा गरेको कार्यको मूल्याङ्कन समेत हुनुपर्छ’’, बडघर चुन्कानु चौधरलिे भन्नुभयो, ‘‘सरकारले हाम्रो हीतमा काम गर्नुपर्छ ।’’ रासस