पछिल्लो २४ घण्टामा देशभर दुई हजारमा सङ्क्रमण, पाँच हजार निको

पछिल्लो २४ घण्टामा देशभर दुई हजारमा सङ्क्रमण, पाँच हजार निको

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असार । विगत २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा सङ्क्रमण देखिएको हो । यो सङ्क्रमणसँगै नेपालमा कूल छ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत रहेको छ ।

यसैगरी सङ्क्रमितमध्ये ७३४ जना सघन उपचार कक्ष (आइसियु) र २२२ जना भेन्टिलेटरमा रहेका छन् । आइसियुमा प्रदेश नं १ मा १४५ जना, प्रदेश नं २ मा २४, वाग्मतीमा ४०५, गण्डकीमा ७७, लुम्बिनीमा ६०, कर्णाली प्रदेशमा १४ र सूदुरपश्चिम प्रदेशमा नौ रहेका छन् ।

भेन्टिलेटरमा प्रदेश नं १ मा ४२, प्रदेश नं २ मा एक, वाग्मतीमा १४१, गण्डकीमा १८, लुम्बिनीमा १४, कर्णालीमा दुई र सूदुरपश्चिममा चार रहेका छन् । होम आइसोलेशनमा ३९ हजार १९९ जना र संस्थागत आइसोलेशनमा दुई हजार ८२५ जना रहेका छन् ।

सङ्क्रमण मुक्त भई आज चार हजार ९१४ जना घर फर्किएका छन् । योसँगै कूल पाँच लाख ८१ हजार ३२७ जना निको भएका छन् । नेपालमा निको हुने दर ९१.९ प्रतिशत पुगेको छ । यस्तै विगत २४ घण्टामा ३० जनाको सङ्क्रमणका कारणले निधन भएका छन्् । अहिलेसम्म सङ्क्रमणका कारणले आठ हजार ९७५ जनाको निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३०२.६ जनाको निधन भएको छ ।

०००

असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा २४ वर्षीया विकको मृत्यु

जाजरकोट, १२ असार । ठूलीभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु भएको छ । स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सुत्केरी हुनुभएकी विकको शिशु जन्मिनेबित्तिकै अत्यधिक रक्तस्रावका कारण आज बिहान मृत्यु भएको स्थानीयवासी लक्ष्मीचन्द्र कार्कीले जानकारी दिनुभयो ।

शिशुको स्वास्थ्य अवस्था राम्रो भए पनि दूधको अभावमा समस्या भएको उहाँले बताउनुभयो । सदरमुकाम दुनैभन्दा पाँच घण्टा पैदल दूरीमा दुरगाउँ रहेको छ । अघिल्लो वर्ष पनि यही ठाउँमा सुत्केरीको मृत्यु भएको थियो । रासस