पहिरो पीडितलाई प्रशासनको राहत

पहिरो पीडितलाई प्रशासनको राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १४ असार । जिल्ला प्रशासन कार्यालय म्याग्दीले हालैको पहिरोबाट घरबास गुमाएका मालिका गाउँपालिकाका पीडितहरुलाई राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु गाउँमै पुगेर पहिरो पिडितलाई राहत वितरण गरेका हुन् । मालिका गाउँपालिकाको निस्कोट, रुम, ओखरबोट, डाँडागाउँ र दरबाङका ३१ घरपरिवारलाई नगद राहत वितरण गरिएको प्रशासनले जनाएको छ ।

पाँच जनासम्म सदस्य भएको परिवारलाई प्रतिपरिवार रु १५ हजार र छभन्दा बढी सदस्य भएका परिवारलाई प्रतिपरिवार रु २० हजारका दरले राहत उपलब्ध गराइएको हो । मालिकामा कुल करिब रु छ लाख वितरण भएको छ । प्रशासनका नायब सुब्बा शिव शर्मा, पूर्ण खत्री, लीला चोखाल, आनन्द रिजाल र इलाका प्रहरी कार्यालय दरबाङका सोमबहादुर रानाको टोलीले राहत वितरणका साथै पहिरोले पु¥याएको क्षति र जोखिमको बारेमा जानकारी लिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको पछिल्लो पटक बसेको बैठकले पहिरोमा घर भत्किएका, पुरिएका, बगेका र क्षति पुगेकाहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । अन्य पालिकाहरुमा पनि राहत वितरण भइरहेको प्रशासनले जनाएको छ ।

मङ्गलाको कुहुँ सिल –जिल्लाको मङ्गला गाउँपालिका–१ मा पर्ने कुहुँलाई १० दिन सिल गरिएको छ । कुहुँ र पूर्णगाउँमा एकै दिन लक्षणसहितका ३९ जना कोरोना सङ्क्रमित भेटिएपछि नियन्त्रणका लागि वडाबाहिर र एकदेखि अर्को टोलमा आवतजावत बन्द गरिएको हो । गाउँपालिकाले आइतबार जारी गरेको सूचनामा कुहुँमा एम्बुलेन्स, बिरामी बोक्न प्रयोग भएको गाडी, औषधि र विकास आयोजनाका सामग्री बोकेका बाहेकका गाडी र मानिसको आवतजावतलाई बन्द गरिएको उल्लेख छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यही असार २३ गतेसम्मका लागि कुहुँ वडा सिल गरिएको जानकारी दिनुभयो । वडा कार्यलय तथा सहकारीको सेवा बन्द भएको छ । खाद्यान्नका सामग्री गाउँपालिकाको सहमति लिएर तोकिएको समयमा ढुवानी गर्नुपर्नेछ ।

आइतबार वडाध्यक्ष डेकबहादुर राम्जाली र कर्मचारीसहित ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उन्चालीस जनाको परीक्षण गर्दा सबैमा कोरोना सङ्क्रमण पुष्टि भएको स्थानीय अगुवा एकजित रोकाले बताउनुभयो । सङ्क्रमित सबैमा ज्वरो आउने तथा रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएको छ ।

गाउँपालिकाको निर्देशन नमान्नेलाई सवारी साधन नियन्त्रणमा लिने र कारबाहीका लागि प्रशासनमा बुझाइने बताइएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, कार्यपालिका सदस्य डिलकुमारी खत्री र कुहुँ स्वास्थ्य चौकीका प्रमुख माया अधिकारीको टोलीले होम आइसोलेशनमा बसेका सङ्क्रमितको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुभएको छ ।

पछिल्लो केही हप्ता घट्दै गएको कोरोनाको सङ्क्रमणदर एकै पटक ह्वात्तै बढेपछि सरोकारवाला झस्किएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार हालसम्म जिल्लाभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ४३४ जना पुगेको छ । हाल १२६ जना सक्रिय सङ्क्रमित छन् । रासस