महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क

महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वनक्षेत्र नजिकको महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । पछिल्लो पटक आइतबार गौशाला–१० को मरहा खोला छेउको बडहर्वा बस्तीका सात वटा घर जङ्गली हात्तीले भत्काएको छ । यो गौशालामा एक महिनाभित्रै हात्ती आतङ्कको दोस्रो घटना हो । आइतबार एउटै जङ्गली हात्तीले बडहर्वा बस्तीका केशवबहादुर सिञ्जाली, मानबहादुर विश्वकर्मा, मङ्गलबहादुर विश्वकर्मा, धनबहादुर खड्का, बिनामाया बस्नेत, प्रदीप खड्का र रेशमबहादुर खड्काको घर रातको समयमा जङ्गली हात्तीले भत्काएको हो ।

रातको समयमा हात्ती बस्ती पसेपछि भागाभाग भएको थियो । सर्वसाधारणले रातको समयमा भागेर ज्यान बचाएका थिए । यसअघि गत जेठ २३ गते जङ्गली हात्तीले गौशाला–१० कै विश्वकर्माचोकका तीनवटा घर भत्काएको थियो । त्यतिखेर तीनवटा हात्ती बस्ती पसेका थिए । पछिल्लो पटक भने एउटै हात्तीले सातवटा घर भत्काएको हो । सागरनाथ वन विकास परियोजनाको वनक्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगी स्थानीयवासीको मद्दतले हात्ती वनतिर लखेटिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।

बस्ती पसेको हात्तीले ठाउँठाउँमा केराका थाम, उखु र ओलसहितका बोट उखेलेर सोतर बनाएको छ । जङ्गली हात्तीको लगातार बस्तीमा प्रवेश बढेपछि सर्वसाधारण डराएका छन् । अब घाँस दाउरा गर्न, बस्तु चराउन र खेतबारी डुल्न जान पनि डरमर्दो भएको सर्वसाधारणको भनाइ छ । महोत्तरी, सर्लाही र धनुषाको उत्तरीक्षेत्रका चुरे काछ नजिकका बस्तीमा बर्सेनि जङ्गली हात्तीको आतङ्क हुँदै आएको छ । चितवन निकुञ्जबाट हात्ती यता आउने गरेको लख काटिन्छ । पछिल्ला चार÷पाँच वर्षयता महोत्तरीका चुरे नजिकका बस्तीमा हात्ती पस्दै आएका छन् ।

जङ्गली हात्तीले महोत्तरीका खयरमारा, वरडाँडा, गणन्ता, भब्सी, पर्साहीधाप, रजवास, पाटु, सोनापेटी, चेरु र ढुङ्ग्रेसहितका बर्दिबास नगरपालिकाका र गौशाला नगरपालिकाका वनक्षेत्र नजिकका बस्तीमा उत्पात मच्चाउँदै आएको छ । हात्तीले छिमेकको धनुषा जिल्लाको ढल्केवरमा पछिल्ला चार वर्षबीच दुई जनाको ज्यान लिइसकेको छ । आहाराको खोजीमा भौँतारिँदै हात्ती बस्ती पस्ने गरेको वन्यजन्तु विज्ञ बताउँछन् । रासस

यो पनि – अविरल वर्षाका कारण बाजुराको क्युडीमा ९४ परिवार पहिरोले विस्थापित

मार्तडी, १४ असार । असारको शुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौँ बस्ती जोखिममा रहेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका सयौँ बस्ती उच्च जोखिममा परेका छन् । जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–५ क्युडीका ९४ परिवार गाउँभन्दा तलपट्टिको सडक भासिएर पहिरो बग्न थालेपछि विस्थापित भएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार संयोजक बिर्खबहादुर पाण्डेले बताउनुभएको छ । उहाँका अनुसार गाउँभन्दा तलपट्टिको खोलामा गत वर्ष पनि पहिरो गएको र अहिले पनि गाउँ नजिकै रुगिन हुँदै विच्छ्या जोड्ने सडक निर्माण भएपछि सडक भासिएर पहिरो गएकाले बस्ती नै विस्थापित भएको हो ।

सडकका कारणले गाउँ नै भासिन थालेपछि स्थानीयवासी त्रिपालको सहारामा बस्दै आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो । सडकमाथि गाउँ भएकाले पूरै जमीन भासिएका कारण स्थानीयवासीले आफ्नो घर नै छाडेर खुला ठाउँमा त्रिपालमा रात बिताउने गरेको भण्डारीले बताउनुभयो ।

पहिरोले विस्थापित भएका उनीहरु एउटै त्रिपालमा चार परिवारले रात बिताउने छन् । विस्थापित भएको खबर आएपनि अविरल वर्षाका कारण क्युडी जान नसकिएको र केही दिनपछि गएर स्थलगत अनुगमन गर्दा बस्ती नै सार्नुपर्ने अवस्था भएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो । बस्ती नै विस्थापित भएपछि गाउँपालिकाले राहत र उद्धारका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा आग्रह गर्ने अध्यक्ष मल्लले बताउनुभयो ।

प्रहरी, गाउँपालिका कर्मचारी र वडाध्यक्षको संयुक्त अनुगमनबाट पहिरोले विस्थापित भएका क्युडी बस्तीका परिवारका बारेमा मुचुल्का तयार पारेर पालिकामा बुझाएको गाउँपालिकाले जनाएको छ । पहिरोले क्युडीका घरहरु चर्किएको र घरभित्र पानी पसेर कतिपय घरको खाद्यान्नलगायतका सामग्री ओसार्न नसक्दा आफन्तले दिएको खानेकुरा खाएर बस्न बाध्य भएको गाउँपालिका प्रधानमन्त्री रोजगार संयोजक पाण्डेको भनाइ छ । रासस