हेलम्बु र मेलम्चीवासीको उपचारमा प्रहरी अस्पतालका चिकित्सक

हेलम्बु र मेलम्चीवासीको उपचारमा प्रहरी अस्पतालका चिकित्सक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो । प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक डा सञ्जयविक्रम श्रेष्ठको नेतृत्वमा ११ चिकित्सक बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको छ । हेलम्बु गाउँपालिका–६ स्थित इचोक स्वास्थचौकी र वडा नं–४ स्थित चिलाउनेघारी आधारभुत स्वास्थ्य सेवा केन्द्र, चिलाउनेघारीमा दुई दिने शिविर सञ्चालन गरिएको प्रहरी अस्पतालका प्रवक्ता समेत रहनुभएका डा श्रेष्ठले बताउनुभयो ।

बिहिबार हेलम्बु–४ चिलाउनेघारीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय ७९ को स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा १७० जनालाई विभिन्न रोगको औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड, १२ जनाको ‘माइनर’ शल्यक्रिया र १५ जनालाई डे«सिङ्ग गरिएको छ । हेलम्बु–६ स्थित इचोक आधारभूत स्वास्थ्य सेवा केन्द्रको शिविरमा १६२ को निःशुल्क उपचार गरिएको छ । इचोकमा १६० जनालाई औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड र नौ जनाको ‘माइनर’ शल्यक्रिया गरिएको छ ।

यसैगरी शुक्रबार मेलम्ची स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा १६६ को निःशुल्क उपचार गरिएको छ । मेलम्ची स्वास्थ्य केन्द्रबाट १५६ लाई औषधी वितरण गरिएको छ भने ४१ जनाको अल्ट्रासाउन्ड र १० जनाको ‘माइनर’ शल्यक्रिया तथा १५ जनालाई डे«सिङ्ग गरिएको छ । अस्पतालको टोलीमा डा श्रेष्ठ सहित, प्रहरी उपरीक्षक डा आशिष दत्त(सर्जन), प्रहरी नायब उपरीक्षक निर्मल घिमिरे (फिजिसिएन), प्रहरी नायब उपरीक्षक सुवास थापा (आन्तरिक औषधी), प्रहरी नायब उपरीक्षक रोजीना मानन्धर (रेडियोलोजिस्ट), प्रहरी नायब उपरीक्षक मुत्ती घिमिरे (स्त्री रोग विशेषज्ञ) छन् । यसैगरी प्रहरी नायब उपरीक्षक भवानी गुरुङ ( बाल रोग विशेषज्ञ), प्रहरी नायब उपरीक्षक शंकर थापा (दन्त रोग विशेषज्ञ), प्रहरी नायब उपरीक्षक प्रभाकर श्रेष्ठ (अर्थोपेडिक सर्जन) र प्रहरी निरीक्षक डा. प्रबिना मास्के तथा डा. एलिना श्रेष्ठ टोलीमा संग्लन हुनुहुन्छ । रासस

यो पनि – सडक र पुल नबन्दासम्म मेलम्ची खानेपानी आयोजनामा मर्मत गर्न नसकिने – मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आयोजनाका विभिन्न पूर्वाधारमा क्षति पुगेको अनुमान गरिए पनि त्यसको मर्मतका लागि उपकरण पु¥याउन नसकिने अवस्था छ । ठाउँठाउँमा गरी आयोजना निर्माणस्थल प्रदेशमार्गमा पाँच÷छ किमी सडक क्षतिग्रस्त भएको अनुमान गरिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकार र स्थानीय सरकार मिलेर सडक चाँडो मर्मत गर्न आवश्यक छ ।”

बाढीकै कारण त्यस क्षेत्रमा पाँच पुल बगाएको छ । हेडवर्कमा भएको तीन र मेलम्ची नदीमा दुई पुल बाढीका कारण क्षतिग्रस्त बनेको सूचना अधिकारी पन्तले बताउनुभयो । क्षति भएकामध्ये दुई कङ्क्रिटको पुल र तीन बेलिब्रिज रहेको छ । फेरि पनि पक्की पुल बनाउन प्रक्रियामा जाँदा दुई÷तीन वर्ष लाग्ने भएकाले यसको तत्काल समाधान खोज्न लागिएको उहाँले बताउनुभयो । सडक विभाग र नेपाली सेनासँग प्रकोपमा प्रयोग गर्न तयारी अवस्थामा बेलिब्रिज राखिएको हुन्छ । उहाँले भन्नुभयो, “त्यसको प्रयोग गरेर पनि चाँडो हेलम्बुसम्म सडक खुलाउन खानेपानी मन्त्रालयले समन्वय गरिरहेको छ ।”

कति छिटो सडक मर्मत गरेर उपकरण लैजान सकिन्छ आयोजनामा पुगेको क्षतिको मर्मत उति चाँडो गर्न सकिने देखिएको छ । सडक एकातर्फबाट खुलाउँदा पनि निर्माणस्थलसम्म पुग्न सकिने सूचना अधिकारी पन्तले बताउनुभयो । विभिन्न स्थानमा सडक पूरै भासिएको छ । त्यस्तो ठाउँमा पनि पहिलेको रेखाङ्कनभन्दा फरक ठाउँमा सडक निर्माण गर्न नसकिने समितिले जनाएको छ । पहिलेको सडक बगेको भए पनि त्यसको विकल्प खोज्दा लामो समय लाग्न सक्छ । पहिले सडकको ट्रयाक खोल्दा मुआब्जा र क्षतिपूर्तिसहित काम भएको थियो । अहिले नयाँ रेखाङ्कनको विकल्प खोज्दा स्थानीयवासीले सहयोग नगर्ने भएकाले त्यही रेखाङ्कनमा अस्थायी भएपनि सडक लैजान सकिन्छ कि भन्ने हेरिएको समितिले जनाएको छ ।

यही असार १ गते आयोजना क्षेत्रमा बाढी पसेको थियो । अम्बाथानस्थित ‘हेडवक्र्स’ भन्दा माथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको हो । आयोजनाले सोही दिनदेखि नै सुरुङ बन्द गरी सुन्दरीजलबाट पानी खाली गर्न शुरु गरेको थियो । सुरुङ बन्द भएकाले त्यसमा बाढी पस्न नपाएको आयोजनाले जनाएको छ ।

आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरू, उपकरणहरू, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ । आयोजनाले कतिपय संरचना बाढीका कारण पुरिएकाले स्थलगत रूपमा हेरेर मात्रै त्यसमा कति क्षति पुगेको छ भन्ने थाहा पाउन सकिने जनाएको छ ।

आयोजनास्थलमा पुगेको क्षतिको स्थलगत रुपमा अनुगमन गर्न खानेपानी मन्त्रालयको टोली त्यसतर्फ जाने योजना बनाएको छ । शुक्रबार खानेपानी मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै बसन्तकुमार नेम्वाङले खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली संयुक्त रुपमा अनुगमन गर्नुपर्ने बताउनुभएको थियो ।