बाँकेको खजुरा गाउँपालिकाको युवालाई स्वरोजगार बनाउने अभियान शुरु

बाँकेको खजुरा गाउँपालिकाको युवालाई स्वरोजगार बनाउने अभियान शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राँझा, १४ असार । बाँकेको खजुरा गाउँपालिकाले यहाँका दुई सय युवालाई व्यवसायमा जोडेर स्वरोजगार बनाउने अभियान शुरु गरेको छ । अभियानअन्तर्गत युवालाई कृषि तथा पशु व्यवसायमा जोडेर स्वरोजगार बनाउन थालिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानअन्तर्गत आइतबार ४० युवालाई व्यवसाय सञ्ंचालनका लागि प्रतिव्यक्ति रु. ४० हजार अनुदान वितरण गरिएको छ । हेफर प्रोजेक्ट नेपालको सहकार्यमा गाउँपालिकाले ती युवालाई बाख्रा र बङ्गुर पालनका लागि उक्त रकम वितरण गरेको हो ।

व्यावसायिक योजना अनुरुप अगाडि बढेको खण्डमा उनीहरुलाई सहयोग रकम थप हुँदै जाने अध्यक्ष कक्षपतिले बताउनुभयो । तीन वर्षसम्म सञ्चालन हुने यो परियोजनाअन्तर्गत दुई सय युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको उहाँले बताउनुभयो । यस कार्यक्रमका लागि गाउँपालिकाले तीन वर्षमा रु. ५ करोड लगानी गर्नेछ । बाख्रा, बङ्गुर र ट्रकी पालनमा जोड दिएकोमा हाल बाख्रा र बङ्गुर पालनको मात्र माग भएको उहाँको भनाई । “चालू आर्थिक वर्षमा ४० जनालाई बाख्रा र बङ्गुर पालनका लागि रु ४० हजारका दरले सहयोग दिइएकोमा आगामी दिनमा दुईसय जनालाई विभिन्न व्यवसाय सञ्चालनका लागि सहयोग गरिनेछ”, अध्यक्ष कक्षपतिले भन्नुभयो, “निर्वाचित भएको चार वर्षमा १०१ बुँदे घोषणापत्रमा ६८ बुँदा पूरा भएको छ बाँकी आगामी आर्थिक वर्षमा पूरा हुनेछन् ।”

खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले उद्यमी बनाउने उद्देश्य अनुरुप युवालाई अनुदान दिइएकोले व्यवसायिक योजना बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो । योजना बिना कार्यक्रम सफल नहुने भएकाले व्यावसायिक योजनाका साथ अगाडि बढ्नसके परियोजनाको उद्देश्य पूर्ति हुने उहाँको भनाइ छ । स्थानीय नागरिक अगुवा भीम ओलीले सानो लगानीबाट अर्बपति भएका धेरै उदाहरण भएकाले रोजगारमा सहयोग पु¥याउन गरिएको यो सहयोगलाई भरपूर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । रासस

यो पनि – बुधबारदेखि भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ ।  विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भू–भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको बताउनुभयो । उहाँका अनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा गराउन सक्छ । यी क्षेत्रमा बाढी र पहिरोको सम्भावना रहेकाले त्यहीअनुरूप पूर्वतयारी गर्न पनि विभागले आग्रह गरेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा भने पानी परिरहेको जनाइएको छ ।