प्रधानमन्त्रीबाट ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान

प्रधानमन्त्रीबाट ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गर्नुभएको छ । जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले ती पुरस्कार प्रदान गर्नुभएको हो ।

कोभिड महामारीका क्रममा भेरी अस्पतालको आइसियुमा कार्यरत कालीकोटकी स्टाफ नर्स सुनिता सहकारी र नेपाल एम्बुलेन्स सर्भिस काठमाडौँमा कार्यरत एम्बुलेन्स चालक बमबहादुर गुरुङलाई जनही रु एक लाख राशिको सो पुरस्कार प्रदान गरिएको हो । कोभिड– १९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर अग्रपङ्क्तिमा रही कोभिडबाट सङ्क्रमित बिरामीको सेवामा दिनरात खटेर सेवा गरेका उनीहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै यो पुरस्कार प्रदान गरिएकोे फाउण्डेशनका सचिव पेम्बा लामाले बताउनुभयो । सो पुरस्कार चयनका लागि मानवअधिकारवादी सुशील प्याकुरेलका संयोजकत्वमा चयन समिति गठन गरिएको थियो ।

समाजमा सकारात्मक योगदान प्रदान गर्ने विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ यसअघि हास्य कलाकार महजोडी, शहीद पार्क–हेटौँडा, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, ‘धुर्मुस सुन्तली फाउण्डेशन’, प्राडा सुबोध शर्मालाई प्रदान गरिएको थियो ।

यसैगरी जन्मजयन्तीका अवसरमा ‘नेपालको संविधान र जननेता भण्डारी’ विषयमा आयोजित राष्ट्रव्यापी खुला निबन्ध प्रतियोगिताका विजयीलाई पनि पुरस्कृत गरियो । पुरस्कृत हुनेमा कास्कीका दुर्गा पौडेल (प्रथम), दोलखाका प्रकाश पकुवाल(द्वितीय) र दार्चुलाका वसन्तसिंह ठगुन्ना (तृतीय) हुनुहुन्छ । उहाँहरुलाई क्रमशः रु १५, १० र पाँच हजार राशिको पुरस्कार दिइयो । पुरस्कार छनोटका लागि स्रष्टा अनिल पौडेलेका संयोजकत्वमा समिति गठन गरिएको थियो । रासस

यो पनि – गाउँमा हात्ती पस्दा स्थानीयवासी त्रसित

झापा, १४ असार । भारतीय जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मेचीनगर नगरपालिका–३ की ५५ वर्षीया डुकीसरी मेचे गम्भीर घाइते हुनुभएको छ । घर नजीकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा हात्तीले आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको हो । खुट्टा र टाउकामा चोट लागेर घाइते बनेकी मेचेको विर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

गए राति बाहुनडाँगीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतबाट १६ हात्ती नेपाल छिरेको डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले बताउनुभयो । बाहुनडाँगी छिरेका १६ हात्तीमध्ये १४ मेचीनगर–३ स्थित बहुवन सामुदायिक वन क्षेत्रमा रहेका छन् । दुई मेचीनगर–२ स्थित देवीगञ्जमा हात्ती स्थानीयवासी हरि चम्लागार्इं र नरेन्द्र न्यौपानेको चिया बगानमा रहेका छन् ।

गाउँको बीचमा रहेको चिया बगानमा हात्ती छिरेपछि स्थानीयवासी त्रसित बनेका छन् । मानवीय क्षति हुन नदिनका लागि डिभिजन वन कार्यालयका सुवेदार रामप्रसाद यादवको नेतृत्वमा टोली खटाइएको छ । हात्तीलाई गाउँ पस्न नदिन वनको टोली, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गस्ती गरिरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार दिनभर चियाबगानमा रहेका हात्तीलाई साँझ परेपछि भारततिरै सुरक्षित तरिकाले लखेट्ने योजना छ । बाहुनडाँगीमा विगत एक महिनादेखि भारतबाट हूल बाँधेर आउने हात्तीले आतङ्क मच्चाउन थालेको स्थानीय हात्ती संरक्षणकर्मी शङ्कर लुइँटेलले बताउनुभयो ।

उहाँका अनुसार २०७२ सालमा विद्युतीय तारबार पूरा भएपछि बाहुनडाँगीमा भारतबाट हात्ती पस्न सकेका थिएनन् । गत जेठको अन्तिम सातादेखि दिनहुँ सयको सङ्ख्यामा हात्ती मेची नदी तरेर आएका छन् । उहाँले भन्नुभयो, “तारबार भत्काएर गाउँ पसेर मान्छेमाथि आक्रमण गर्न थालिसके, समयमै विद्युतीय घेराबारको मर्मतसम्भार नगर्ने हो भने फेरि विगतमा जस्तै हात्तीका कारण बाहुनडाँगीमा ठूलो धनजनको क्षति हुने सम्भावना बढेको छ ।” रासस