मुख्यमन्त्री राउतद्वारा हरित प्रदेश अभियान शुभारम्भः साढे १४ लाख बिरुवा रोपिँदै

मुख्यमन्त्री राउतद्वारा हरित प्रदेश अभियान शुभारम्भः साढे १४ लाख बिरुवा रोपिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १४ असार । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान—२०७८ को आज एक समारोहबीच शुभारम्भ गर्नुभएको छ । डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका—.४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले बरपिपलको बिरुवा रोपेर अभियानको शुभारम्भ गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरेलगतै प्रदेशको आठै जिल्लामा एक साथ वृक्षारोपणको शुरुवात भएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियानअन्तर्गत आठ वटै जिल्लाको कूल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ बिरुवा रोप्ने कार्यक्रम रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कडेलले जानकारी दिनुभयो । अभियानको शुभारम्भका लागि आठ वटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुग्नु भएको छ ।

सप्तरीमा समाजिक विकासमन्त्री नवलकिशोर साह, सिरहामा अर्थमन्त्री विजयकुमार यादव , महोत्तरीमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्रकुमार सिंह, रौतहटमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव तथा पर्सामा उर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले अभियानको शुभारम्भ गर्नुभएको छ । रासस

यो पनि पढ्नुहोस – सरकारी कार्यालय डुबानमा

जलेश्वर, १४ असार । आज बिहान परेको एक घण्टाको वर्षाले महोत्तरी सदरमुकाम जलेश्वरका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् ।

जलेश्वरमा नयाँ सडक बनाउने नाउँमा मूल सडकसहित नगरभरिको सडकहरु ३÷४ फिटसम्म खनेर शहर नै गहिरो बनाइ दिएपछि वर्षाको पानी जमेर जिल्ला अदालत, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा समन्वय इकाई, कृषि कार्यालय, पशु कार्यालयलगायत सरकारी कार्यालयहरु जलमग्न भएका छन् । आज बिहान नौ बजेदेखि १० बजेसम्म परेको मुसलेधार पानीका कारण सरकारी कार्यालय डुबानमा परेपछि सेवाग्राही र कर्मचारीलाई समेत आवतजावत गर्न समस्या भइरहेको छ ।

विगत एक वर्षदेखि जलेश्वर नगरपालिकामा सामान्य वर्षा हुँदा पनि सरकारी कार्यालयलगायत नगरक्षेत्रका मूल सडकसहित अधिकांश सडक जलमग्न हुने गरेका छन् । गहिरो स्थान र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि जनधनको क्षति कतै नभएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ रासस