आज बिहान परेको मुसलेधारे वर्षाले जनकपुरका अधिकांश स्थान डुबानमा

आज बिहान परेको मुसलेधारे वर्षाले जनकपुरका अधिकांश स्थान डुबानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १४ असार । आज बिहान परेको मुसलेधारे वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् । जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक लगायत स्थान जलमग्न छन् ।

एसियाली विकास बैंँकको आर्थिक एवम् प्राबिधिक सहयोगमा यहाँ एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ । परियोजनाले यहाँका सडक स्तरोन्नति गरिरहेको छ । ढल व्यवस्थापन नहुँदा नगरका अधिकांश क्षेत्र जलमग्न भएको बताइएको छ । ढुबान क्षेत्रमा धनजनको क्षति नभएको प्रहरीले जनाएको छ । रासस

यो पनि – सरकारी कार्यालय डुबानमा

जलेश्वर, १४ असार । आज बिहान परेको एक घण्टाको वर्षाले महोत्तरी सदरमुकाम जलेश्वरका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् ।

जलेश्वरमा नयाँ सडक बनाउने नाउँमा मूल सडकसहित नगरभरिको सडकहरु ३÷४ फिटसम्म खनेर शहर नै गहिरो बनाइ दिएपछि वर्षाको पानी जमेर जिल्ला अदालत, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा समन्वय इकाई, कृषि कार्यालय, पशु कार्यालयलगायत सरकारी कार्यालयहरु जलमग्न भएका छन् । आज बिहान नौ बजेदेखि १० बजेसम्म परेको मुसलेधार पानीका कारण सरकारी कार्यालय डुबानमा परेपछि सेवाग्राही र कर्मचारीलाई समेत आवतजावत गर्न समस्या भइरहेको छ ।

विगत एक वर्षदेखि जलेश्वर नगरपालिकामा सामान्य वर्षा हुँदा पनि सरकारी कार्यालयलगायत नगरक्षेत्रका मूल सडकसहित अधिकांश सडक जलमग्न हुने गरेका छन् । गहिरो स्थान र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि जनधनको क्षति कतै नभएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । रासस