प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट गर्नुभएको छ । जननेता मदनकुमार भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनद्वारा आज आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, “माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन् । अहिले धाक के लगाएर हिँडेका छन्– केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर । मलाई बहुला कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?” केही अघि विपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा नेता नेपालले आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आएको तर देउवालाई धोका नदिने जनाउनुभएको थियो ।
नेता नेपालले २०६३ सालमा हिमाल टाढाबाट देख्दा मात्रै राम्रो देखिन्छ भन्ने खालका मदन भण्डारीको अवमूल्यन गर्ने अभिव्यक्ति दिएको र आफूलाई आवश्यक पर्दा मात्र भण्डारीको नाम लिने गरेको अध्यक्ष ओलीले जनाउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “माधव नेपाललाई कानमा भजनको चिनी हालिदिएको मन पर्छ । कहिले शेरबहादुर देउवा र कहिले प्रचण्डले त्यस्तो चिनी हालि दिएका छन् ।” उहाँले नेता मण्डारी नामले नै एउटा विचार एउटा आन्दोलन, एउटा राजनीतिक हिसाबले सुसभ्य सुसंस्कृत विकसित राष्ट्र निर्माण गर्ने सहीप्रयासको संगम जनाउने धारणा राख्दै भण्डारीका विचारलाई कार्यान्वयन गर्नुपर्ने उत्तरदायित्व पूरा गर्न भने बाँकी नै रहेको बताउनुभयो ।
भण्डारी सही विचार चिन्तक हुनुका साथै तिनको कार्यान्वयनका लागि अगुवाइ र संगठित प्रयास गर्ने व्यक्ति भएको बताउनँदै त्यसैले केही वर्षअघि सञ्चारमाध्यमले गरेको सर्वेक्षणले २० औं शताब्दीको नेपाली राजनीतिलाई सबै भन्दा बढी प्रभावित गर्ने भण्डारी शताब्दी नायक भएको बताउनुभयो । रासस
यो पनि – जननेता भण्डारीले स्वार्थको किनबेच गर्नुभएन : प्रधानमन्त्री ओली –
प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीले राजनीतिक स्वार्थको व्यापार नगरी सिद्धान्तको पक्षपोषण गरेको बताउनुभएको छ । जननेता भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित विचार गोष्ठी तथा पुरस्कार कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका ओलीले अहिलेको राजनीतिमा स्वार्थको किनबेचको महत्व बढी हुन थालेको बताउँदै आफूहरु मदनको ‘जनताको बहुदलीय जनवाद’ को विचारको आधारलाई सम्मान गर्दै अघि बढ्ने जनाउनुभयो ।
उहाँले निहित स्वार्थका लागि आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गर्दै विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन मुद्धाममिलामा समेत धाउनेहरुले लोकतन्त्र र देशको स्थिरतालाई खतरामा पार्ने स्थिति आएको पनि बताउनुभयो । “उहाँहरु लोकतन्त्रका मूल्य मान्यता र दलीय व्यवस्थालाई सखाप पार्न अग्रसर हुनुहुन्छ, संसद्लाई जनताको काम गर्ने थलो नबनाई पङ्गु बनाएर विघटन गर्न प्रेरित गरेर निर्वाचन तय भएपछि निर्वाचनको विरोध गर्दै हुनुहुन्छ, प्रधानमन्त्री चयन गर्ने थलो अदालतलाई बनाउँदै हुनुहुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जननेता मदन भण्डारीको विचारसँग यी कामहरु कत्ति पनि मेल खाँदैनन्, आफ्नो पार्टी ध्वस्त गर्ने र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कसम खाएका माधवकुमार नेपाललगायतहरु विचारबाट पतित भएका छन् ।” प्रधानमन्त्री ओलीले संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) लाई संसदीय गतिविधिभन्दा अन्य काम (विपक्षी दल र नागरिक समाजको भेटघाट आदि) जस्ता गलत काममा प्रयोग गरिएकामा पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।
यो पनि – भोलि देखि उपत्यकाभित्र जोर बिजोरका आधारमा सार्वजनिक सवारीसाधन सञ्चालन गरिने –
मङ्गलबारदेखि काठमाडौँ उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीसाधन जोर बिजोर प्रणालीमा सञ्चालन गरिने भएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी सवारीसाधन सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यनिटाइजरको व्यवस्था हुनुपर्ने बताइएको छ ।
त्यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा सवारीसाधन निसङ्क्रमित गर्नुपर्नेछ । सवारीसाधन बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । निजी सवारीसाधन (कार जीप, भ्यान) मा बढीमा चार र ट्याक्सीको हकमा बढीमा तीनजना मात्रै सवार गर्न पाउने नियम छ । मोटरसाइकल÷स्कुटरसमेत जोर बिजोर प्रणाली लागू (जोर गते जोर नं र बिजोर गते बिजोर नं) चलाउन पाइने छ । स्वास्थ्यकर्मी, पशुस्वास्थ्यकर्मी, एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मतसम्भारका सवारी साधनले स्वास्थ्य मापदण्ड पालना गरी निर्बाध रुपमा सञ्चालन हुन पाउने बताइएको छ ।
अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मतसम्भार, स्वास्थ्य सम्बद्ध (औषधि, अक्सिजन सिलिण्डर), दूरसञ्चार इन्टरनेट मर्मत, कार्गाे, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापनसम्बन्धी ढुवानीका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी निर्बाध रुपमा सञ्चालन गर्न पाइने छ । विवाह तथा व्रतबन्धका हकमा आफ्नो घर वा बसेको स्थानमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी उपस्थित हुन पाइने छ ।
त्यस्तै यसका लागि दुई सवारीसाधन ब्यानरसहित आवतजावत गर्न दिने बताइएको छ । सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि मल, बीउबिजन, पशु चिकित्सकलगायत अत्यावश्यक सेवा प्रदायक सवारीसाधन निर्बाध रुपमा सञ्चालन हुन पाउनेछन् । तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ सामग्री, कुखुराको चल्ला र पशुपन्छीजन्य पदार्थ, भेटेरिनरीसम्बन्धी इन्धनलगायत बस्तु बिहान ९ः०० देखि ११ः०० र अपराह्न ४ः०० देखि ७ः०० बजेसम्म ढुवानी गर्न पाउने व्यवस्था मिलाइएको छ ।
सार्वजनिक तथा निजी निर्माणको कामका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ः०० देखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएको छ । पत्रकारलाई सूचना विभाग वा मिडिया हाउसले जारी पासका आधारमा आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको छ । रासस
प्रतिक्रिया