देशभर २७ प्रतिशत धान रोपाइँ सम्पन्न

देशभर २७ प्रतिशत धान रोपाइँ सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १५ सम्ममा देशभर २७ दशमलव १२ प्रतिशत क्षेत्रफलमा वर्षे धान रोपाइँ सम्पन्न भएको हो । सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेशमा छिटो रोपाइँं थालिने भएका कारण पनि सबैभन्दा बढी रोपाइँ सकिएको जानकारी दिनुभयो ।

प्रमुख श्रेष्ठका अनुसार प्रदेश नं १ मा दुई लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४९ हजार ६२३ हेक्टरमा धानबाली रोपिएको छ । यो धान रोपाइँ हुने कूल क्षेत्रफलमध्ये १७ दशमलव ९९ प्रतिशत रहेको छ । त्यस्तै प्रदेश नं २ मा १० दशमलव ५५ प्रतिशत मात्र रोपाइँ सकिएको छ । तीन लाख ६५ हजार ६१५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म यो प्रदेशमा ३८ हजार ५८६ हेक्टरमा मात्र धानबाली रोपाइँ सकिएको छ । वाग्मती प्रदेशको एक लाख १५ हजार २९५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २१ दशमलव ०७ अर्थात् २४ हजार २८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

यसैगरी गण्डकी प्रदेशमा १० लाख आठ हजार २७८ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १५ दशमलव ३४ प्रतिशत अर्थात् १६ हजार ६१२ हेक्टरमा, लुम्बिनी प्रदेशमा तीन लाख ३ हजार ५९३ हेक्टर क्षेत्रफलमध्ये ४५ दशमलव ९४ प्रतिशत अर्थात् एक लाख ३९ हजार ४५६ हेक्टर, कर्णाली प्रदेशमा ३८ हजार ३८५ हेक्टर क्षेत्रफलमध्ये ६२ प्रतिशत अर्थात् २३ हजार ८५० हेक्टर क्षेत्रफलमा र सुदूरपश्चिम प्रदेशमा एक लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफलमध्ये ४८ दशमलव ३१ प्रतिशत अर्थात् ७९ हजार ५४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष असार १५ गतेसम्म सातै प्रदेशमा ३५ दशमलव ४८ प्रतिशत धान रोपाइँ सकिएको थियो । सातै प्रदेशका १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये चार लाख ८६ हजार ६६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो । रासस

यो पनि – आज राष्ट्रिय धान दिवस : कृषिमन्त्री नेम्वाङले रोपे धान (फोटो सहित) – आज असार १५ । विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखिनै छ । धान मानिसको जन्म अघिदेखि मृत्यु पर्यन्तसम्म नभइ नहुने बाली हो । जीवन धान्ने आधार पनि धान नै हो । त्यसैले नेपाल मात्रै होइन दक्षिण एसियाली मुलुकमै धानको महत्व बढीछ ।

कोभिड–१९ सङ्क्रमणका कारण पछिल्लो दुई वर्षदेखि भने यो दिन निकै खल्लो रूपमा बितिरहेको छ । निजी क्षेत्रबाट र किसानले आफ्नै तरिकाले स्वतःफूर्त रूपमा हिलो खेलेर छिटफुट रूपमा मनाए पनि सरकारीस्तरबाट हुने कार्यक्रम भने औपचारिकतामा मात्रै सिमित छ । गत वर्ष पनि साङ्केतिक रूपमा मनाइएको यो यसपटक पनि त्यसैगरी मनाउनु परेको छ । कृषि विभागका निमित्त महानिर्देशक जानुका पण्डित, भन्नुहुन्छ, “धानको महत्व जोगाउन, किसानलाई प्रेरित गर्न, प्रचारप्रसार तथा परम्परालाई निरन्तरता दिनका लागि मात्रै आवश्यक स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दिवस मनाइएको हो ।”

 

१८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा आधुुनिक मेसिनबाट ललितपुरको खुमलटारमा मङ्गलबार धान रोप्दै कृषि तथा पशुुपन्छी विकासमन्त्री बसन्तकुुमार नेम्वाङ । धान रोपाइँ कार्यक्रम कृषि विभाग हरिहर भवन ललितपुुर, नेपाल कृषि अनुुसन्धान परिषद सिंहदरबार र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको संयुुक्त आयोजनामा भएको थियो । तस्बिर ः चन्द्रकला क्षेत्री÷रासस

राष्ट्रिय कार्यक्रमको रूपमा आज नेपाल कृषि अनुसन्धान परिषद्को खुमल्टार ललितपुरको फार्ममा स्वास्थ्य मापदण्डको पालना गरी दिवस समारोह भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री वसन्तकु्मार नेम्वाङले आज सांकेतिकरूपमा धान रोपेर यो दिवस औपचारिकता पूरा गर्नुभयो । उहाँले आधुनिक मेसिनबाट र परम्परागत रूपमा धान रोपेर दिवसको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।

कृषि कर्मलाई नियमित राख्न नसके निकट भविश्यमा खाद्य तथा पोषण असुरक्षा हुने भएकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ कृषिका गतिविधि नियमित गरिएको कृषि मनत्रालयले जनाएको छ । सरकारले धानबाली सुरक्षित गर्दै क्षेत्र विस्तार र उत्पादन वृद्धिका कार्यक्रम अघि सारेको छ । जमिनको सुरक्षा, शुद्ध बीउ, सिंचाइ कार्यक्रम, जातको विकास गरी धानमा आत्मनिर्भर बनाउने सरकारी लक्ष्य छ ।

 

कृषि विभाग हरिहरभवन ललितपुुर, नेपाल कृषि अनुुसन्धान परिषद सिंहदरबार र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको संयुुक्त आयोजनामा मङ्गलबार ललितपुरको खुमलटारमा आयोजित १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागी हुँदै कृषि तथा पशुुपन्छी विकासमन्त्री बसन्तकुुमार नेम्वाङ । तस्बिर ः चन्द्रकला क्षेत्री÷रासस

नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ । प्राप्त विवरणअनुसार अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत वृद्धि भएको छ । विभिन्न कारण मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ ।

समारोहमा मन्त्री नेम्वाङले खाद्य तथा पोषण सुरक्षाका लागि धान चामलको अति नै महत्व रहेको उल्लेख गर्दै यसको प्रवद्र्धन जरुरी रहेको औँल्याउनुभयो । उहाँले अनुसन्धान, यान्त्रिकरण र आधुनिकीकरणको माध्यामबाट धानको उत्पादकत्व वृद्धि गर्नतर्फ ध्यानाकर्षण गराउनुभयो । “धानको उत्पादन मात्रै होइन, बजारीकरण र भण्डारण व्यवस्थित गर्ने सवालमा सरकार नीतिगत व्यवस्था गर्न लागिरहेको छ, यसको समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ”, मन्त्री नेम्वाङले भन्नुभयो ।

उहाँले ‘कोही भोको रहँदैन, भोकले कोही मर्दैन’ भन्ने सरकारी सङ्कल्प साकार पार्न पनि कृषि क्षेत्रको विकास जरुरी रहेको बताउनुभयो । विकासको गतिमा अग्रसर भएको मुलुकलाई समृद्ध बनाउने भरपर्दाे आधार समेत कृषि नै भएको उहाँको भनाइ थियो ।मन्त्रालयका अनुसार यसपाली सकेसम्म सरकारी फार्म भित्रै सिमित गरेर दिवस मनाउन जिल्लामा समेत निर्देशन गरिएको छ । यसपटकको दिवसको नारा ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने रहेको छ । दिवसमा साँस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने) कार्यक्रममा रोक लगाइएको छ । मापदण्ड नै तयार पारी दिवस मनाउन थालिएको छ ।

ललितपुरको खुुमलटारमा १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा आधुुनिक कृषि सामग्रीको अवलोकन गर्दै कृषि तथा पशुुपन्छी विकासमन्त्री बसन्तकुुमार नेम्वाङ । तस्बिर ः चन्द्रकला क्षेत्री÷रासस

दिवस समारोहमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि सचिव डा योगेन्द्रकुमार कार्कीले किसानको घरदैलोमा अनुसन्धान पु¥याउन नसके धानको उत्पादन बढाउन चुनौती हुने जिकिर गर्नुभयो । “प्राङ्गारिक र रसायनिक मलको समन्वय जरुरी छ”, कार्कीले भन्नुभयो, “विगतमा मलको हाहाकार भएकाले पहिलो पटक उत्तरी नाकाबाट मल ल्याउन सफल भइएको छ, यसपाली मलमा समस्या भएन, अब सरकारले नेपालमै मल उत्पादन गर्ने योजना अघि बढाएकाले पनि समसया हट्ने आशा गर्न सकिन्छ ।”

मुलुकमा अहिले एक करोड १६ लाख मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । नेपामला ९६ लाख खाद्यान्न भयो भने पुग्छ तर वार्षिक ४० अर्ब बढीको चामल आयात भइरहेको छ । मानिसको खाने संस्कृति परिवर्तन भएकाले यस्तो भएको कृषि विज्ञको भनाइ छ । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओली, जन्मनु अघिदेखि मृत्युपर्यन्तसम्म धानको प्रयोग हुने मुलुकमा अनुसन्धान गरी नयाँ हाइब्रिड धानको विकास जरुरी रहेको औँल्याउनुहुन्छ । उहाँले जलवायु परिवर्तन भइरहेकाले त्यसको प्रभावको आधारमा जातको विकास गरी अर्गानिक उत्पादनलाई समेत प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष डा प्रेमप्रसाद दङ्गाल खाद्य संस्ककृति परिवर्तत र मानिसमा भात खाने प्रवृत्तिका कारण मुलुकको उत्पादन भन्दा मसिनो र वास्मतीको रोजाई बढेको हो भन्नुहुन्छ । उहाँले प्रविधिलाई किसानको घरघरमा पु¥याउन नसके धान उत्पादन वृद्धि हुन नसक्ने जिकिर गर्नुहुन्छ ।

नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारी मसिनो धानको आयात वृद्धि भइरहेको अवस्थामा त्यसलाई रोक्नका लागि हाईब्रिड जातको विकास जरुरी रहेको र परिषद् त्यसतर्फ अघि बढिरहेको छ भन्नुहुन्छ । उहाँले हालैमात्र हर्दिनाथ हाइब्रिड निकालेकाले त्यो धान लगाउन किसानलाई सुझावसमेत दिनु भएको छ । रासस