काठमाडौँ, १५ असार । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागे पनि लघुवित्त उपसमूहका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बजारमा आज तीव्र उतारचढावका भई अधिकांश उपसमूहको शेयर मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लघुवित्त उपसमूहको शेयर २६.४ बिन्दुले उकालो लागेको छ । नेप्से भने ४७.४९ बिन्दुले घटेर दुई हजार ८२८मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.८७ बिन्दुले घटेर ५२३.७० मा सिमित भयो । कूल २२३ कम्पनीको एक करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर रु छ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका १३ उपसमूहमध्ये लघुवित्त उपसमूहको मात्रै शेयर उकालो लागेको हो । बैंकिङ २६.४४, व्यापार ४७.५३, होटल तथा पर्यटन १.३२, विकास बैंक १६७.१३, जलविद्युत् ७६.०३, वित्त ८७.६१, निर्जीवन बीमा २५१.५३, उत्पादन ३४.९८, अन्य ५१.३३, जीवन बीमा १६५.९८, सामूहिक लगानी कोष ०.०७ र लगानी ३.८४ ले घट्दा लघुवित्त उपसमूह भने २६.४ बिन्दुले उकालो लाग्यो ।
कारोवारका आधारमा राधी विद्युत् कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता रु ७९० मा रु ४९ करोड ८३ लाख २५ हजार ९५० बराबरको कारोवार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु ३६ करोड ७८ लाख ५० हजार ५०, एचआइडिसिएल रु २९ करोड ६७ लाख ५२ हजार ७४४, नेपाल इन्स्योरेन्स कम्पनी रु २३ करोड ९९ लाख ६८ हजार ३६० र नेपाल पुनरबीमा कम्पनी रु १६ करोड ५३ लाख ९९ हजार ६०७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
ओरियण्टल होटल ५.७६, गुराँस लघुवित्त ४.२५, सामुदायिक लघुवित्त ३.६६, तारागाँउ रिजेन्सी होटल २.८४ र सिभिल लघुवित्तका लगानीकर्ताले २.७४ प्रतिशतले कमाए । त्यस्तै, प्रोगेसिभ फाइनान्स ८.५५, एचआइडिसिएल ८.०७, वेष्ट फाइनान्स कम्पनी ८.०१, श्री इन्भेष्टमेन्ट फाइनान्स ७.१८ र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ६.९० प्रतिशतले गुमाए । रासस
यो पनि- कालिकोटमा चिस्यान केन्द्र
मान्म, १५ असार । कालिकोटको खाँडाचक्र नगरपालिका–१ को मान्ममा फलफूल तथा तरकारी चिस्याउन चिस्यान केन्द्र सञ्चालनमा आएको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटको अनुदानमा हिमचुली कृषि सहकारी संस्था र जेकेतरकारी तथा फलफूल केन्द्र खाँडाचक्र कालिकोटको संयुक्त साझेदारीमा चिस्यान केन्द्र सञ्चालनमा आएको हो ।
विषेश गरेर कालिकोटमा पाइने स्याउ र तरकारी चिस्याउनका लागि केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ । कृषि विकास कार्यालय कालिकोटको रु ४० लाख (५० प्रतिशत) अनुदान उपलब्ध गराएको र हिमचुली कृषि सहकारी संस्था र जेके तरकारी तथा फलफूल केन्द्रको रु ४० लाख (५० प्रतिशत) रकममा चिस्यान केन्द्रको निर्माण गरिएको कृषि विकास कार्यालयका प्रमुख भरत बस्नेतले बताउनुभयो । “कार्यालय र सहकारीको बराबरी साझेदारीमा चिस्यान केन्द्र निर्माण गरिएको हो”, उहाँले भन्नुभयो ।”
जिल्लामा उत्पादन हुने मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल समयमा बिक्री नहुँदा कुहिएर खेर जाने गरेकामा अबका दिनमा लामो समयसम्म चिस्यान केन्द्रमा भण्डारण गर्न सजिलो हुने प्रमुख बस्नेतले बताउनुभयो । “बेमौसमी तरकारी तथा फलफूल समयमा बिक्री नहुँदा कुहिएर खेर जाने गरेको थियो”, उहाँले भन्नुभयो, “अब यहाँ भण्डारण भएपछि लामो समयपछि पनि बिक्री गर्न पाइन्छ ।”
कालिकोटमा उत्पादन हुने स्याउ, सुन्तला, तरकारीजस्ता वस्तु बेमौसममा पनि बिक्री वितरण गर्न सकिने जिल्लामा पहिलो पटक चिस्यान केन्द्र सञ्चालन आएको प्रमुख बस्नेतले जानकारी दिनुभयो । कालिकोटमा विद्युत् पुगिसकेकाले चिस्यान केन्द्र सञ्चालनमा ल्याउन सहज हुने जेके फलफूल तथा तरकारी सङ्कलन केन्द्रका सञ्चालक युवराज थापाले बताउनुभयो । “कालिकोटमा विद्युत् लाइन नहुँदा बेमौसमी तरकारी तथा फलफूल भण्डारण गर्नका लागि अप्ठ्यारो थियो । समयमा बिक्री नहुँदा किसान मारमा पर्ने गरेका थिए”, उहाँले भन्नुभयो, “कोल्डस्टोर सञ्चालनमा आएपछि तरकारी तथा फलफूल खेर जाने छैन ।” रासस
प्रतिक्रिया