उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन : बैतडीमा पाँचौँपटक निषेधाज्ञा थप

उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन : बैतडीमा पाँचौँपटक निषेधाज्ञा थप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असार । दुई महिनापछि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन हुन थालेको छ । वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक यातायात बन्द भएको थियो ।
काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबारको बैठकले आजदेखि जोर बिजोर प्रणालीमा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । निर्णयबमोजिम आज उपत्यकामा बिजोर नम्बरका सवारी सञ्चालन भएसँगै चहलपहल केही बढेको छ

निषेधाज्ञा जारी भएसँगै उपत्यकाबाहिर गएका यातायात मजदूरका कारण सबै यातायात भने चल्न सकेका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने २५ भन्दा बढी सिट क्षमताका जोर बिजोर प्रणालीबाट सवारी चलाउँदा भीड बढेर कोरोना सङ्क्रमण बढ्ने खतरा रहेको भन्दै सबै यातायात खुला गरिनुपर्ने माग गरेको छ । दुई महिनादेखि यातायात सञ्चालन बन्द हुँदा सबै मजदूरलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या रहेको भन्दै महासङ्घले उपत्यका बाहिरका सवारी पनि खुलाउनुपर्ने माग गरेको हो ।

महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य सोमबारको निर्णयले विभेद गरेको भन्दै यसलाई सच्याउन माग गरिएको बताउनुहुन्छ । विसं २०६९ देखि नै सार्वजनिक यातायातको भाडा नबढाइएकाले भाडा समायोजन गर्नसमेत महासङ्घले माग गर्दै आएको छ । डिजेलको भाउ रु ९५ हुँदा तोकिएको भाडा भाउ बढेर रु १०९ पुग्दासमेत समायोजन हुन नसकेकाले यससम्बन्धी गृहकार्य थाल्न आग्रह गरिएको उहाँले सुनाउनुभयो । रासस

बैतडी जिल्लामा पाँचौँपटक निषेधाज्ञा थप- 

बैतडी, १५ असार । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पाँचौँपटक निषेधाज्ञा थप गरिएको छ । मङ्गलबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयले यही असार मसान्तसम्म कायम रहने गरी निषेधाज्ञा जारी गर्नु भएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, कोभिड–१९ को सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर असार ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।कोरोना भाइरसको सङ्क्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले केही खुकुलो गर्दै असार ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । चौथोपटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेपछि सकिंदैछ ।

निषेधाज्ञा खुकुलो भएसँगै बुधबारदेखि जिल्लाभरि सार्वजनिक सवारी तथा निजी भाडाका गाडी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी सञ्चालनमा आउने भएका छन् । सार्वजनिक, निजी र भाडाका गाडीमा सिट क्षमताभन्दा आधा यात्रु बोकेर बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ ।

सबै कार्यालयले सार्वजनिक सेवा नियमितरुपमा प्रवाह गर्नुपर्नेछ भने सार्वजनिक सेवा प्रवाह गर्दा स्थानीय तहको आलोपालो मिलाई तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । सबै प्रकारका पसल बिहान ७ देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन् । होटेल तथा रेष्टुराँले ‘होम–डेलीभरी’ तथा ‘टेक–वे’ सेवा सञ्चालन गर्न सक्नेछन् । यस्तै सबै प्रकारका सभा, सम्मेलन र गोष्ठीमा लगाएको रोक यथावत राखिएको छ भने विवाह ब्रतबन्धजस्ता धार्मिक कार्यमा बढीमा १० जना सहभागी गराएर मात्रै गर्न पाइने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । भोज भतेर भने पूर्णरुपमा वन्देज गरिएको छ ।

निषेधाज्ञाको समयमा कसैले कालोबजारी गरेको, कृत्रिम अभाव सिर्जना गरेको, मूल्य बढाएको पाइएमा कानूनअनुसार कारवाही हुने आदेशमा उल्लेख गरिएको छ । यसका साथै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनसमेत आग्रह गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा पहिलोपटक गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । वैशाख २० देखि शुरु भएको निषेधाज्ञा जेठ २ गतेसम्म, जेठ ३ देखि १७ सम्म र जेठ १८ देखि जेठ ३१ र असार १ गतेदेखि असार १५ गतेसम्म निषेधाज्ञा थपिएको थियो । कोरोनाकै कारण जिल्लामा हालसम्म १८ जनाको मृत्यु भएको छ । रासस