प्रधानमन्त्री बनाउने विशुद्ध राजनीतिक प्रश्न होः नायब महान्यायाधिवक्ता कोइराला

प्रधानमन्त्री बनाउने विशुद्ध राजनीतिक प्रश्न होः नायब महान्यायाधिवक्ता कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असार । नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले प्रधानमन्त्री कसलाई बनाउने भन्ने विशुद्ध राजनीतिक विषय भएकाले अदालतमा प्रवेश गर्न नहुने तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाआनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सुनुवाइका क्रममा सरकारी पक्षबाट आज बहस गर्दै उहाँले फलानो व्यक्तिलाई प्रधानमन्त्री बनाऊ भनेर अदालतले भन्न नसक्ने जनाउनुभयो ।

कोइरालाले भन्नुभयो, “देउवालाई प्रधानमन्त्री बनाउन आदेश माग भएअनुसार अदालतले आदेश जारी गर्न मिल्दैन ।” राजनीतिक दलबाट निर्वाचित भएर आएका सांसद दलबाट स्वतन्त्र हुन नसक्ने तर्क गर्दै उहाँले प्रधानमन्त्री चयन गर्ने राजनीतिक विषयमा रिट जारी हुने आधार नभएको जिकिर गर्नुभयो । अर्का नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले निर्वाचन जितेर आएका सांसदले राजनीतिक दलको विधान संविधान मान्नुपर्ने र कानून विपरीत दलको ह्विप उल्लङ्घन गर्न नहुने तर्क गर्नुभयो । “राष्ट्रपतिले काम गर्दा आफ्नो स्वविवेक प्रयोग गर्ने अधिकार हुन्छ कि हुँदैन”, उहाँले भन्नुभयो,“संवैधानिक व्यवस्थाअनुसार विघटनको सिफारिश गर्नुभएको छ, स्थायी शान्ति र दिगो विकासका कुराहरु बिग्रन नदिन राष्ट्रपतिबाट यस्तो निर्णय भएको छ ।”

नायब महान्यायाधिवक्ता श्यामकुमार भट्टराईले राष्ट्रपतिले संविधानको दायित्व पूरा गर्नुभएको तर्क गर्दै प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानका लागि मितिसमेत तोक्नुभएकाले सोहीअनुसार जानु उचित हुने जिकिर गर्नुभयो । बुधबार सरकारी पक्षकै तर्फबाट छ जनाले बहस गर्नुहुनेछ । रासस

यो पनि – वाग्मती प्रदेशसभाको बैठक असार १७ गते

मकवानपुर, १५ असार । वाग्मती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ । सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८÷०७९ को बिनियोजित बजेट ,राजश्व र आयव्यय माथि छलफल हुने बताइएको छ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक यही असार १७ गते दिनको ३ बजे तय भएको जानकारी दिनुभो । उहाँले बुधबार विहान ११ वजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने बताउनुभयो । प्रदेशसभाको यही असार २ गते बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजश्व सङ्कलन, आय–व्यायको प्रस्ताव छलफलको लागि टेबुल गर्नुभएको थियो । रासस