गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्र्दै उहाँले प्रदेश सरकारले जग्गा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता दिइ व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो । “कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण मार्फत् उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसर सिर्जना तथा खाद्य सुरक्षा र नागरिकको स्वास्थ्यको प्रत्याभूति गर्ने नीति प्रदेश सरकारको छ”, सन्देशमा भनिएको छ ।हिलो खेल्ने, रोपाइँ गर्ने र दहीच्यूरा खाने दिनका रुपमा असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
यो पनि – कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुन्छ : सहमहामन्त्री डा महत – नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । लोकतन्त्रका लागि हाम्रो अभियानले सोमबार ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक कर्णाली प्रदेशस्तरीय भर्चुअल अन्तरक्रियामा उहाँले कांग्रेसको स्थापना लोकतन्त्रको रक्षाका लागि भएको बताउनुभयो । “संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्ने पार्टीले किन निर्वाचनमा कम भोट ल्यायो यसको बारेमा पार्टीभित्र समीक्षा हुनुपर्छ”, उहाँले भन्नुभयो । पार्टीले मुलुक र जनताका लागि गरेको कामको बारेमा प्रचारप्रसार गर्नु जरुरी रहेको उहाँको भनाइ थियो ।
सहमहामन्त्री डा महतले कांग्रेसभित्र पार्टीभन्दा व्यक्ति बलियो भएको बताउनुभयो । उहाँले संविधान र कानूनको परिपालना गर्ने पार्टी कांग्रेसले कोरोना महामारी र बाढी पहिरोको चुनौतीबीच समयमा नै महाधिवेशन सम्पन्न गर्ने स्पष्ट पार्नुभयो । पार्टीभित्र सङ्गठन गर्ने शैलीमा आमूल परिवर्तन ल्याउन जरुरी रहेको उहाँको भनाइ थियो । सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको उहाँले बताउनुभयो । कांग्रेस नेता एवं संविधानसभा सदस्य राजीवविक्रम शाहीले पार्टीभित्र भएको गुट उपगुट अन्त्य नभएसम्म कांग्रेस बलियो नहुने बताउनुभयो । कार्यक्रममा कर्णाली प्रदेशका कांग्रेस जिल्ला सभापति र प्रदेशसभा सदस्यहरू सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रमका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले लोकतन्त्रको रक्षा गर्दै पार्टीलाई बलियो बनाउनका लागि आफूले उक्त अभियान सञ्चालन गरेको बताउनुभयो । यसअघि यस्तो अभियान प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ । आगामी दिनमा सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरिने उहाँले बताउनुभयो । रासस
यो पनि – महाधिवेशन नजिकिदै गर्दा नेताहरु निधि, सिंह र कोइरालाको सक्रियता बढ्दो – काठमाडौँ, १५ असार। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा सशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच आज पार्टीको १४ औँ महाधिवेशन केन्द्रित विषयमा छलफल भएको छ ।
नेता सिंहको निवास चाक्सिबारी ठमेलमा भएको भेटवार्तामा उहाँहरुबीचको छलफलको दायरालाई फराकिलो बनाउँदै जाने सहमति भएको नेता सिंहले जानकारी दिनुभयो । यस अघि तीनै नेताबीच उपसभापति निधि र महामन्त्री कोइराला निवासमा पनि छुट्टाछुट्टै भेटवार्ता र महाधिवेशन केन्द्रित विषयमा छलफल भएको थियो ।
आगामी शुक्रबार महामन्त्री सशाङ्क कोईराला निवास टोखामा पार्टीको १३ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी बाहेक केन्द्रीय कार्यसमितिका सबै सदस्यहरुसँग छलफल गर्ने र त्यसपछि दोस्रो चरणमा सभापतिका प्रयासी नेताहरुसँग पनि छलफल गर्ने नेता सिंहले बताउनुभयो । साथै महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गराउन दबाब दिने, क्रियाशील सदस्यता वितरणलाई पारदर्शी र व्यस्थित बनाउन तथा पार्टीको समायोजन प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेलगायत विषयमा सहमति भएको उहाँले बताउनुभयो । नेताहरु कोइराला, सिंह र निधि कांग्रेसका संस्थापक नेतात्रय क्रमशः विपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्र हुनुहुन्छ ।
महाधिवेशन मिति नजिकिदै गर्दा नेतृत्वमा कसरत सुरु
महाधिवेशनको मिति नजिकिदै गर्दा पार्टीका विभिन्न समूहबीच भावी नेतृत्वका लागि कसरत शुरु भएको छ । सोही क्रममा यही असार ११ गते कांग्रेस वरिष्ठ नेता रामचन्द्र पोडेलले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसँग छलफल गरी आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । सोमबार पनि नेतृ सुजाता कोइराला निवास मण्डिखाटारमा वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ कोइरालाबीच महाधिवेशनलगायत विषयमा छलफल भएको थियो । वरिष्ठ नेता पौडेल र नेता सिटौला १३ औँ महाधिवेशनमा पार्टी सभापतिका उम्मेदवार हुनुहुन्थ्यो ।
यही असार ४ गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । सो निर्णयपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उम्मेदवारी दिने तयारीका साथ आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग चरणबद्ध रुपमा छलफल शुरु गरिसक्नु भएको छ ।संशोधित कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ । त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० गतेभित्र र क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ । रासस
प्रतिक्रिया