नेपाल कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य गर्न तयार

नेपाल कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य गर्न तयार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, १६ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग मङ्गलबार पोखरामा भएको भेटमा उहाँले गण्डकी प्रदेश सरकारले युवा किसानलाई तालिमका लागि इजरायलमा पठाउँदै आएको र आगामी वर्षमा समेत यो कार्यक्रमले निरन्तरता पाउने बताउनुभयो ।

नेपाल र इजरायलबीच ६० वर्ष लामो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको पहलमा उक्त सम्बन्ध स्थापित भएको स्मरण गर्नुभयो । इजरायलबाट दक्ष जनशक्ति नेपालमा ल्याएर सहकारी प्रवद्र्धनका लागि समेत बिपी कोइरालाले पहल गरेको बताउँदै उहाँले दुई देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेकामा जोड दिनुभयो ।राजदूत गोडेरले नेपाल र इजरायलबीच अति प्रगाढ सम्बन्ध रहेको बताउँदै आगामी दिनमा अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गर्नुभयो ।

दुवै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको उहाँले बताउनुभयो । अहिले सातै प्रदेशबाट ५०० को हाराहारीमा युवा किसान तालिमका लागि इजरायलमा छन् । सो अवसरमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले र प्रदेशका निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले नेपाल–इजरायलबीचको लामो समयदेखिको सम्बन्ध र सहकार्यका बारेमा धारणा राख्नुभएको थियो । रासस

यो पनि- मन्त्रीको असार १५ ज्येष्ठ नागरिकसँग

कर्णाली, १६ असार । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ ज्येष्ठ नागरिकसँग मनाउनुभएको छ । सुर्खेत वीरेन्द्रनगरमा रहेको प्रशान्ति वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकसँग मन्त्री बुढाक्षेत्रीले असार १५ मनाउनुभएको हो । उहाँले आश्रममा रहेका २४ ज्येष्ठ नागरिकसँग दही, चिउरा खानुका साथै उहाँहरूलाई फलफूल वितरण गर्नुभएको छ । मन्त्री बुढाक्षेत्रीले नागरिकलाई सम्मानपूर्वक जीवनयापनको वातावरण बनाउने दायित्व सबैमा हुनुपर्नेमा जोड दिनुभयो ।

“मानव जीवनमा सबैले एकपटक बूढो हुनैपर्छ, यद्यपि बूढो अवस्थामा घरबाट निकाला गर्ने प्रथाले कतिपय ज्येष्ठ नागरिकले दुःख पाउनुपरेको छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थाको अन्त्य गर्ने दायित्व राज्यका सबै नागरिकको हो ।” उहाँले दुःखमा परेकालाई प्रशान्तिले आश्रय दिई पालनपोषण गरेको जनाउँदै खुशी व्यक्त गर्नुभयो ।

वृद्धाश्रमले असहाय र आफ्नैबाट हेपिएका ज्येष्ठ नागरिक राखेर पुण्यको काम गरेको भन्दै उक्त आश्रमलाई मन्त्रालयले आवश्यक सहयोग गर्ने मन्त्री बुढाक्षेत्रीको भनाइ थियो । नेपालका विभिन्न जिल्लाबाट आश्रय लिइरहे पनि भवन र संस्था व्यवस्थापनका लागि आर्थिक अभाव भएको संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । रासस