पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिराले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–४ थर्पुमा लेदो माटो खसेर आज बिहानदेखि अवरुद्ध भएको सडक बिहान ८ः०० बजेदेखि पुनः सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदो माटोसहितको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालन भएको प्रहरी चौकी थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो । लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेको थियो ।

सोमबार रातिदेखि परेको वर्षाका कारण म्याग्देका केही ठाउँ डुबानमा परेका छन् । जिल्ला प्रशासनले कार्यालयले आजदेखि तीन दिन भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरेको छ । अहिलेसम्म जिल्लामा वर्षाका कारण क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो पनि -पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध – आज बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सो सडकखण्ड अवरुद्ध बनेको हो । सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लगातार वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या उत्पन्न भएकोले मौसममा सुधार आउने वित्तिकै सडक खुलाएर यातायात सञ्चालन गर्नका लागि प्राविधिकलाई खटाइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताउनुभयो । उहाँका अनुसार हेटौँडा भीमफेदी सडकखण्डको पान्द्राङमा आज बिहान गएको पहिरोलाई हटाएर हेटौँडातर्फको यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ । त्रिभुवन राजपथ र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा रहेको प्रवक्ता रिमालको भनाइ छ । रासस

यो पनि – बाढीपहिरामा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने – नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरामा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट रु २५ हजार सहयोग गर्ने जानकारी दिएको हो । समन्वय समितिका संयोजक एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विसं २०७८ को शुरुदेखि बाढी र पहिराका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई थोरै भए पनि मानवीय सहयोगको हिसाबले उक्त रकम सहयोग गर्न लागेको जानकारी दिनुभयो । मृतकका परिवारले उक्त राहत रकम प्राप्त गर्न मृतकको सनाखत सम्बन्धित निकायबाट हुनुपर्ने सो समितिले जनाएको छ । यही असार २ गतेको बाढीपहिराका कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको थियो ।

यसैबीच हेलम्बु–मेलम्ची बाढीपहिराबाट ज्यान गुमाएका मृतकका परिवार, घरवारविहीन नागरिक र मेलम्ची नगरपालिकाको विपद् कोषमा जापानमा रहेका नेपालीले र दुई लाख ५५ हजार सहयोग गरेका छन् । इन्द्रावती गाउँपालिका स्थायी घर भई अध्ययनका क्रममा जापानमा रहेका विनोद तामाङको नेतृत्वमा ४४ नेपालीबाट सङ्कलित राहत रकम हस्तान्तरण गरिएको छ ।

हेलम्बु गाउँपालिका चनौटे रातोपुलमा भेला भएका मृतक परिवारका नौ जनालाई जनही रु १० हजार, पूर्णरूपमा घरवारविहीन भएका १० परिवारलाई जनही रु सात हजार, पाँच घरपरिवारलाई जनही पाँच हजार तथा पूर्णरूपमा क्षति भएको ग्याल्थुमस्थित इष्ट प्वाइण्ट एकेडेमीलाई रु १५ हजार गरी हेलम्बु गाउँपालिकामा रु दुई लाख र मेलम्ची नगरपालिकाको विपद् कोषमा रु ५५ हजार नगद हस्तान्तरण गरिएको हो ।

उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसे, पत्रकार महासङ्घ सिन्धुपाल्चोकका सहसचिव केदार माझी, विद्यार्थी नेता तोकबहादुर तामाङ, क्षितिज तामाङलगायतको उपस्थिति र स्थानीय समाजसेवी लेकाली काका र विश्वराम गुरागाईँको रोहवरमा समाजसेवी आइमान तामाङले सङ्कलित रकम हस्तान्तरण गर्नुभएको हो । रासस