अघिल्लो वर्षभन्दा यसबर्ष दोब्बर रोपाइँ

अघिल्लो वर्षभन्दा यसबर्ष दोब्बर रोपाइँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अघिल्लो वर्ष असार १५ गतेसम्म न्यून रूपमा किसानले रोपाइँ गरेका भए पनि यस वर्ष दोब्बर रोपाइँ गरी भ्याएका छन् । दैलेखमा अधिकांश धानखेती गरिने जमीनमा सिँचाइको अभाव हुँदा गत वर्ष आकासेभरमा साउन अन्तिमसम्म रोपाइँ गर्नुपर्ने किसानलाई बाध्यता रहिआएको थियो । गत वर्ष दैलेखमा असार १५ गतेसम्म करीब ३५ प्रतिशतमात्र किसानले रोपाइँ गरे पनि यस वर्ष दोब्बर करीब ७० प्रतिशत रोपाइँ गरिसकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिनुभयो । समयमै मनसुन भित्रिएसँगै पानी निरन्तर पर्दा किसानले रोपाइँ छिट्टै गर्न भ्याएको उहाँको भनाइ छ । आकासेभरमा बीउ राख्ने र साउन अन्तिममा हुने रोपाइँ पनि यस पटक पानी समयमै परेका कारण किसानले रोपाइँ गर्न सफल भएका उहाँले बताउनुभयो ।

जहिले पनि साउन २७ गते रोपिने खेत यस वर्ष असार १३ मै गर्न सफल भएको किसान वीरबहादुर गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो बाजेको पालादेखि त्यही दिन रोपाइँ गर्ने नियम र पालो थियो तर यस वर्ष असारमै रोपाइँ गर्न पाउँदा खुशी भएको छु ।” उहाँको मात्र होइन अहिले साउन अन्तिममा गरिने रोपाइँ असारमा गर्ने धेरै किसान छन् । दैलेखमा छ हजार ५१७ हेक्टर जमीनमा धानखेती गरिने पाण्डेले बताउनुभयो । रासस

यो पनि – केरा खेतीको पकेट क्षेत्र बनाइयो –

रघुगङ्गा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्र बनाइएको छ । स्थानीय बासिन्दाले परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यावसायिक केरा खेती गरेका हुन् । गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत ३५ कृषकले व्यावसायिक रुपमा केरा खेती गरेका छन् । केरा पकेट विकास कार्यक्रमका सदस्य मुक्ति सुवेदीले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजीक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीको लहर चलेको बताउनुभयो । “धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार÷पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “भूगोल र हावापानी अनुकूल भएकाले केरा खेतीमा लागेका हौँ ।” सो क्षेत्रमा यसअघि घरायसी प्रयोजनका लागि केरा खेती हँुदै आएको थियो ।

परीक्षणका लागि केही कृषकले धेरै सङ्ख्यामा लगाएको केराले उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि खेरा खेती गरिएको छ । यसअघि रघुगङ्गा वडा नं २ र ३ मा केरा खेती गर्ने कृषकका दुई समूह थिए । दुईवटै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम शुरु गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताउनुभयो । चालु आवमा गाउँपालिकाले रु सात लाख ५० हजार विनियोजन गरेको केरा पकेट कार्यक्रमलाई कृषकले पनि त्यति नै लगानी साझेदारी गरेका छन् ।

“एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ”, सुवेदीले भन्नुभयो, “कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौँ ।” सिँचाइका लागि एक हजार पाँच सय मिटर पाइप खरीद गरेका समूहले पाँच हजार छ सय नयाँ केराका बिरुवा रोपेका छन् । दुई खाडल खन्ने उपकरण र पाँच यान्त्रिक हलोका साथै गोठेमल, रासायनिक मल, केराको बीउ खरीदमा अनुदान दिइएको छ । एक कृषकले एक सय देखि पाँच सय केराका बिरुवा रोपेका छन् । कृषकको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि राममन्दिरलाई केरा खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको वडा नं २ का वडाध्यक्ष रीम कटुवालले बताउनुभयो । रासस