कृषि विकासका लागि नवीकरणीय ऊर्जाको प्रयोगमा जोड

कृषि विकासका लागि नवीकरणीय ऊर्जाको प्रयोगमा जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खाद्य पदार्थको उत्पादन बढाउन व्यवसायीकरण, यान्त्रीकीकरण, भण्डारण र बजार व्यवस्थापन गरिनु पर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिएका छन् । कृषि क्षेत्रमा संलग्न जनशक्तिको अधिकतम् उपयोगका लागि सीप विकास, सहज लगानीका लागि ऋण र अनुदान व्यवस्था गर्न सकिएमा खाद्य उत्पादन वृद्धि हुनुका साथै किसानको जीवनस्तर अभिवृद्धि हुन सक्ने उहाँहरुको ठम्याइ छ । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले राष्ट्रिय धान दिवसका अवसरमा आयोजना गरेको वेबिनारमा रासायनिक मलको निर्भरतालाई कम गर्न र दिगो उत्पादकत्व बढाउन भान्छाबाट निस्कने फोहरमैला र वायोग्यास प्लान्टबाट निस्कने जैविक मललाई प्रयोग गर्न सकिने र सिँचाइ सुविधा पुग्न नसकेका ठाउँमा सौर्य पम्पबाट सिँचाइ गरी उत्पादन बढाउन नवीकरणीय ऊर्जा प्रविधि निकै उपयोगी हुने उहाँहरुको भनाइ छ । उत्पादनपछिका कृषिजन्य वस्तुको प्रशोधन, सुकाउन र भण्डार गर्न लघु जलविद्युत, सौर्य मिनिग्रिड, वायु ऊर्जा, सौर्य पिभी, सोलार थर्मलजस्ता नेपालका ग्रामीण वस्तीमा सहज उपलब्ध हुने प्रविधिलाई राज्यले प्राथमिकता दिनु पर्ने उहाँहरुको सुझाव छ ।

सो अवसरमा पूर्वमन्त्री गणेश शाहले कृषि र कृषकको विकासको लागि प्रविधि र सामग्री सहजरुपमा उपलब्ध गराउन, क्षमता अभिवृद्धि गर्न र लगानी सुलभ तुल्याउन आवश्यक रहेको बताउनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले नवीकरणीय ऊर्जा प्रविधिको अधिकतम् उपयोग गरी मुलुक र जनतालाई बढीभन्दा बढी फाइदा पु¥याउन उच्चस्तरमा संवाद र छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।  कार्यक्रममा युवा उद्यमी कुशल गुरुङले कृषिका लागि वायोग्यास प्लाण्टबाट उत्पादित जैविक मल र अभिषेक मल्लले सौर्य विद्युत्बाट सञ्चालन हुने सिँचाइ प्रणालीको उपयोग, विद्यमान अवस्था र सम्भावनाका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो । परिसङ्घका अध्यक्ष गुणराज ढकालको सभापतित्वमा भएको सो अन्तरक्रियामा कृषिविज्ञ डा सुधा सापकोटा, ऊर्जाविज्ञ डा इन्दिरा शाक्य, काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा सुनील लोहनी, केन्द्रका सहायक निर्देशक मुकेश घिमिरे, नेपाल वायोग्यास प्रवद्र्धन सङघका अध्यक्ष प्रकाशचन्द्र सुवेदी र नेपाल सौर्य विद्युत उत्पादक सङघका अध्यक्ष इन्द्र खनालले नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट कृषि क्षेत्रमा ल्याउन सकिने सुधारका बारेमा बोल्नु भएको थियो । रासस

यो पनि – ओखलढुङ्गामा एकीकृत बस्ती विकास गरिने – ओखलढुंगा, १६ असार । ओखलढुङ्गाका ११ स्थानमा नमूना एकीकृत बस्ती विकास कार्यक्रम शुरु हुने भएको छ । अव्यवस्थित तथा छरिएर रहेका बस्तीलाई एकीकृत बस्तीका रूपमा विकास गर्न प्रदेश सरकारले ‘एकीकृत बस्ती विकास कार्यक्रम’ ल्याएको हो। यसका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यविधि समेत पारित गरेको छ। प्रदेश सरकारले आगामी वर्षदेखि जिल्लाका ७ वटा गाउँपालिकाको एक–एक ठाउँ र सिद्धिचरण नगरपालिकाको ठाडे, टोड्के, निशंखे लगायत ४ स्थानमा नमूना एकीकृत बस्ती विकास कार्यक्रम शुरु गर्ने प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो । प्रदेश सरकारको पहलमा जिल्लाको पर्यटकीय गाउँ रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाउने काम थालिएको छ ।

भौगोलिक विकटताले सेवा प्रवाहमा कठिनाइ भएकाले एकीकृत बस्तीको कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “अव्यवस्थित र छरिएका बस्तीले नागरिकलाई सेवा प्रवाहमा कठिनाइ भएको छ । तीव्र विकासका लागि पनि एकीकृत बस्ती जरुरी छ ।” सिद्धिचरण नगरपालिकाको आठौं नगर सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले समानुपातिक हिसाबले जिल्लामा दिगो विकासका लागि नयाँ योजनाहरु ल्याएको बताउनुभयो । “ओखलढुङ्गाको विकास र समृद्धिका लागि रचनात्मक काम गरिन्छ । यो वर्ष जिल्लाका सबै स्थानीय तहमा नमूना एकीकृत बस्ती विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा गाउँपालिकामा एक–एक ठाउँबाट र नगरपालिकामा ४ ठाउँबाट काम शुरु हुन्छ । त्यो गाउँमा काम सकिएपछि अर्को नजिकैको बस्ती विकासमा योजना सारिन्छ ।”

प्रदेश सरकारले बस्ती विकासका लागि स्थानीय तहसँग समन्वय गर्नेछ । स्थानीय तह र सरोकारवालाबीच समन्वय तथा छलफलका आधारमै नक्सा तयार गर्ने, प्राविधिक सहयोग उपलब्ध गराउने, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने कार्यविधिमा उल्लेख छ । यसमा जग्गाको उपलब्धताका आधारमा बस्ती बसालिनेछ । आयोजना समन्वय समितिमार्फत लाभग्राहीको छनोट गरिनेछ । त्यस्तै, लाभग्राही छनोट गर्दा उनीहरूले बसोबास गरिरहेको स्थानको अध्ययन प्रतिवेदनलाई आधार बनाइने जनाइएको छ। रासस

यो पनि- पर्सामा ३० प्रतिशत धान रोपाइँ सम्पन्न

वर्षा ऋतुको आगमनसंगै मनसुनको झरीमा रमाउँदै हिलाम्य खेत, हाथभरी धानको बेर्ना लिएर एकहुल महिला असारे गीत गाउँदै धान रोप्नमा व्यस्त छिन् । अकाशभरी छिटपुट पानी परिरहेको छ । ती झरीमा महिलाहरु आफ्नो कोकिल कण्ठले सुरिलो गीत गाउँदै धान रोप्नमा व्यस्त देखिन्छ । यस्ता दृश्यले जो कोहीलाई पनि आफूतिर आकर्षित गरिरहेका छन् । मध्यतराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहटलगायत जिल्लामा यो वर्ष समयमै मनसुन प्रवेश गरेपछि किसान गण्डक नहरको पानीको भर नपरी अकाशे पानीले समयमै वेर्ना लगाएका छन् । जगरनाथपुरका किसान हरिदेवले गण्डक नहरमा समयमा पानी नआउँदा मनसुने पानीको भरमा समयमै बेर्ना लगाइएकाले यसपाली धानको उत्पादन राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।

केही दिन यता मनसुन सक्रिय भई पानी परेकाले समयमा धानको बेर्ना लगाएपछि यसपाली मानो रोपेर मुडी उव्जाउने किसानको सपना साकार हुने देखिन्छ । उत्पादन राम्रो हुने देखेपछि यहाँका किसान खुशी भएका छन् । किसान मनोज साहले भन्नुभयो, “मनसुनी वर्षाका कारण यो वर्ष सोचेभन्दा बढी उत्पादन हुने हुँदा किसान खुशी देखिएका छन् ।” पर्सामा हालसम्म ३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमै धान रोपाइँ सम्पन्न हुँदा यो वर्ष जिल्लामा २५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्साका अधिकृत सुरेश प्रसादले बताउनुभयो । पर्सामा कूल ४६ हजार ६ सय हेक्टर ,बारामा ६० हजार ४३० हेक्टर तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।