ओखलढुङ्गामा एकीकृत बस्ती विकास गरिने

ओखलढुङ्गामा एकीकृत बस्ती विकास गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, १६ असार । ओखलढुङ्गाका ११ स्थानमा नमूना एकीकृत बस्ती विकास कार्यक्रम शुरु हुने भएको छ । अव्यवस्थित तथा छरिएर रहेका बस्तीलाई एकीकृत बस्तीका रूपमा विकास गर्न प्रदेश सरकारले ‘एकीकृत बस्ती विकास कार्यक्रम’ ल्याएको हो। यसका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यविधि समेत पारित गरेको छ। प्रदेश सरकारले आगामी वर्षदेखि जिल्लाका ७ वटा गाउँपालिकाको एक–एक ठाउँ र सिद्धिचरण नगरपालिकाको ठाडे, टोड्के, निशंखे लगायत ४ स्थानमा नमूना एकीकृत बस्ती विकास कार्यक्रम शुरु गर्ने प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो । प्रदेश सरकारको पहलमा जिल्लाको पर्यटकीय गाउँ रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाउने काम थालिएको छ ।

भौगोलिक विकटताले सेवा प्रवाहमा कठिनाइ भएकाले एकीकृत बस्तीको कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “अव्यवस्थित र छरिएका बस्तीले नागरिकलाई सेवा प्रवाहमा कठिनाइ भएको छ । तीव्र विकासका लागि पनि एकीकृत बस्ती जरुरी छ ।” सिद्धिचरण नगरपालिकाको आठौं नगर सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले समानुपातिक हिसाबले जिल्लामा दिगो विकासका लागि नयाँ योजनाहरु ल्याएको बताउनुभयो । “ओखलढुङ्गाको विकास र समृद्धिका लागि रचनात्मक काम गरिन्छ । यो वर्ष जिल्लाका सबै स्थानीय तहमा नमूना एकीकृत बस्ती विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा गाउँपालिकामा एक–एक ठाउँबाट र नगरपालिकामा ४ ठाउँबाट काम शुरु हुन्छ । त्यो गाउँमा काम सकिएपछि अर्को नजिकैको बस्ती विकासमा योजना सारिन्छ ।”

प्रदेश सरकारले बस्ती विकासका लागि स्थानीय तहसँग समन्वय गर्नेछ । स्थानीय तह र सरोकारवालाबीच समन्वय तथा छलफलका आधारमै नक्सा तयार गर्ने, प्राविधिक सहयोग उपलब्ध गराउने, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने कार्यविधिमा उल्लेख छ । यसमा जग्गाको उपलब्धताका आधारमा बस्ती बसालिनेछ । आयोजना समन्वय समितिमार्फत लाभग्राहीको छनोट गरिनेछ । त्यस्तै, लाभग्राही छनोट गर्दा उनीहरूले बसोबास गरिरहेको स्थानको अध्ययन प्रतिवेदनलाई आधार बनाइने जनाइएको छ। रासस

यो पनि- पर्सामा ३० प्रतिशत धान रोपाइँ सम्पन्न

वर्षा ऋतुको आगमनसंगै मनसुनको झरीमा रमाउँदै हिलाम्य खेत, हाथभरी धानको बेर्ना लिएर एकहुल महिला असारे गीत गाउँदै धान रोप्नमा व्यस्त छिन् । अकाशभरी छिटपुट पानी परिरहेको छ । ती झरीमा महिलाहरु आफ्नो कोकिल कण्ठले सुरिलो गीत गाउँदै धान रोप्नमा व्यस्त देखिन्छ । यस्ता दृश्यले जो कोहीलाई पनि आफूतिर आकर्षित गरिरहेका छन् । मध्यतराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहटलगायत जिल्लामा यो वर्ष समयमै मनसुन प्रवेश गरेपछि किसान गण्डक नहरको पानीको भर नपरी अकाशे पानीले समयमै वेर्ना लगाएका छन् । जगरनाथपुरका किसान हरिदेवले गण्डक नहरमा समयमा पानी नआउँदा मनसुने पानीको भरमा समयमै बेर्ना लगाइएकाले यसपाली धानको उत्पादन राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।

केही दिन यता मनसुन सक्रिय भई पानी परेकाले समयमा धानको बेर्ना लगाएपछि यसपाली मानो रोपेर मुडी उव्जाउने किसानको सपना साकार हुने देखिन्छ । उत्पादन राम्रो हुने देखेपछि यहाँका किसान खुशी भएका छन् । किसान मनोज साहले भन्नुभयो, “मनसुनी वर्षाका कारण यो वर्ष सोचेभन्दा बढी उत्पादन हुने हुँदा किसान खुशी देखिएका छन् ।” पर्सामा हालसम्म ३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमै धान रोपाइँ सम्पन्न हुँदा यो वर्ष जिल्लामा २५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्साका अधिकृत सुरेश प्रसादले बताउनुभयो । पर्सामा कूल ४६ हजार ६ सय हेक्टर ,बारामा ६० हजार ४३० हेक्टर तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।