नेपाली राष्ट्रिय क्रिकेट कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार

नेपाली राष्ट्रिय क्रिकेट कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो बरियतामा भूर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहनुभएको छ । यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा हुनुहुन्थ्यो । आईसीसीले जारी गरेको बरियतामा नेपालबाट भूर्तेल र मल्लसहित चार खेलाडी समेटिनुभएको छ । बरियतामा पर्नुभएका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने रहनुभएको छ । पछिल्लो बरियतामा खड्का ८८औँ स्थानमा रहनुभएको छ । यस्तै लामिछाने ७६औँ स्थानमा रहनुभएको छ । नयाँ बरियता अनुसार टी २० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ । रासस

यो पनि – वर्ष खेलाडी पुरुष र महिलालाई जनही दुई लाख पुरस्कार – नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही असार १८ गते पोखरामा हुने ‘पाँचौ संस्करणको पोखरा स्पोर्टस् अवार्ड’को तयारी पूरा भएको छ । मञ्चले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर रङ्गशालाको ब्याण्डमिन्टन हलबाट ‘सेमिभर्चुअल’ रुपमा अवार्ड वितरण समारोह आयोजना गरिने जनाएको छ । अघिल्लो वर्ष समेत कोरोना कारण सञ्चालन हुन नसकेको सो अवार्ड यसवर्ष विसं २०७६÷७७ दुई वर्षलाई जोडेर संयुक्त रुपमा प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी अवार्ड प्रदान मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

खेल क्षेत्रमा लागेका खेलाडी तथा प्रशिक्षक र खेल संघहरुको हौसला अभिवृद्धि तथा खेलकूदको विकासमा योगदान गर्ने उद्धेश्यले मञ्चले अवार्ड वितरण गर्दै आएको छ । विभिन्न सात विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।
लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार छन् । लाइफटाइम अचिभमेन्ट अवार्डमा चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्ला छ भने वर्ष खेलाडी पुरुष र महिलालाई जनही रु दुई÷दुई लाख, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गरिने मञ्चका महासचिव विजय नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकार (दुई जना) लाई जनही रु ३५ हजार, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गरिने मञ्चले जनाएको छ । लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराको फुटबल खेल विकासमा योगदान पु¥याउनुभएका केशव रञ्जित (आनन्द) र वर्ष उत्कृष्ट खेल संघ पुरस्कार जिल्ला आर्चरी संघलाई दिइने मञ्चले जनाएको छ । यसैगरी वर्ष उत्कृष्ट पुरुष विधामा नवीन रसाइली (कराते), विनेश खनियाँ (टेबलटेनिस) र सुमन अर्याल (फुटबल) मनोनयनमा पर्नुभएको छ । वर्ष खेलाडी महिलामा जमुना थापा (साइक्लिङ), पार्वती गुरुङ (तेक्वान्दो) र प्रशंसा क्षेत्री (तेक्वान्दो) मनोनयनमा हुनुहुन्छ । उदीयमान तर्फ दुवाना लामा (पौडी), प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) तथा उत्कृष्ट प्रशिक्षकमा आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) र सुरेश मल्ल ठकुरी (बक्सिङ) मनोनयनमा हुनुहुन्छ । रासस

यो पनि – एकै परिवारका बुबा र तीनै छोरा पाइलट, एकै ककपिटमा – काठमाडौँ, १६ असार । “अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छाँै । काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन् । अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन । नेपालमा काम गर्नुपरेपछि यस्ता तर्क गर्नेहरु भने धेरै भेटिन्छन्’’ कुराकानीको शुरुआत नै यसरी भयो ।  पाइलटहरुको एउटा परिवार । शुरुमा पिता अनि तीनभाई छोरा पनि बुबालाई पछ्याउँदै पाइलट । संसारमा यस्तो संयोग पनि कमै जुर्छ होला । तेस्रो पुस्तालाई समेत सोही पेशामा लगाउने सोच छ त्यो परिवारको छ ।  यो पाइलट परिवारले झण्डै ६५ हजार घण्टा विमान उडाएको रेकर्ड समेत बनाएको छ । त्यही रेकर्ड बनाएको परिवारको दोस्रो पुस्ताको जेठो सदस्य हुनुहुन्छ सुवास रिजाल ।
नेपालको राष्ट्रिय झण्डा बोकेर उड्ने नेपाल वायु सेवा निगम आफैमा गर्विलो विरासत बोकेको संस्था हो । काठमाडौँको नयाँ सडकको ढोकैमा आकाश भैरवको प्रतिमा शिरमा राखेर ठडिएको यो संस्थाले राजनीतिक उतारचढाव धेरै भोग्यो । सोही संस्थाले दिएको नाम र कामसँग नङमासु जसरी जोडिएको छ रिजाल परिवार ।

धनकुटाबाट विराटनगर हुँदै काठमाडौँ आइपुगेको रिजाल परिवारले बनाएको प्रतिष्ठा धेरैका लागि लोभलाग्दो पनि छ । पिता गंगाप्रसाद रिजाल निगमका वरिष्ठ पाइलट हुनुहुन्थ्यो । उहाँ लामो समय सेवा गरेर हाल अवकाश जीवनमा रमाइरहनु भएको छ । उहाँका तीन भाई छोरा नै पाइलट हुनुहुन्छ । अहिले त उहाँहरु पनि वरिष्ठ भइसक्नुभयो ।  कुनै समय थाइ एयरलाइन्ससँग जोडिएर आउँथ्यो, निगमको नाम । शाही नेपाल वायु सेवा निगमबाट शुरु भएको यात्रा नेपाल वायु सेवासम्म आइपुग्दा झनै खस्किएको छ । झनै खुम्चिएको छ भन्दा अन्यथा हुदैन होला । विदेशी एयरलाइन्सको धमाधमको कमाइका अघिल्तिर निगमको गन्तव्य भने सीमित छ । सीमित मात्र होइन झन खुम्चिँदै गएको छ ।

देशभित्रै निजी वायुसेवा प्रदायकले दैनिक दर्जनौँ उडान भर्दा, निगमका जहाज घाम पानी थापेर विमानस्थलमा ग्राउण्डेड हुन बाध्य छन् । आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाज उड्न सक्छ, सम्भव छ भन्नेहरुका कुरा सायदै सुनिन्छ । पछिल्लो पटक त निगमले ती जहाज व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरिसकेको छ । अन्तर्राष्ट्रिय उडानमा रहेका दुई न्यारोबडी र दुई वाइडबडीका पनि आ–आफनै कहानी छन् । निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले आँट गरेर जहाज नल्याएको भए आज निगम विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्मा मात्रै सीमित हुन्थ्यो भनेर टिप्पणी गर्नेहरु पनि उत्तिकै छन् ।

निगमलाई धेरै अगाडि बढाउन सकिन्छ, यहाँ त हुँदैन, सकिदैन भन्ने मान्यताले काम गरेको छ । जसले हुँदैन र सकिदैन भन्छन् उनीहरुलाई नै निगमको खास जिम्मेवारी दिइएको आरोप पनि लाग्ने गरेको छ ।
नेपालको हवाई उड्डयन व्यवसाय रु ९५ अर्ब भन्दा माथिको छ जसमा नेपालमा स्थापित सबै वायुसेवाहरुको कूल हिस्सा रु २० देखि २५ अर्ब मात्र रहेको छ । हामी सबैले कसैको पनि कुभलो नचिताई स्वस्थ प्रतिस्पर्धा गरेरै अघि बढ्दा सम्वृद्धि हाँसिल गर्न सकिने सकारात्मक मत पनि छ ।

निगमका वरिष्ठ पाइलट समेत रहनु भएका सुवास भन्नुहुन्छ “उच्च व्यवस्थापनमा रहेकाहरुले जे कुरा सम्भव छैन भनिरहनु भएको छ, त्यो कुरा हामी सम्भव छ भनेर देखाउन सक्छौँ । हामीमा आँट छ, गर्ने ल्याकत पनि छ ।” सबैतिर बन्द भएको उडान तत्कालीन अवस्थामा सुगतरत्न कंसाकार महाप्रबन्धक भएको समयमा शुरु भएको थियो । सुवासको बुझाइमा सन् २०१६ देखि २०१८ को बीचमा झण्डै ४० गन्तव्यमा उडान शुरु भएको थियो । सो समयमा सुवास निगमको अपरेशन डाइरेक्टर हुनुहुन्थ्यो । त्यसपछि झनै गन्तव्य थपिनुपर्ने थियो । नयाँ नयाँ जहाज पनि थपिनुपर्ने थियो ।

अवस्था भने ठिक विपरित भएर गएको छ । आन्तरिक उडानका लागि भनेर ल्याइएका चिनियाँ जहाज घाम तापेर, बर्षा सहेर बसेको छ । भएका दुई वटा ट्वीनअटर जहाजले कुन कुन गन्तव्यमा उडान भरोस् । निजी विमान कम्पनीले धमाधम उडान भरीरहँदा निगमका जहाज भने पखेटा काटिएको चरा जस्तै रहन किन बाध्य भयो त ? सुवासको टिप्पणी छ “यो पनि सकिदैन, त्यो पनि सकिदैन, हुँदैन भन्ने मान्यताले निगममा घर गरेको छ । यो प्रवृत्तिलाई बदलेर, सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरिए सबै कुरा सम्भव छ । हामी सम्भव बनाउन सक्छौँ ।”

“जहाज उडाउने भनियो, पाइलट छैन भनिन्छ, इन्जिनियर छैन भनिन्छ, अर्कोलाई दोष लगाउन थालिन्छ तर म यो काम गर्छु, यसरी सम्भव छ भनेर कोही कसैले पनि तयारी गरेको देखिएन । बरु राम्रा काम गरेकालाई हिलो छ्याप्ने काम गरियो”, वरिष्ठ क्याप्टेन सुवास भन्नुहुन्छ “जसलाई संस्थाको भन्दा अन्यत्रैको माया छ भने कसरी निगम उभो लाग्छ ।” गुनासै गुनासाका पोका मात्रै होइन, हामीसँग निगमलाई अगाडि बढाउने मास्टर प्लान पनि छ । खुम्चिएर बसेको निगमलाई फुकाउने, व्यवसायिक कार्ययोजनाका साथ अगाडि बढ्ने सोच पनि छ । विगतमा अगाडि बढाइएका सकारात्मक कार्ययोजना पूरा गर्ने हो भने निगमले चोला फेर्न धैरै पर्खनुपर्ने छैन । सुवासको भनाइ छ “जे हुदैन, सम्भव छैन भनिन्छ त्यो काम सम्भव छ, गर्न सकिन्छ । निगम पनि अन्य व्यवसायिक निजी कम्पनीभन्दा अब्बल बनाउन सकिन्छ । प्रतिस्पर्धी बनाउन सकिन्छ ।” हुन पनि हो । काम गर्दा भन्दा नगर्दा नै फाइदा भएपछि किन मानिसले दुःख गरोस् ? अहिले निगममा भएको पनि त्यही हो । सायद यसैले हुनसक्छ उहाँको आक्रोशपूर्ण अभिव्यक्ति देखिन्छ बेलाबखतमा ।

कोरोनाको विपदमा उद्धार गर्नु पर्दा निगमको जहाज चाहिएको छ । स्वास्थ्य सामग्री ल्याउनु परेको छ, जहाज त फेरि पनि निगमको नै चाहिन्छ तर निगमलाई व्यवसायिक बनाआँै भन्ने सन्दर्भ कहीँ कतैबाट आयो भने, कोही जिम्मेवारी लिन तयार नभएको उहाँको गुनासो छ । किनकी त्यहाँ जवाफदेही हुनुपर्छ । निगम बनाउँछु भनेर आएका एकाध बाहेक अधिकांशसँग जवाफदेहिता छैन भन्ने आफूले देखेको सुवासको भनाइ छ । ‘आपत विपदको समयमा काम लाग्ने भनेकै आफ्नाहरु हुन्’ नेपाली समाजमा यो भनाई लोकप्रिय छ । कुनैपनि सार्वजनिक संस्था स्थापना गर्नुको पछाडि पनि यही सामाजिक चरित्रले काम गरेको छ तर निगमलाई आम जनताको संस्था बनाउनेतर्फ कोही कसैले सोचेका छैनन् जस्तो देखिनु आफैमा दुःखद छ ।

निगमका दुई वाइडबडी जहाजमध्ये एउटालाई जानी बुझीकनै बिरामी बनाइएको छ । बिरामी निगम सुधार्न ठूलै पापड पेल्नुपर्ने बताउने सुवासलाई शुरुमा आमाले छोरो डाक्टर बनोस् भन्ने चाहनु भएको थियो । बुबा पाइलट भइहाल्नुभयो अब छोरो डाक्टर बनोस् भन्ने भएपनि परिस्थितिले पाइलट नै बनाइदियो । पिता गंगाप्रसादका तीन भाई छोरा नै पाइलट बन्नुभयो । बनारसमा आइएस्सी सकेपछि सुवास पाइलट पढ्न अमेरिका जानुभयो । यो सन् १९८८ मा उहाँ त्यहाँ पुगेर करिब १० महिनामा १०–१२ हजार अमेरिकी डलर खर्च गरेर अध्ययन गर्नुभयो र व्यवसायिक पाइलट बनेर फर्किनुभयो । उहाँले नेपाल फर्केपछि जहाज उडाउने सपना बोकेर आउनुभएको थियो तर त्यति नै बेला भने निगमसँग पर्याप्त जहाज थिएनन् । त्यसमाथि सरकारी संस्थान भएकाले सजिलै जागिर पाउने कुरा पनि थिएन ।

जहाज उडाउन नपाएपछि केही समय शिक्षक भएको स्मरण गर्नुहुन्छ, सुवास । बेरोजगार पाइलट भनेर पहिलो अन्तरवार्ता दिने पनि मै थिएँ, शुरुआती दिनहरुको स्मरण उहाँ यसरी गर्नुहुन्छ ।संयोगले तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठसँग भेट्ने अवसर मिल्यो । मरिचमााले विस्तारमा सुवासहरुको कुरा सुन्नुभयो । उहाँलाई भेटेको कही समय लगत्तै सुवासलाई रोजगारीको खवर आयो । नेपाल एयरलाइन्सका पाइलट सुवासले ट्वीनअटर, बोइङ हुँदै अहिले एयरबस ३२० उडाइरहनुभएको छ । उहाँले आफनै पितासँग एउटै ककपिटमा बसेर पनि जहाज उडाउनुभएको छ । सन् १९६७ मा पाइलट बन्नुभएको गंगाप्रसाद, सन् २००३ मा अवकाश हुनुभएको हो । कुनै बेला बाबु छोराले जहाज हाँक्ने सुवासका दाजुभाई पनि बेला बेलामा त्यस्तै संयोग मिलेर आएको हुन्छ । भाइ श्रवणसँगै सुवासले एअरबस ३२० उडाउनुहुन्छ । अहिले भाई एअरबस ३३० मा हुनुहुन्छ भने सुवास ३२० मा प्रशिक्षक पाइलट हुनुहुन्छ । केही वर्ष पहिले तीनै जना दाजुभाई एअरबस ३२० उडाउनुहुन्थ्यो ।

क्याप्टेन गंगाप्रसादका तीन भाइ छोरा, तिनै जना पाइलट । बुबाले झण्डै १८ हजार घण्टाभन्दा भन्दा बढी उडाउनुभयो । सुवास भन्नुहुन्छ “मेरो नै २१ हजार घण्टा माथि पुग्यो । भाइहरुको १८– १८ हजार घण्टा माथि पुग्यो । यसबाट प्रष्ट हुन्छ हाम्रो परिवारको मात्रै ६५ हजार घण्टाभन्दा माथि जहाज उडाएको पुगेको छ ।”

विभिन्न क्षेत्रमा नयाँ रेकर्ड कायम भएका छन् । चारैजना एउटै एयरलाइन्स राष्ट्रिय ध्वजाबाहकमा काम गरेको पनि विरलै पाइन्छ । एउटै संस्थामा लामो समयसम्म आवद्ध भएर बसेको पनि लामो नै भएको छ ।
“पिताजी ८० पुग्नु भएको छैन । म ५३ वर्ष भएँ । भाइहरु मभन्दा चार वर्ष कान्छा छन् ।” सुवासले पारिवारिक पृष्ठभूमि बताउनुभयो । माइला सुदीप पनि केही पहिले निगमको पाइलट हुनुहुन्थ्यो । अहिले उहाँ संयुक्त राष्ट्रसङ्घमा कार्यरत हुनुहुन्छ ।

विराटनगर–४ बरगाछी स्थायी ठेगाना भएपनि रिजाल परिवार काठमाडौंँमा नै बस्यो । सुवासमात्रै विराटनगरमै जन्मनुभएको हो । सुदीप र श्रवण काठमाडौंमै जन्मनुभयो । सुवासले भानुभक्त र ल्याब्रेटरी स्कुल पढ्नु भएको हो ।
सुदीप र श्रवण सिद्धार्थ वनस्थलीमा पढ्नुभयो । खासमा सुदीप र श्रवण पाइलट बन्न खोज्नुभएको थिएन तर पछि उहाँहरु पनि अन्तिममा पाइलट बन्न पुग्नुभयो । सुदीप–श्रवणले इन्जिनियरिङ पढ्नु भएको हो । त्यसमा पनि सुदीपको सफ्टवेयरमा इन्जिनियरिङ हो । श्रवणको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विषय थियो । इन्जिनियरिङ सकेर दुबै जना नेपाल फर्केर जागिरको खोजी शुरु भयो । तर केही गर्दा पनि पाउन सकिएन । काम गर्ने ठाँउ नै पाउन सकिएन । के गर्ने त भन्ने जिज्ञासाका बीचमा दुबै जनाले पाइलट पढ्ने निधो भयो । पाइलट कोर्सका लागि अमेरिका जानुभयो ।

बाबु र जेठा छोरा जतिबेला सँगै जहाज उडाउनुहुन्थ्यो भने माइला र कान्छा भने पाइलट कोर्स पढ्दै हुनुहुन्थ्यो । सन् १९९७ मा पाइलट कोर्स सकेर आउँदा निगममा नै जागिर खुलेको थियो । बाबु र तीन भाइ छोरा सबै निगमको नै जगिरे पाइलट हुनुभयो ।  सुवास र श्रवण अनुभवी पाइलटका रुपमा स्थापित हुनुहुन्छ । दाजुभाई नै एकै पटक ककपिटमा रहँदा कस्तो अनुभव हुँदो रहेछ त ? “अरुजस्तै सामान्य” सुवासको छोटो उत्तर थियो । झण्डै अढाई सय हाराहारी उडानमा दाजुभाइ सँगै हुनुहुन्छ । प्रायः एकैसाथ उडेका छौँ । दाजुसँगै एउटै ककपिटमा धेरै उडान भरेका सुदीपले भने बुबासँग जहाज उडाउन पाएको अनुभव छैन ।

उहाँलाई बेला बेलामा मलाई त्यो सौभाग्य भने मिलेन भन्ने लाग्दछ । एउटै ककपिटमा रहँदा दाजुभाइको नाता कि एउटा व्यवसायिक पाइलटको सम्बन्ध ? कुन बढी देखिन्छ ? हाम्रो अर्को जिज्ञासा थियो सुवाससँग । उहाँले भन्नुभयो “दाजुभाई भन्दा पनि साथी जस्तो लाग्छ मलाई । उडेपछि हामी साथीभाइ ।” श्रवणको पनि उस्तै भनाइ छ “ककपिटमा बस्दा दाजुभाइ भन्ने जस्तो नै हुदैन ।” नेपालका अधिकांश विमानस्थलमा उडान भरेको अनुभव छ, सुवाससँग । यस्तै अनुभवको खानी नै छ श्रवणसँग पनि । रुम्जाटारबाट काठमाडौँका लागि उडेको ट्वीनअटर जहाजको एकापट्टिको इन्जिन उड्नेवित्तिकै बन्द भयो । जहाजलाई नियन्त्रण गर्नुको विकल्प थिएन उहाँसँग । रुम्जाटारै फर्किन पनि सकिएन । काठमाडौँ सजिलै अवतरण गराउनु ठूलो चुनौती थियो तर बन्द भएको इन्जिन दस मिनेट पछाडि स्टार्ट भयो र सङ्कट टर्यो ।

उहाँहरुसँगको कुराकानी सुन्दा लाग्छ कि हवाई उडान आफैमा जोखिमपूर्ण हो । त्यो नेपालमा मात्रै नभई संसारभर नै उस्तै हो । मात्रै जोखिम नियन्त्रण गर्ने उपाय खोज्नुपर्छ ।  “उडान मार्ग परिवर्तन गर्दै खराब मौसमलाई चिर्ने हो । आकाशमा समस्या हुन्छ नै अमेरिकाको आलास्कामा यहाँको भन्दा बढी जोखिम छ तर पनि उडान त भइरहन्छ” सुवासको भनाइ छ ।  एयरबस उडाउने १२ जना पाइलटमा वरिष्ठमध्ये एक हुनुहुन्छ सुवास । अफगानिस्तानबाट नेपालीको उद्धारका लागि भएको उडानमा सुवास र श्रवण नै जानु भएको थियो । त्यहाँ अवतरण गरेको केही समयमै मिानस्थलको एक भागमा बम विष्फोट भएको थियो । यस्ता दर्जनौँ उदाहरण छन् उहाँहरुसँग ।

सन् १९९९ डिसेम्बर २४ मा इन्डियन एयरलाइन्सको एयरबस ए–३०० अपरहणमा परेको थियो । त्यसपछि नेपाल वायु सेवा निगमको जहाज नै काबुलका लागि सोझो उडान भरेको थियो । रिजाल दाजुभाइले पटक पटक आफनो ऐतिहासिक दायित्व पूरा गर्नुभएको छ । विगतमा अपरशेन डाइरेक्टर भएर ४० गन्तव्यमा नेपाली ध्वजाबाहक जहाज पु¥याउने श्रेय समेत सुवासको नाममा छ । व्यवसायिक हितका लागि काम गर्दा निगमको हित नचिताउनेहरुले दुःख दिएपनि त्यसको परवाह नगर्ने स्वभाव छ मेरो, सुवास स्पष्ट भन्नुहुन्छ । निगममा पटक पटक प्रमुख व्यवस्थापक परिवर्तन भए । पूर्व सचिव सुशिल घिमिरे दोहो¥याएर अध्यक्ष बन्नुभयो । मदन खरेल पनि दोहो¥यार कमान सम्हाल्न पुग्नुभयो तर अवस्था जहाँको त्यहीँ रहेको छ । उहाँहरु दुवै जना कार्यकाल नै पूरा नगरी राजीनामा दिएर हिड्नुभयो । निगमलाई बचाउन सफलता प्राप्त होस् भनी धेरैले दिएको आशिर्वाद, बधाई र सफलताका शुभकामनाहरु फेरि अधुरै रहेको गुनासो उत्तिकै छ । यो नियति दोहोरिरहँदा नेपालको राष्ट्रिय ध्वजावाहकलाई माया गर्नेहरु पटक पटक मर्माहत हुनु परेको बताउनुहुन्छ वरिष्ठ क्याप्टेन सुवास ।

आँट गरेर ल्याएको अन्तर्राष्ट्रिय उडान गर्ने चारवटा जहाजको भरमा निगमको साख कति दिन जोगिएला ? धेरैको जिज्ञासा छ । वरिष्ठ क्याप्टेन सुवासको भनाइ छ– मौजुदा अवस्थालाई परिवर्तन गर्न आँट चाहिन्छ । त्यस्तो आँटका लागि प्लान चाहिन्छ । टिम पनि चाहिन्छ । विद्यमान व्यवस्थापनले त्यो काम गर्न सक्दैन ।  नयाँ सोचका साथ काम गर्नैपर्छ । निजी सेवा प्रदायकले गर्न सक्छ भने निगमले किन गर्न सक्दैन ?  तपाईले जिम्मेवारी पाए निगमलाई सुधार गर्न सक्नुहुन्छ ? हाम्रो यो प्रश्नको उत्तरमा सुवास धेरै आशावादी देखिनुभयो । भन्नुभयो “निगमलाई धेरै सुधार गर्न सकिन्छ । छ महिनामा परिणाम दिन सकिन्छ । निगम भित्रका तमाम विकृति पनि हटाउन सकिन्छ । दर्जन बढी जहाज पनि किन्न सकिन्छ । गन्तव्य पनि विस्तार गर्न सकिन्छ । नसकिने भन्ने केही पनि छैन । सबै सम्भव छ । गर्न सकिन्छ ।”

त्यो काम हामी गर्न सक्छौँ । कुराकानीको विट मार्दै वरिष्ठ क्याप्टेन सुवासले भन्नुभयो “एउटा इतिहास बनेको परिवारको एउटा सदस्य भएकाले पनि मेरो रगतमा नै निगम छ । निगम डुबेको होइन, निगम फैलिएको हेर्ने धोको छ । किनकी मेरो परिवारको रगत पसिना नै यसका लागि बगेको छ । मेरा लागि यसको विकास र विस्तारभन्दा अरु कुनै स्वार्थ छैन ।” रासस