निरन्तरको वर्षाले मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

निरन्तरको वर्षाले मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १७ असार । निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ । बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ । यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची–११ का दशरथ दनुवारले जानकारी दिनुभयो । “खोलाको बहाव बढिरहेको छ । अस्तिको बाढीले बचेको घर पनि लैजाने भो, ज्यान जोगाउन मुस्किल छ”, दनुवारले भन्नुभयो । रासस

यो पनि – पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध

तनहुँ, १७ असार । मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

पहिरो गएर राजमार्ग अवरुद्ध भएपछि बिहान ३ बजेदेखि प्रहरी राजमार्ग खुलाउन व्यस्त रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार बन्दिपुर गाउँपालिकामा पहिरो गएर राजमार्ग अवरुद्ध भएको छ । बन्दिपुर–१ गुरदुम र बन्दिपुर–४ डुम्रेमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

बन्दिपुर–४ तामुङमा पहिरोले दुई घर बगाउँदा एक जना बेपत्ता भएको र पाँचको उद्धार भएको जानकारी पाएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले बन्दिपुर–३ मा दुई वडा नं ५ मा तीन घर बगाएको खबर आएको छ । मानवीय क्षति नभएको र अन्य क्षेत्रमा भएका घटनाको जानकारी लिने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । रासस