यात्रुसँग बढी भाडा लिने चालक पक्राउ

यात्रुसँग बढी भाडा लिने चालक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानको अनुगमन गरी यात्रुसँग बढी भाडा लिएर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । । पक्राउ पर्नेमा टिकट काउण्टरका कर्मचारी र निजी सवारी साधनका चालकहरु रहेका छन् ।  निषेधाज्ञा खुकुलो भएपछि शुरु भएको अनुगमनका क्रममा ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि प्रहरीको सम्बन्धित प्रभागमा पठाइएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र १–०१–००१ज३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ वर्षीय पुण्यप्रसाद गिरी, बा२०च२४२ नम्बरको निजी स्कर्पियो चालक गोर्खा च्याङ्लीका ३८ वर्षीय सन्तबहादुर कुमाल र मे१ज२९९३ नम्बरको बोलेरो जीप चालक इलाम घर भएका २६ वर्षीय खेमबहादुर पाँचकोटीलाई यात्रुसँग बढी भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरी कारबाहीका लागि प्रहरी प्रभाग, कोटेश्वरमा बुझाएको छ ।

त्यसैगरी बालकुमारी, ललितपुरबाट भक्तपुर बस्ने ४६ वर्षीय राजीव हिङ्गजुलाई बा१७च ५००१ नम्बरको स्कर्पियोसहित प्रयोजनविपरीत भाडामा यात्रु बोकेको अवस्थामा नियन्त्रणामा लिइएको छ भने सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ वर्षीय संजय खड्कालाई बढी भाडा लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइ प्रहरी वृत्त सातदोबाटोमा बुझाएको छ ।

अन्य पक्राउ पर्नेमा कलंकीबाट बा१४च ४२८६ नम्बरको गाडी चालक कन्चनपुरका अम्मर ऐर, बा६च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ वर्षीय श्याम मछ्या र मित्रपार्कबाट को२च २५८२ नं को मारुती भ्यान चालक धनकुटाका ३९ वर्षीय हरेन्द्र बुढाथोकी रहेका छन् । पक्राउ परेका सबै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्तमा बुझाएको महाशाखाले जनाएको छ । यात्रुसँग बढी भाडा लिई ठगी गरेको कसुरमा हालसम्म ६९ जनालाई पक्राउ गरिएको छ ।  रासस

यो पनि – सञ्चालनमा आयो सञ्चालनमा आयो पृथ्वीराजमार्ग –

धादिङ , १७ असार । पहिरोले अबरुद्ध पृथ्वीराज मार्गको धादिङ् खण्ड सञ्चालनमा आएको छ । बेनीघाट रोराङ गाउँपालिका –१० तिकराङ र मौवाखोला क्षेत्र लगायतका स्थानमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अबरुद्ध भएको थियो ।सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकमा थुप्रिएका पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारीदिनु भयो । निरन्तर वर्षा भइरहेकोले राजमार्गका ठाउँ ठाउँमा पहिरो झर्न क्रम रोकिएको छैन ।

पृथ्वीराजमार्गको तनहुँ खण्ड पनि एकतर्फी सञ्चालन

पहिरोले अबरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अबरुद्ध भएको थियो । निरन्तरको प्रयासपछि पहिरो हटाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “साना सवारी सञ्चालन भएका छन्, ठूला सवारी सञ्चालनका लागि केही समय लाग्ने देखिएको छ,” उहाँले भन्नुभयो । मङ्गलबारदेखिको अबिरल वर्षात्का कारण बन्दीपुरस्थित डुम्रेमा पनि आज बिहान पहिरो खसेको थियो । यसैबीच सोही राजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक आधा भाग सडक भासिएको छ । सडक भासिएपनि सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । खैरेनीटारतर्फबाट नालामा बगेको पानी सडकबाटै बगिरहेको बताइएको छ । रासस