पहिरोले घर भत्किँदा सात घाइते

पहिरोले घर भत्किँदा सात घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अविरल वर्षासँगै आएको पहिराले घर पुरिँदा तनहुँका बन्दीपुर, शुक्लागण्डकी, म्याग्दे र भिमादमा घर भत्किँदा सात जना घाइते भएका छन् । बन्दीपुरमा तीन, शुक्लागण्डकीमा दुई र भिमादमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पहिरामा परी बन्दीपुर–३ तामुङमा सुभाष थापा, लीलबहादुर थापा र दाउरीमाया थापा घाइते भएका छन् । सोही ठाउँका ७० वर्षीया हरिमाया नेपाली र ३० वर्षीया सरस्वती थापाको मृत्यु भएको छ ।

भिमाद नगरपालिका –५ मा पहिराले घर भत्किँदा ४५ वर्षीय बुद्धिबहादुर परियार र उनका २५ वर्षीय छोरा रोजन घाइते भएका छन् । उनीहरुको भिमाद पोलिक्लिनिकमा उपचार भइरहेको छ । घर भत्किँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।

शुक्लागण्डकी नगरपालिका –९ सिम्लेमा पहिराले घर पुरिँदा ५५ वर्षीया खगीमाया भुजेल र १४ वर्षीय विज्ञान घाइते भएका छन् । उनीहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।

यसैगरी भिमाद –७ पट्नेरीमा माटाको ढिस्को खसेर पहिरो जाँदा मनिषा परियारका घरमा क्षति पुगेको छ । पहिराबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिराका कारण रु दश लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बन्दीपुर गाउँपालिका–१ चिसापानीमा पहिरोले राजु खड्गीको एक तल्लो गारो लगाएको घर भत्किदा रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै शुक्लागण्डकी–९ सिम्लेमा टेकबहादुर महतको गोठ भत्किँदा गोठमा रहेका दश बाख्रा र एक भैसी मरेका छन् । प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले पहिराबाट थप क्षतिको विवरण नआइसकेको जानकारी दिनुभयो । रासस

यो पनि – सञ्चालनमा आयो सञ्चालनमा आयो पृथ्वीराजमार्ग –

धादिङ , १७ असार । पहिरोले अबरुद्ध पृथ्वीराज मार्गको धादिङ् खण्ड सञ्चालनमा आएको छ । बेनीघाट रोराङ गाउँपालिका –१० तिकराङ र मौवाखोला क्षेत्र लगायतका स्थानमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अबरुद्ध भएको थियो ।सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकमा थुप्रिएका पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारीदिनु भयो । निरन्तर वर्षा भइरहेकोले राजमार्गका ठाउँ ठाउँमा पहिरो झर्न क्रम रोकिएको छैन ।

पृथ्वीराजमार्गको तनहुँ खण्ड पनि एकतर्फी सञ्चालन

पहिरोले अबरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अबरुद्ध भएको थियो । निरन्तरको प्रयासपछि पहिरो हटाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “साना सवारी सञ्चालन भएका छन्, ठूला सवारी सञ्चालनका लागि केही समय लाग्ने देखिएको छ,” उहाँले भन्नुभयो । मङ्गलबारदेखिको अबिरल वर्षात्का कारण बन्दीपुरस्थित डुम्रेमा पनि आज बिहान पहिरो खसेको थियो । यसैबीच सोही राजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक आधा भाग सडक भासिएको छ । सडक भासिएपनि सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । खैरेनीटारतर्फबाट नालामा बगेको पानी सडकबाटै बगिरहेको बताइएको छ । रासस