नियमित वर्षाका कारण दुई दिनमा २३ सडक अवरुद्ध

नियमित वर्षाका कारण दुई दिनमा २३ सडक अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नियमित वर्षाका कारण पछिल्लो दुई दिनमा देशका २३ सडक अवरुद्ध बनेका छन् । नियमित वर्षाका कारण आएको बाढी र पहिरोले अहिले १४ सडक ठप्प छन् भने ४९ सडक एकातर्फबाट मात्रै सञ्चालनमा छन् ।  पूर्व–पश्चिम राजमार्गको नवलपूरको थुम्सी, पितौजीमा अवरुद्ध छ । दुई साता पहिलेदेखि नै अवरुद्ध भएकाले सडक विभागले खुलाइरहेको डुम्रे–बेशीशहर–चामे सडक पहिरोका कारण थप क्षतिग्रस्त बनेको छ । यो सडक भन्सार र तुरतुरेमा अवरुद्ध भएकामा तुरतुरेमा एकातर्फबाट सडक खुलाइएको छ । बँेशीसहर–चामे सडक ठप्प भएकामा पैदलयात्रु समेत झुण्डिएर यात्रा गर्नुपरेको सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिनुभयो ।

बुधबार नै हुलाकी राजमार्गअन्तर्गत बर्दियाको सत्तीघाट कर्णाली पुलमा सडक अवरुद्ध भएको छ । चितवन जिल्लाको ठोरी–भरतपुर–मुग्लिन, आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल सडक र आरुघाट–सिर्दिवास–रोइला सडक पनि अवरुद्ध छ ।  राष्ट्रिय राजमार्गमा नै बाढी र पहिरोले अवरोध पु¥याएकामा विभिन्न सडकमा एकातर्फको पहिरो हटाएर सवारीसाधन चल्न थालेको छ । अरनिको राजमार्गको सखुवा, बिपी राजमार्गको माम्ति र कमेरे फाँटमा सडक एकातर्फी रुपमा चालु छ । पृथ्वी राजमार्गका धेरै ठाउँमा बुधबार पहिरो गएकामा आजसम्म एकातर्फको सडक खुलाएर सडक सुचारु गरिएको छ । यो राजमार्गको जोगीमारा–जवांग खोला खण्ड, एनापहरा, याम्पा, डुम्रे, देउराली, घाँसीकुवा, कुम्लेखोलालगायतका स्थानमा सडक आसिंक सुचारु अवस्थामा छन् ।

त्रिभुवन राजपथको टिस्टुङ–देउराली कालापानी सडक, सिद्धार्थ राजमार्गको सिद्धबाबा, र पूर्व–पश्चिम राजमार्गको खरङ्गामा पनि एकातर्फबाट मात्रै सडक सुचारु छ । अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोक जिल्लाको कोदारीमा अवरुद्ध सडक अझै खुल्न सकेको छैन । रसुवाको त्रिशुली खोला, सानो भार्खु खोला, गाँजाबारीमा असार १ मा पहिरोले अवरुद्ध सडक पनि अझै अवरुद्ध छ ।  गत जेठ ३१ गतेदेखि अहिलेसम्म गरी ८५ सडक पूर्ण रुपमा अवरुद्ध रहेकामा अहिलेसम्म २४ सडक दुवैतर्फबाट सुचारु भइसकेको छ । ४८ सडक आशिंक र १३ पूर्णरुपमा ठप्प छन् । रासस

यो पनि – बढी, पहिरो र डुबान : मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित –

नारायण ढुङ्गाना, भारी वर्षासँगै गएको बाढी, पहिरो र डुबानका कारण आज मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । रातिदेखि नै परेको वर्षाले यसपाली तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य जिल्लामा जनधनको क्षति पु¥याएको छ । केही ठाउँमा पहिराले सडक अवरुद्ध पारेको छ । कतिपय ठाउँमा डुबान भएको र कतिपय स्थानका नदीमा पानीको बहाव उच्च हुन पुगेको छ । केही मानिसको मनसुनयन्य विपद्मा परेर मृत्यु भएको र केहीको उद्धार गरिएको छ । केही हराइरहेका गृह मन्त्रालयले जनाएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ३ मा माथिबाट खसेको पहिरोले घर पुर्दा वर्ष ३७ की हरिमाया नेपाली र सोही ठाउँ बस्ने सरस्वती थापाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । अन्य तीन जना घाइते भएका छन् । सोही जिल्लाको शुक्लागण्डकी नगरपालिकामा खसेको पहिरोमा परेका दुई जनाको सकुसल उद्धार गरिएको छ । यसपाली बाढी र डुबानले तराइका जिल्ला नराम्ररी प्रभावित भएका छन् । चितवनको रत्ननगर नगरपालिका–८ रमाइलो डाँडा क्षेत्रमा बुढी राप्ती बस्तीमा पस्दा २० घरका १०० जना विस्थापित भएका छन् । यस्तै सौराहाका केही क्षेत्र डुबानमा परेको छ ।

गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण बन्दिपुर गाउँपालिकाअन्तर्गत रूख ढलेर अवरुद्ध भएको पृथ्वी राजमार्ग । तस्वीर ः सानेबहादुर नेपाली÷रासस

 

जिल्लाको राप्ती, कालिका ररत्ननगर नगरपालिका विभन्नि क्षेत्रसमेत प्रभावित भएको छ । राप्तीस्थित पम्फा खोला पसेर केही बस्ती नै डुबानमा पारेकाले १५० घर धुरीका ४०० जनालाई सुरक्षित क्षेत्रमा सारिएको छ । उक्त नगरपालिकामा पहिरोमा परेर दुईको मृत्यु भएको छ भने तीन बेपत्ता छन् ।

पहिरो खसेर नारायणगढ–मुग्लिन सडकसमेत दिनभर जसो नै अबरुद्ध हुन पुगेको छ । यस्तै पृथ्वी राजमार्गअन्तर्गत धादिङ र तनहुँखण्डका विभिन्न क्षेत्रमा पहिरो खसेर क्षति भएको छ । ठाउँठाउँमा सडकअवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित गैंडाकोटमा आएको बाढीले थुम्सीमा रहेको डाइभर्सनसमेत बगाएर सडक आवागमन प्रभावित भएको जनाइएको छ ।

यस्तै पर्साका केही बस्तीसमेत डुबानमा परेको छ । प्र्राप्त विवरणअनुसार आज हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । मनाङमा समेत वर्षाले असर गरेको छ । महोत्तरी, लहानसहित तराइका जिल्ला तथा डोटीलगायत धेरै जिल्ला आजको वर्षाका कारण प्रभावित भएको छ ।

मौसम विज्ञान विभागका अनुसार आज प्रदेश नं १, २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशकाका केही स्थानमा भारी वर्षा र सिमित ठाउँमा अति भारी वर्षा भएको छ । राति र शुक्रबार पनि मौसम बदली रहने छ ।

राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार पछिल्लो १८ दिनमा विपद्सम्बन्धी १५८ वटा घटना भएका छन् । उक्त घटनामा परी ३३ जनाको मृत्यु भएको र ३० जना बेपत्ता भएको केन्द्रका प्रमुख दीलकुमार तामाङले जानकारी दिनुभयो ।

विपद्जन्य घटनामा परेर ३० जना घाइते भएका छन् । अहिलेसम्म ४७४ घरमा पूर्ण क्षति भएको छ भने ११२ घरमा आंशिक क्षति पुगेको छ । हालसम्म ३६ सरकारी कार्यालय, ६ सामुदायिक भवन र विद्यालय, २२ झोलुङ्गे पुल, १३ वटा पक्की पुल, १३ हाइड्रो पावर, पाँच साना पुल र २ वित्तीय संस्थामा क्षति पुगेको छ ।

यसअघि मनसुन प्रवेश गरेलगतै गएको बाढी पहिरोमा सिन्धुपाल्चोकका मेलम्ची क्षेत्र र मनाङ जिल्ला प्रभावित भएको थियो । उक्त समयमा ठूलो जनधनको क्षति भएको थियो । नेपालमा गत जेठ २८ गते मनसुन भित्रिएको थियो । जेठ ३० गते मुलुकभर नै मनसुनी वायुको प्रभाव पुगेको थियो ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भारी वर्षा भइरहेकाले बाढी पहिरो र डुबान हुन सक्ने जनाउँदै जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गर्नु भएको छ । सरकारले जोखिम न्यूनीकरणसहित खोज, उद्धार, पुनःस्थापन तथा राहतका कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएको छ । रासस